काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आज शनिबार र आइतबार पुरानो मातातीर्थ १३२/३३/११ केभी सबस्टेसनभित्रका ११ केभी इन्कमर र लाइन फिडर सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरुद्ध हुने जनाएको छ।
प्राधिकरणबाट आज प्रकाशित सूचनाअनुसार मर्स्याङ्दी काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा जडित सबस्टेसन अटोमेसन सिस्टमको अपग्रेड गरिन लागेकाले काठमाडौंका विभिन्न स्थानमा बिजुली जाने बताएको हो।
प्राधिकरणले शनिबार ११ केभी इन्कमरअन्तर्गत मातातीर्थ, सतुंगल, मच्छेगाउँ र फर्पिङ फिडरअन्तर्गतका स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ।
त्यस्तै, ११ केभी मातातीर्थ फिडर अन्तर्गतका स्थानमा आइतबार बिहान १० देखि १२ बजेसम्म, सतुंगल फिडरमा आइतबार बिहान १२ देखि २ बजेसम्म, मच्छेगाउँ फिडरमा दिउँसो २ देखि ४ बजेसम्म र फर्पिङ फिडरअन्तर्गतका स्थानमा दिउँसो अपराह्न ४ देखि ६ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणको सूचनामा उल्लेख छ।
यस्तै, जोरपाटी वितरण केन्द्रको साँखु फिडरअन्तर्गतका स्थानमा आज बिजुली अवरुद्ध भइरहेको छ। नयाँ फिडर चार्ज गर्न साँखु फिडर सटडाउनमा राख्नुपर्ने भएकाले उक्त फिडरअन्तर्गतका माया पाटी, इन्द्रायनी, साँखु, जरसिंह पौवा, नांगलेभरेलगायतका स्थानमा आज बिहान १० देखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।
ती स्थानमा निर्धारित अवधिअगावै काम सकिए तोकिएको समयभन्दा पहिले नै विद्युत् आपूर्ति सुरु हुने प्राधिकरणले बताएको छ।