काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दशरथ रङ्गशालाबाट भ्रमण वर्ष २०२० को शुभारम्भ गर्दै विश्वभरका नागरिकलाई नेपाल घुम्ने निम्तो दिइन् । सरकारले बीस लाख पर्यटक ल्याउने उद्देश्यका साथ भ्रमण वर्ष मनाइरहेको छ ।
पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण नभएको आरोप लागिरहेको बेला सरकारले भ्रमण वर्षको उद्घाटन गर्दै २०३० सम्मलाई पर्यटक दशकको रुपमा मनाउने घोषणा समेत गरेको छ । देशमा भ्रमण वर्ष मनाइरहेका बेला युवा व्यवसायीहरुले भने सरकारलाई सङ्ख्यामा हैन, गुणस्तरीय पर्यटकमा ध्यान दिन सुझाव दिएका छन् ।
पर्यटकीय गन्तव्यको मार्केटिङ गरौं
सौरभ ज्योति
निर्देशक, ज्योति ग्रुप
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वुटिक एयरपोर्टमा परितर्वतन भइरहेको छ । त्यो एकदमै राम्रो काम हो । पर्यटकहरुको पहिलो पाइला पर्ने ठाउँ नै विमानस्थल भएकोले त्यसको सुधार आवश्यक थियो । जुन अहिले भइरहेको छ । अव पर्यटकलाई लगेज लिन र अध्यागमनमा दिने सेवा सुविधालाई पनि राम्रो बनाउन आवश्यक देखिन्छ । एयरपोर्टमा दिने सेवा सुविधाका कारण पर्यटकको ‘इम्प्रेसन’ खराब हुने गरेको छ । त्यसलाई सधार्न आवश्यक छ ।
सरकार अहिले २० लाख पर्यटकको पछि लागेको छ ।
तर, एउटा अन्तर्राष्ट्रिय विमानस्थलले ती पर्यटकलाई धान्न सक्छ वा सक्दैन भन्ने विषयमा पनि ध्यान दिन आवश्यक छ । त्यसैले सङ्ख्या भन्दा पनि खर्चालु र नेपाली धेरै बनाउनेतर्फ हामीले सोच्नुपर्छ । उदाहरणका लागि १ हजार जना पर्यटक आएर दैनिक १ सय डलर खर्च गर्नु भन्दा १ सय जना पर्यटकले १ हजार डलर खर्च गर्ने वातवरण बनाउनु आजको आवश्यकता हो । त्यसैले सरकारले त्यतातिर ध्यान दिन आवश्यक छ । गुणस्तरीय पर्यटक बढाउन खर्च गर्न ठाउँको व्यवस्था गर्नुपर्छ ।
नेपाल पर्यटन बोर्डमा पर्यटकीय क्षेत्रको प्रचार तथा प्रसारका लागि ठूलै रकम छुट्टयाइएको हुन्छ । त्यो बजेटले युरोप, अमेरिका र चीनका ठूला ठूला मिडियामार्फत नेपालको मार्कटिङ गर्नुपर्छ । जसका कारण लाखौंले नेपालको बारेमा जानकारी लिन पाउँछन् र उनीहरु यहाँ आउने वातावरण बन्छ । सरकारले चीनमा मात्रै राम्रो प्रचार गर्न सक्यो भने पनि २० लाख पर्यटक ल्याउन कुनै समस्या छैन् ।
यसले नेपालको मार्केटिङ हुन्छ
प्रविन पाण्डे
प्रमुख कार्यकारी अधिकृत, साङ्ग्रिला होटल
भ्रमण वर्ष एउटा चेतनामुलक कार्यक्रम हो । त्यसबाट तत्कालै प्रतिफलको आशा गर्नु हुदैन् । तर अहिले नै हाम्रो देश २० लाख पर्यटकलाई स्वागत गर्न सक्ने तयारीमा पनि छैन् । हाम्रा पूर्वाधारहरु निर्माणका चरणमा छन् । नेपालमा विदेशीले प्रतिदिन ४४ डलर खर्च गर्दै आएका छन् । त्यसलाई २० गुणा गर्दा पनि करिब ८ सय डलर हुन आउँछ ।
अहिले सानो देश भएर पनि भुटानमा स्तरीय होटलहरु सञ्चालनमा आइरहेका छन् । त्यहाँ नेपालमा भन्दा बढी खर्च गरिरहेका छन् । राज्यलाई सबैभन्दा बढि राजस्व तिर्ने होटल क्षेत्र हो । अहिले नेपाललाई सबैभन्दा बढि डलरको आवश्यकता छ । पर्यटनमा संख्याले मात्र पुग्दैन, अब गुणस्तरीय चाहिन्छ ।
धेरै पर्यटक आउँदा झन समस्या पो उत्पन्न हुने होकी भन्ने डर पनि छ ।
नयाँ आउने होटलको नेतृत्व अहिले युवाहरुले लिइरहेका छन् । उहाँहरुले सकेसम्म कम खर्चमा मार्केटिङ गरेर बढिभन्दा बढि विदेशी मुद्रा आर्जन गर्नेतर्फ ध्यान दिइरहेका छन् । त्यसका लागि आवश्यक पूर्वाधारहरु निर्माणमा जोड दिनुपर्छ ।
पर्यटक क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो
रुपेश पाण्डे
प्रवन्ध निर्देशक, आरपी ग्रुप
सरकारले २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । यो एकदमै स्वागतयोग्य कुरा हो । अहिले नेपालमा १२ लाख पर्यटक आइरहेका छन् । यो वर्ष एकैचोटि ८ लाख पर्यटक बढाउने महत्वाकाक्षी लक्ष्य सरकारले लिएको छ ।
तर, पर्यटकीय पूर्वाधारको विकासमा ध्यान दिएको देख्दिैन । सरकारले गौतमवुद्ध विमानस्थल, पोखरा विमानस्थल सञ्चालनमा ल्याइसकको छैन । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि स्तरोन्नती चलिरहेको छ । यस्तो पूर्वाधारका कारण सोचेजति पर्यटक ल्याउन कठिन हुन्छ की ।
पर्यटन क्षेत्र देशको मेरुदण्ड हो ।
पर्यटक आउँदा पर्यटन क्षेत्रमा मात्र हैन, प्रत्येक क्षेत्रमा फाइदा पुग्छ । काठमाडौं मात्र हैन, बाहिरी जिल्लामा पनि पर्यटकलाई लान सक्नुपर्छ । त्यस क्षेत्रमा पनि प्रचारको आवश्यक छ । जस्तो भैरहवा, रारा, मुगु, नेपालगन्ज हाम्रा लागि नयाँ बजार हुन सक्छ । धार्मिक स्थलहरु दोलखाको कालिञ्चोक, बाराको गढीमाई ,जनकपुरको जानकी मन्दिर लगायतलाई प्रभावकारी रुपमा प्रचार गर्न सके अझ राम्रो हुन्छ ।
२० लाख पर्यटक आउने भन्दा पनि हामी कहाँ जसले नेपालमा आएर राम्रा कुराको प्रचार गर्छ त्यस्तालाई प्राथमिकता दिनुपर्छ । दुई जना युरोपियन र अमेरिकन नेपाल आएर आफ्नो सामाजिक सञ्जालमा फोटो सेयर गरियो भनेपनि नेपालको पर्यटन क्षेत्रको विकास गर्न धेरै टेवाँ पुग्छ ।
खर्चालु र बसाइ लम्ब्यानेतिर सोच्नुपर्छ
निरञ्जन श्रेष्ठ
निर्देशक, लक्ष्मी ग्रुप
विश्वका कुनै मुलुकमा पनि राखिएको लक्ष्य अनुसार पर्यटक आइपुग्दैनन् । भ्रमण वर्ष भनेको प्रचार र तयारी मात्र हो । त्यहि वर्षमा आउछन् भन्ने हुँदैन् । उनीहरुले तयारी गर्ने पछिल्ला वर्षमा त्यसको प्रभाव पर्ने हुन्छ । खासगरी, दुई÷तिन वर्षमा पर्यटन क्षेत्रमा आवश्यक पर्ने पूर्वाधारहरु निर्माण गरिसक्नुपर्छ ।
सरकारले हेर्नुपर्ने विषय भनेको पहिलो सङ्ख्या, बसाई अवधि र खर्च गर्ने प्रवृत्ति हो । आएका पर्यटकमध्ये ३३ प्रतिशत काठमाडौंमा घुम्ने, ३३ प्रतिशत लुक्ला र ३३ प्रतिशत मात्र बाहिरी क्षेत्रमा जाने गरेका छन् ।
तिनीहरुको सरदर बसाई काठमाडौंमा ३ दिन छ । त्यसलाई ५ दिन कसरी पु¥याउने ? ४४ डलर खर्चबाट २०० डलर कसरी पु¥याउने भन्नेमा ध्यान दिनुपर्छ । अहिले नेपालमा आउने अधिकाशं पर्यटकले पर्याप्त मात्रामा खर्च गरेको देखिँदैन् ।
नेपालमा आउने पर्यटकहरु धेरै खर्च गर्न सक्ने क्षमताका रहे पनि उनीहरुलाई धेरै खर्च गराउन सकिएको छैन् । अहिले उनीहरुलाई सस्तो प्याकेज दिइरहेका छन् ।