काठमाडौं। नेपाली बजारमा डलर सटहीमा नयाँ रेकर्ड र सुन मूल्य एकै दिन ताेलामै १९०० रूपैयाँले बढेकाे छ। मंगलबार, बुधबार स्थिर र बिहीबार सामान्य बढेको सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको हाे भने डलर सहटी हालसम्मकै महँगाे भएकाे हाे।
डलर सटहीमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अब १ डलर खरिदका लागि १३४.१५ रुपैयाँ खर्चिनुपर्नेछ। डलरको मूल्य अहिलेसम्मकै उच्च हो।अघिल्लो साता डलर महँगिएर १३४.०१ रुपैयाँ पुगेको थियो। आज डलर सटहीमा नयाँ रेकर्ड कायम भएको हो।
सामान्य उतारचढाव आए पनि गत असोज २ मा डलरको भाउ बढेर १३३.५४ र कात्तिक १६ मा १ डलर बराबर १३३.५७ रुपैयाँ कायम थियो। डलरसँग भारु हालसम्मकै कमजोर बन्दा नेपाली रुपैयाँको पनि अवमूल्यन भएको हो।
भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली मुद्रामा परेको हो। शुक्रबार १ डलर बराबर ८३.५९ भारु पुगेको छ। नेपाल र भारतमा मात्र होइन, विश्व बजारमा डलर बलियो हुँदा अन्य स्थानीय मुद्रा कमजोर बन्दै गएका छन् ।
विश्वमा ८० प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको तथ्यांक छ। २०८० असार मसान्तको तुलनामा २०८१ वैशाख मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.६१ प्रतिशत अवमूल्यन भएको छ।
अघिल्लो दिन बिहीबार प्रतितोला ६०० ले बढेको सुनको मूल्य शुक्रबार १९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ७०० र तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ८०० र तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।
महासंघका अनुसार बिहीबार प्रतितोला १८४० मा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको हो। चाँदी बिहीबारभन्दा आज तोलामा २५ रुपैयाँले बढेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यसअघि सुन मूल्यले जेठ २५ मा नयाँ रेकर्ड बनाएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम थियो। तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।