काठमाडौं । सम्झौताको ५ वर्ष बित्दा पनि चक्रपथ विस्तारको दोस्रो चरणको निर्माण कार्य सुरु नभएपछि सडकदेखि सदनसम्म आवाज उठ्न थालेको छ। चक्रपथ विस्तार गर्न नेपाल र चिनियाँ सरकारबीच २०१८ जनवरी १७ मा सम्झौता भएको थियो।
सम्झौताको ५ वर्ष बित्दा पनि सडक विस्तार परियोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) बनेको छैन। चक्रपथ विस्तार नयाँ विषय नभए पनि १० जना सांसदले जेठ २९ मा संसदमा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता गराए। त्यसपछि यो विषय थप सशक्त र पेचिलो बनेको छ।
२०७९ मंसिरमा काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले खण्ड विस्तारका लागि आफ्नोतर्फबाट पहल गर्दै आएका थिए। सांसद बनेको डेढ वर्षको दौरानमा तालुकदार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागमा उनी थुप्रै पटक धाएका छन्। उनको दौडधुप ओझेल जस्तै थियो। मन्त्रालय र विभागलगायत सम्बन्धित क्षेत्रका सीमित व्यक्तिलाई मात्रै उनको दौडधुप थाहा छ।
देशको संघीय राजधानीकै मुख्य सडक सम्झौतापछि निर्माण सुरु त परको कुरा, कहिले निर्माण हुन्छ भन्नेसम्म यकिन छैन। जिम्मेवार निकाय भौतिक मन्त्रालय, सडक विभाग हुँदाहुँदै एउटा सांसदले काठमाडौं महानगरपालिकाका मेयर, नेपालका लागि चिनियाँ राजदूत र संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्तालगायत विषयमा दौडधुप किन गर्नु पर्यो? जवाफमा सांसद पौडेल भन्छन्, ‘सम्झौता भइसक्दा पनि राजधारीकै सडक निर्माण हुँदैन। धुवाधुलोबाट जनता रोगी बन्ने अनि बर्खामा ढलमा परेर कयौंले ज्यान गुमाउनु परेको हामीले देखेका छौं। सरकारले गर्नुपर्ने गतिमा काम नगरेपछि मैले जनप्रतिनिधिको हिसाबले आफ्नो जिम्मेवारी ठान्दै सम्बन्धित निकायलाई झकझक्याइरहेको हुँ।’
सामाखुसी क्षेत्रमा हिँडिरहँदा देखिने धुलो र बर्खामा ढलले बगाएर जनताले ज्यान गुमाएको दृश्यले आफूलाई चिन्तित बनाइरहने उनको भनाइ छ। पछिल्ला हरेक बर्खामा सामाखुसी खोलाको पानी घरमा पस्नेदेखि मानिस बगाउनेसम्मका घटना भइरहेको उनी बताउँछन्।
‘अर्थ र भौतिक मन्त्रालय, सडक विभाग धाउँदा–धाउँदा नभएपछि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छौं। प्रधानमन्त्रीलाई चिनियाँ पक्षले काम नगर्ने भए नेपालले आफ्नै लगानीमा काम गर्नुपर्छ भनेको छु,’ उनले निराशा व्यक्त गरे।
पौडेल प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सांसद गगनकुमार थापा, प्रतिमा गौतम, सन्तोष चालिसे, शिशिर खनाल, गणेश पराजुली, राजेन्द्रकुमार श्रेष्ठ, सपना राजभण्डारी, अम्बिका बस्नेत र सोविता गौतमले समर्थन गरेका छन्। यसको अर्थ हो चक्रपथको दोस्रो खण्ड विस्तार गर्नुपर्छ भन्ने सांसदको संख्या बढ्दो छ।
संसदमा दर्ता भएको प्रस्तावमा दुई सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको लामो समय हुँदा पनि सडक विस्तारमा भएको ढिलाइको कारण खोजी निर्माण अघि बढाउनु पर्ने उल्लेख छ। सम्झौताअनुसार चीन सरकारले काम नगर्ने भए नेपाल आफ्नै लगानीमा सडक विस्तार सुरु गर्न ढिला गर्न नहुने भनिएको छ। सडक विस्तारका नाममा खनेर अस्तव्यस्त बनाउँदा निस्किएको धुवाधुलोले नागरिकको स्वास्थ्यमा दीर्घकालीन असर परेको विषयमा पनि छलफल आवश्यक रहेको प्रस्तावमा उल्लेख छ।
संसदमा प्रस्ताव दर्ता गरेको पर्सिपल्ट अर्थात् जेठ ३० मा सांसद पौडेलले नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई पनि भेटेका थिए। राजदूतलाई पनि सम्झौताअनुसारको काम अघि बढाउन आग्रह गरेको उनी बताउँछन्। राजदूत सोङबाट ‘नेपालले आफ्नो काम सम्पन्न गरे सडक विस्तार गर्न चीन सरकार तयार रहेको’ जवाफ पाएको सांसद पौडेलको भनाइ छ।
चक्रपथ विस्तार आयोजनाका योजना प्रमुख कृष्णनाथ ओझाका अनुसार नेपालले गर्नुपर्ने काम लगभग सकिएको छ। यद्यपि नेपालले गर्नुपर्ने ‘साइट क्लियरेन्स’ ढिलाइ भएको उनी स्विकार्छन्। ५ वर्षसम्म साइट क्लियरेन्स गर्न लागेको उनको भनाइ छ। कोरोना संक्रमणका कारण २ वर्ष काम गर्न सहज नहुँदा ५ वर्ष लागेको उनको दाबी छ। सन् २०२४ बाट भने कागजी प्रक्रिया अघि बढाएको उनले बताए।
चक्रपथकै कोटेश्वर–कलंकी (१०.३९ किमी) सडक चीनकै सहुलियत ऋणमा ८ लेनमा विस्तार भइसकेको छ। सन् २०१९ मा सम्पन्न भएको उक्त खण्डमा नेपालले गर्नुपर्ने काम ढिलो हुँदा विस्तार कार्य पूर्वनिर्धारित समयमा नसकिएको भन्दै दोस्रो खण्ड विस्तार गर्न नेपालले आफ्नो काम सम्पन्न गर्नुपर्ने चीनको अडान छ।
सन् २०१८ को सम्झौताअनुसार कंलकी–बसुन्धारा (८.२ किमी) मात्रै सडक विस्तार गर्नेछ। तर, नेपाल अहिलेको आवश्यकताको आधारमा धोबी खोलासम्म सडक विस्तार गर्न आग्रह गर्दै आएको छ। ‘सडक विस्तार गर्दा आवश्यकताअनुसार ओभरपास र अण्डरपास बनाउनु पर्ने हाम्रो माग हो। त्यसैले पहिलाको सम्झौता जस्तो सजिलो काम गर्नलाई हुँदैन,’ उनले भने।
अर्थ मन्त्रालय र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’मा हस्ताक्षर भएपछि डिपिआर अध्ययनदेखि सडक विस्तारको काम अघि बढ्ने सडक विभागले जनाएको छ।
सांसद पौडेलले जेठ ३० गते नै काठमाडौं महानगरका मेयर बलेन्द्र शाह ‘बालेन’सँग भेटेर पनि चक्रपथ विस्तारको विषयमा कुरा गरेका थिए। उनीहरूबीच चक्रपथ विस्तारसहित टुकुचा, सामाखुसी र धन्मन्तरी खोला व्यवस्थापन र सार्वजनिक जग्गाको विषयमा छलफल भएको थियो। ‘मेरो निर्वाचन क्षेत्रमा महानगरका ४ वटा वडा पर्छन्। त्यहाँभित्रका खोला र सार्वजनिक जग्गा व्यवस्थापनलाई संघ सरकारसँग समन्वय गरेर आगामी बजेटमा समावेश गर्ने विषयमा छलफल भएको हो,’ सांसद पौडेलले भने।
चक्रपथ विस्तारको काम अलपत्र पारेर सर्वसाधारणलाई दुःख दिएको भन्दै जेठ १२ मा काठमाडौं महानगरपालिकाले सडक विभाग र सडक डिभिजन कार्यालय काठमाडौंको गेटमा फोहोरसहितको धुलो फालेको थियो। महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ले फोहोरसहितको धुलो फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई दैनिक एक–एक टिप्पर धुलो उपहार पठाउने अभिव्यक्ति दिएका थिए। यद्यपि दोहोर्याएर महानगरले संघीय कार्यालयमा फोहोर लगेको छैन। त्यसयता चक्रपथ विस्तारको विषय थप चर्किएको छ।