काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५० हजार कित्ताभन्दा कमदेखि ३६ करोड कित्तासम्म सेयर सूचीकृत भएका कम्पनी छन्। नेपाल राष्ट्र बैंकले नै वाणिज्य बैंकहरूको पुँजी न्यूनतम ८ अर्ब अर्थात ८ करोड कित्ता हुनुपर्ने व्यवस्था गरेको छ। त्यस्तै पूर्वाधार विकास बैंकको पनि पुँजी २० अर्बमाथि छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जर र एक्विजिसनमा लगेपछि वाणिज्य बैंकहरूको पुँजी स्वभाविक रूपमा बढेको छ। तर, बढी पुँजी भएका कम्पनीहरूमा वाणिज्य बैंक मात्र छैनन्। अन्य क्षेत्रका कम्पनीहरू पनि उच्च पुँजी लिएर नेप्सेमा सूचीकृत छन्। तर, धेरै वाणिज्य बैंक छन्।
नेप्सेमा सूचीकृत १० बढी पुँजी भएका कम्पनीमध्ये वाणिज्य बैंकको संख्या ७ छ। अन्य कम्पनीमा जलविद्युत क्षेत्रको माथिल्लो तामाकोसी, जलविद्युत् लगानी तथा विकास कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक छन्।
तर, यी १० कम्पनीमध्ये ९ वटा कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता २०० रुपैयाँभन्दा तल छ। बढी पुँजी भएर पनि नबिल बैंकको मूल्य भने अझै साढे ४ सय रुपैयाँमाथि कारोबार भइरहेको छ।
नेप्सेमा सबैभन्दा बढी कित्ता सेयर सूचीकृत भएको कम्पनीमा ग्लोबल आईएमई बैंक (३६ करोड १२ लाख कित्ता सेयर) छ। धेरै कित्ता सेयर सूचीकृत भएका कम्पनीको सेयरमा सर्वसाधारणको स्वामित्व बढी हुन्छ।
लगानीकर्ताले यस्ता कम्पनीको मूल्य बढाउने र घटाउने खेल खेल्नसक्ने सम्भावना कम हुन्छ। बजारको ठूलो हिस्सा यी कम्पनीले ओगटेकाले बजार सूचक नेप्सेको बिन्दु न्यून हुने वा माथि जाने विषयसमेत यी कम्पनीको सेयरबाट निर्धारण हुनेगर्छ। यहाँ नेप्सेमा सबैभन्दा बढी सेयर सुचीकृत भएका १० कम्पनी चर्चा गरिएको छ।
ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंक (जीबिआईएमई)को ३६ करोड १२ लाख ८७ हजार ७०३ कित्ता सेयर नेप्सेमा सूचीकृत छ। जसको ४८.७६ प्रतिशत अर्थात् १७ करोड ६१ लाख ६३ हजार ८८४ कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा छ भने ५१.२४ प्रतिशत अर्थात् १८ करोड ५१ लाख २३ हजार ८१९ कित्ता सेयर प्रमोटरको हातमा छ। बिहीबार कम्पनीको सेयर प्रतिकित्ता १७७.८० रुपैयाँमा कारोबार भएको छ। बैंकको चुक्तापुँजी ३६ अर्ब १२ करोड रुपैयाँ छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको वार्षिक प्रतिसेयर आम्दानी १२.२० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६०.९२ रुपैयाँ छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म (१० महिना)मा ग्लोबल आईएमई बैंकले ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)को ३४ करोड १२ लाख ८५ हजार ९४९ कित्ता सेयर नेप्सेमा सूचीकृत छ। जसको २०.५५ प्रतिशत अर्थात् १३ करोड ३७ लाख ५० हजार ७६९ कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा छ भने ७९.४५ प्रतिशत अर्थात् २० करोड ७५ लाख ३५ हजार १८० कित्ता सेयर प्रमोटरको स्वामित्वमा छ।
बिहीबार यस कम्पनीको सेयर प्रतिकित्ता १५५ रुपैयाँमा कारोबार भएको छ। नेपाल इन्भेस्टमेन्ट मेगाको चुक्तापुँजी ३४ अर्ब १२ करोड रुपैयाँ छ। चालू आर्थिक वर्षको वैशाख १० महिनामा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
नबिल बैंक
नबिल बैंक लिमिटेड (नबिल)को २७ करोड ५ लाख ६९ हजार ९८४ कित्ता सेयर नेप्सेमा सूचीकृत छ। जसको ४० प्रतिशत अर्थात् १० करोड ८२ लाख २७ हजार ९८८ कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा छ भने ६० प्रतिशत अर्थात् १६ करोड २३ लाख ४१ हजार ९९६ कित्ता सेयर प्रमोटरको स्वामित्वमा छ। बिहीबार यस कम्पनीको सेयर ४७० रुपैयाँ प्रतिकित्तामा कारोबार भएको छ। नबिल बैंकको चुक्तापुँजी २७ अर्ब ५ करोड रुपैयाँ छ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको वार्षिक प्रतिसेयर आम्दानी २३.२४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २०८.३९ रुपैयाँ छ। चालू आर्थिक वर्षको १० महिनामा नबिल बैंकले ५ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
कुमारी बैंक
कुमारी बैंक लिमिटेड (केबीएल)को २६ करोड २२ लाख ५८ हजार ६१३ कित्ता सेयर नेप्सेमा सूचीकृत छ। जसको ४९ प्रतिशत अर्थात् १२ करोड ८२ लाख ५ हजार २९२ कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा छ भने १३ करोड ४० लाख ५३ हजार ३२१ अर्थात् ५१ प्रतिशत सेयर प्रमोटरको हातमा छ। बिहीबार यस कम्पनीको सेयर प्रतिकित्ता १३७.८० रुपैयाँ प्रतिकित्तामा कारोबार भएको छ। कुमारी बैंकको चुक्तापुँजी २६ अर्ब २२ करोड रुपैयाँ छ।
चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंकले १ अर्ब ४२ करोड खुद नाफा कमाएको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको वार्षिक प्रतिसेयर आम्दानी ५.३५ र प्रतिसेयर नेटवर्थ १३६.५२ रुपैयाँ रहेको छ।
प्रभु बैंक
प्रभु बैंक लिमिटेड (प्रभु)को २३ करोड ५४ लाख २४ हजार ८९९ कित्ता सेयर नेप्सेमा सूचीकृत छ। जसको ४९ प्रतिशत अर्थात् ११ करोड ५३ लाख ५८ हजार २०० कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा छ भने ५१ प्रतिशत अर्थात् १२ करोड ६६ हजार ६९९ कित्ता सेयर प्रमोटरको स्वामित्वमा छ। यस कम्पनीको सेयर बिहीबार प्रतिकित्ता १४१.९० रुपैयाँमा कारोबार भएको छ।
चालू आर्थिक वर्षको १० महिनामा बैंकले २ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको छ। प्रभु बैंकको चुक्तापुँजी २३ अर्ब ५४ करोड रुपैयाँ छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार वार्षिक प्रतिसेयर आम्दानी १०.२६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४२.६० रुपैयाँ छ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंक (एलएसएल)को २३ करोड १८ लाख ७१ हजार ५४६ कित्ता सेयर नेप्सेमा सूचीकृत छ। जसको ४८.९५ प्रतिशत अर्थात् ११ करोड ३५ लाख १ हजार १२२ कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा छ भने ५१.०५ प्रतिशत अर्थात् ११ करोड ८३ लाख ७० हजार ४२४ कित्ता सेयर प्रमोटरको स्वामित्वमा छ। बिहीबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५४.८० रुपैयाँमा कारोबार भएको छ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको वार्षिक प्रतिसेयर आम्दानी ९.२९ र प्रतिसेयर नेटवर्थ १७१.५९ रुपैयाँ रहेको छ। बैंकको चुक्तापुँजी २३ अर्ब १८ करोड रुपैयाँ छ। चालू आर्थिक वर्षको १० महिनामा बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
जलविद्युत् लगानी तथा विकास कम्पनी
जलविद्युत् लगानी तथा विकास कम्पनी (हाइड्रोइलेक्टीसिटी इन्भेस्ट एन्ड डेभलपमेन्ट) कम्पनी (एचआईडिसीएल)को २२ करोड ८७ लाख ३९ हजार ८४ कित्ता सेयर नेप्सेमा सूचीकृत छ। जसको २० प्रतिशत अर्थात् ४ करोड ५५ लाख ५१ हजार ५९८ कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा छ भने ८० प्रतिशत अर्थात् १८ करोड ३१ लाख ८७ हजार ४८६ कित्ता सेयर प्रोमोटरको स्वामित्वमा छ। बिहीबार यस कम्पनीको सेयर प्रतिकित्ता १६०.९० रुपैयाँमा कारोबार भएको छ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६.३८ र प्रतिसेयर नेटवर्थ ११२.२९ रुपैयाँ रहेको छ। कम्पनीले तेस्रो त्रैमासिक अवधिमा १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको जुन गत वर्षको १ अर्ब १ करोड रुपैयाँ खुद नाफाको तुलनामा ७.९ प्रतिशत बढी हो।
हिमालयन बैंक लिमिटेड
हिमालयन बैंक लिमिटेड (एचबिएल)को २१ करोड ६५ लाख ६६ हजार १५८ कित्ता सेयर नेप्सेमा सूचीकृत छ। जसको २७.०१ प्रतिशत अर्थात् ५ करोड ८४ लाख ९४ हजार ५१९ कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा छ भने ७२.९९ प्रतिशत अर्थात् १५ करोड ८० लाख ७१ हजार ६३९ कित्ता सेयर प्रमोटरको हातमा छ। यसको सेयर बिहीबार १७७.५० रुपैयाँ प्रतिकित्तामा कारोबार भएको छ।
बैंकको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी ११.९९ र प्रतिसेयर नेटवर्थ १६४.२३ रुपैयाँ रहेको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंकले २ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको चुक्तापुँजी २१ अर्ब ६५ करोड रुपैयाँ छ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को २१ करोड ६० लाख सेयर नेप्सेमा सूचीकृत छ। जसको ४० प्रतिशत अर्थात् ८ करोड ६४ लाख कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा छ भने ६० प्रतिशत अर्थात् १२ करोड ९६ लाख कित्ता सेयर प्रोमोटरको स्वामित्वमा छ। बिहीबार यस कम्पनीको सेयर प्रतिकित्ता १९१.३० रुपैयाँ प्रतिकित्तामा कारोबार भएको छ। निफ्राको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६.०९ र प्रतिसेयर नेटवर्थ ११०.६५ रुपैयाँ रहेको छ।
अपर तामोकोशी हाइड्रोपावर
अपर तामोकोसी हाइड्रोपावर लिमिटेड (अपर)को २१ करोड १८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत छ। जसको ४९ प्रतिशत अर्थात् १० करोड ३७ लाख ८२ हजार कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा छ भने ५१ प्रतिशत अर्थात् १० करोड ८० लाख १८ हजार कित्ता सेयर प्रमोटरको हातमा छ। बिहीबार यस कम्पनीको सेयर प्रतिकित्ता १५८ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको छ।
कम्पनीको चुक्तापुँजी २१ अर्ब १८ रुपैयाँ रहेको छ। चालू आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी ६.५७ र प्रतिसेयर नेटवर्थ ६३.२५ रुपैयाँ रहेको छ।