नेपालमा क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई बुझाएको प्रतिवेदनले मुलुकको विद्यमान कर प्रणाली सुधार्न सके करिब ३ खर्ब राजस्व थपिने देखाएको छ। अर्थ मन्त्रालयले असार ४ मा सार्वजनिक गरेको उक्त प्रतिवेदनअनुसार समितिले तयार पारेको कार्ययोजनामा उल्लिखित सुधार गरे सरकारले प्रक्षेपणभन्दा करिब २ खर्ब ९१ अर्ब थप राजस्व संकलन हुने प्रतिवेदनले देखाएको हो। विभिन्न वस्तुमा दिइएको भ्याट छुट खारेज गरिनुपर्ने, आयकरको स्लाब संशोधन गर्नुपर्ने, स्वास्थ्यमा हानि गर्ने वस्तुबाहेकको अन्तःशुल्क हटाउनुपर्ने, हरित कर लगाइनुपर्र्नेेलगायत सुझाव समितिले दिएको छ। सरकारको २०८० भदौ २९ को निर्णयानुसार विद्याधर मल्लिक अध्यक्षताको चार सदस्यीय समितिले गत फागुनमा प्रतिवेदन बुझाएको थियो।
नेपालको सार्वजनिक ऋण २४ खर्ब ९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले असार ६ मा प्रकाशित गरेको विवरणअनुसार २०८० साउनदेखि २०८१ जेठसम्म १ खर्ब १० अर्ब ऋण थपिएर २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको हो। सरकारले यो वर्ष ४ खर्ब ५२ अर्ब ऋण उठाउने लक्ष्य राखेकामा जेठसम्म ३ खर्ब ७ अर्ब उठाएको छ।
विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था (आइडा)को तेस्रो बैठक पहिलोपल्ट नेपालमा बसेको छ। काठमाडौंमा असार ४ देखि ७ सम्म चलेको बैठकले न्यून आय वर्गका मुलुकलाई गरिने भावी सहयोगको रणनीति तय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको बैठकले स्रोत परिचालनलाई तल्लो तहका नागरिकमाझ पु¥याउन अवलम्बन गरिनुपर्ने रणनीतिलाई समर्थन गरेको छ। आइडाले न्यून र मध्यम आय भएका विश्वसका ७५ बढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ।
बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गलगायत उच्च पदस्थ पदाधिकारीसहित ६१ देशका करिब २०० बढी प्रतिनिधि सहभागी थिए। बैठकमा सहभागीले विश्व बैंकसमेतको सहयोगमा नेपालमा सञ्चालित शिक्षा, खानेपानी, पुनर्निमाण, ऊर्जा, जलवायुलगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न ९ आयोजनाको स्थलगत भ्रमण गरेका थिए। विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो कार्यक्रम हो।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत भएको जनाएको छ। मन्त्रालयले असार ५ मा किसान सूचीकरण प्रतिवेदन सार्वजनिक गरेको हो। सूचीकरण कार्यक्रमबाट मुख्यतया किसानले उत्पादन गर्ने खाद्यान्नको सहज बजार पहुँच विस्तार, वार्षिक रुपमा उत्पादन हुने खाद्यान्नको यकिन तथ्यांक संकलन, वास्तविक किसानलाई दिइने राहत वितरण सहज हुने अपेक्षा मन्त्रालयको छ।
किसानबाट उत्पादित उपज, खेती गरेको जमिनको क्षेत्रफललगायत विवरणसहितको एकीकृत तथ्यांक संकलन भइरहेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए। कृषि सूचना तथा प्रशिक्षण केन्द्रले समन्वय गरेको कार्यक्रममा देशभर स्थानीय तहमार्फत किसानका सूचना संकलन गरिएको हो। किसानको पहिचान गरी सरकारी तवरबाट उनीहरुलाई उपलब्ध गराइने सेवा–सुविधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न तीनै तहको साझेदारीमा किसान सूचीकरण कार्यक्रम सार्वजनिक गरेको हो। २०७७ फागुनबाट सुरु भएको किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सहभागी भएका हुन््। कृषि गणना २०७८ अनुसार नेपालमा करिब ४१ लाख घरपरिवार कृषि खेतीपातीमा आबद्ध भएका छन्।
सातै प्रदेशले २ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएका छ। असार १ मा आयव्यय सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार सातै प्रदेशले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट सार्वजनिक गरेका हुन्। सात प्रदेशमा सबैभन्दा ठूलो आकारको बजेट बागमतीको छ भने सबैभन्दा सानो आकारको बजेट कर्णाली प्रदेशको छ। बागमतीको बजेट ६४ अर्ब ५४ करोड बराबरको हुँदा कर्णालीको बजेट ३१ अर्ब ४१ करोड छ। यस्तै, कोसीले ३५ अर्ब २७ करोड, मधेसले ४३ अर्ब ८९, गण्डकीले ३२ अर्ब ९६ करोड, लुम्बिनीले ३८ अर्ब ९७ करोड र सुदूरपश्चिमले ३१ अर्ब ६२ करोड रुपैयाँको बजेट ल्याएका छन्। चालू आवका लागि सात प्रदेशले ३ खर्ब बराबरको बजेट ल्याएका थिए।
मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जनालाई काठमाडौं विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण राई र रामबहादुर थापाको इजलासले असार ४ मा दोषी ठहर गर्दै उनीहरूलाई जनही २ देखि ८ वर्षसम्म कैद निर्धारण गरेको हो। मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्र र भूपबहादुर बोगटीले जनही १ करोड २५ लाख ११ हजार ९९ सय ९० गोपाल ढुंगानाले ३५ लाख ४५ हजार ९५० पदम प्रसाद अर्याल १६ लाख ८१ हजार ६०० बिगो तिर्नुपर्नेछ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाअन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माण सम्झौतामा हस्ताक्षर भएको छ। एमसीए–नेपालले भारतको टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङ कम्पनीसँग निर्माण सम्झौतामा असार १ मा हस्ताक्षर भएको हो। ४०० केभी ग्यास इन्सुलेटेड स्वीचगियर (जीआईएस) सबस्टेसन ३९ महिनाभित्र निर्माण गरिने सम्झौतामा उल्लेख छ। निर्माण सम्पन्नपछि १ हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेसन नेपालकै ठूला सबस्टेसनमध्येको एउटा हुनेछ। ४०० केभी रातमाटे सबस्टेसन जलविद्युत् आयोजना र सबस्टेसनबाट प्राप्त हुने ३,२०० मेगावाटभन्दा बढी बिजुली प्रसारण गर्ने क्षमताको हुनेछ। ५.१६ करोड अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौंडा सबस्टेसनबीच विद्युत् प्रसारणका लागि सहयोगी हुने एमसीए नेपालले जनाएको छ।
सर्वसाधारणको ९४ करोड २३ लाख रुपैयाँ बचत रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापासहित चार जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असार २ मा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सहकारी व्यवस्थापक सजना राजकर्णिकार सदस्य भीमसेन महर्जन र सञ्जय सापकोटा रहेको प्रहरीले जनाएको छ। ५६६ जना बचतकर्ताको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। २ अर्ब ८० करोड निक्षेप रहेको सहकारीमा ९४ करोड २३ लाख ४२ हजार ठगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
यो साता सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४३.९८ अंकले घटेको छ। साताको चार कारोबार दिनमा उतारचढाव भइरहँदा नेप्से ४३.९८ अंकले घटेर कारोबारको अन्तिम दिन बिहीबार २०६८.३१ को बिन्दुमा रोकिएको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २११२.२९ को बिन्दुमा सीमित भएको थियो। यो साता नेप्सेमा कुल १६ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत साता २८ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले असार २ मा ६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।
नेपाल धितोपत्र बोर्ड अध्यक्षका उम्मेदवार दोस्रो पटकको लागि बोलाइएको अन्तर्वार्तामा पनि अनुपस्थित भएका छन्। गत असार २ मा बोलाइएको अन्तर्वार्तामा दुई जना मात्रै उपस्थित भएकामा असार ५ मा पनि तीन जना अनुपस्थित भएका हुन्। धितोपत्र बोर्ड अध्यक्षको लागि पहिलो चरणमा पाँच उम्मेदवार छनिएका थिए। छानिएकामध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तर्वार्तामा उपस्थित भइरहेका छन्। हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र बिमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं दुवै पटक अन्तर्वार्तामा सहभागी भएनन्।