काठमाडौं। तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान (ईआईओ कल) भएकामध्ये १२ आयोजनाको म्याद थप भएको छ। गत वैशाख १६ र १७ मा सम्पन्न तेस्रो लगानी सम्मेलनमा १९ आयोजनामा आशयपत्र आह्वान गरिएको थियो।
लगानी बोर्ड नेपालले जेठ १९ मा सूचना जारी गर्दै १२ आयोजनामा आशयपत्र पेस गर्ने म्याद थप भएको जनाएको हो। अब असार १८ सम्म इच्छुक कम्पनीले आशयपत्र पेस गर्न सक्नेछन्।
१९ आयोजनाको आशयपत्र आह्वान हुँदा १२ वटाको मात्रै म्याद किन थपियो? बोर्डका उपसचिव एवं सहायक प्रवक्ता रमेशप्रसाद अधिकारी भन्छन्, ‘बोर्ड आफैंले प्रस्ताव गरेका १२ आयोजना हुन्। त्यसैले म्याद थप्यौंं। ७ आयोजना अन्य मन्त्रालय तथा निकायका हुन्। अरुको आयोजनामा बोर्डले म्याद थप गर्न मिल्दैन।’
यी हुन् म्याद थप भएका १२ आयोजना
उनका अनुसार म्याद थप गर्न इच्छुक निकाय आफैंले थप गर्नुपर्ने हुन्छ। तर, हालसम्म ७ वटा आयोजनाको आशयपत्र आह्वान गरेका कुनै पनि निकायले म्याद थप गरेका छैनन्।
तेस्रो लगानी सम्मेलन सकिएसँगै बोर्डले ऊर्जा क्षेत्रका आयोजनामा ४५ दिन र गैरऊर्जा क्षेत्रका आयोजनामा ३० दिनको म्याद राखेर आशयपत्र मागेको थियो। यद्यपि हालसम्म कुन आयोजनामा प्रस्ताव आएको छ भन्ने हेर्दै नहेरी बोर्डले सीधै म्याद थपेको हो।
‘एम्बेसी’ र अरु निकायबाट छोटो समयमा प्रचार कम भयो भन्ने गुनासोपछि म्याद थपेको हो। आवेदन परेको छ÷छैन, हेरेका छैनौं,’ बोर्डका सहायक प्रवक्ता अधिकारीले क्यापिटल नेपालसँग भने।
अहिले आशयपत्र खोलेर हेर्दा पारदर्शितामा शंका हुने भएकाले अन्तिममा एकैपटक आशयपत्र खोल्ने तयारी बोर्डको छ।
सम्मेलनमा आशयपत्र मागिएका १९ र मार्केट साउन्डिङ (लगानीकर्ताको प्रतिक्रिया संकलन) ९ परियोजनासहित कुल १५४ परियोजना प्रस्तुत थिए। तेस्रो लगानी सम्मेलनमा सार्वजनिक/निजी साझेदारी (पीपीपी) प्रवर्द्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेसनल्स अफ प्राक्टिस्नर्स’ (नाप) बीच द्विपक्षीय सहकार्य समझदारी भएको थियो।
सम्मेलनका क्रममा साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप हङकङबीच वेलनेस रिसोर्ट तथा होटल व्यवसायमा सहकार्यसम्बन्धी सम्झौता भएको छ। कपिलवस्तुको गोरुसिंगेमा १०० मिलियन युआन लगानी (जग्गाबाहेक) मा उक्त परियोजना प्रस्तावित भएको हो।
सम्मेलनमाा ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीच तथा नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी) र चाइना दोंगन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको थियो।
त्यस्तै, मुगुको रारा ताल क्षेत्रमा लक्जरी रिसोर्ट निर्माणमा लगानी गर्न एक्सपर्ट ग्रुप र रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनआईसी) र इन्डियन इन्डस्ट्रिज एसोसिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्य सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ।
विप्रेषण आप्रवाहको रकम जलविद्युत् आयोजनामा लगानी गर्ने गरी रेमिट हाइड्रो परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
साथै, तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न ४ परियोजनाका लागि ९ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको थियो। विभागले वैशाख १७ मा स्वचालित मार्ग (अटोमेटिक रुट)मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली उद्घाटनसमेत गरेको थियो।
तर, बोर्डले तेस्रो लगानी सम्मेलनमा सफलताको मानक बनाउन तयारी गरेका परियोजना विकास सम्झौता (पीडीए) भने हुन सकेको थिएन। १५४ आयोजना सोकेस भएकामा ४ वटा आयोजना पीडीए गरेर त्यसलाई नै प्रचार गर्ने बोर्डको लक्ष्य थियो। तर, लक्ष्यअनुसारको पूर्वतयारी नहुँदा बोर्डको योजना सफल हुन नसकेको हो।
पीडीए रोकिएका आयोजनामा दमक औद्योगिक पार्क, अप्पर मस्र्याङ््दी–२, कोहलपुरमा बन्ने ४० मेगावाट क्षमताको सोलार परियोजना र डाबर नेपालको लगानी विस्तार हुन्। ती आयोजनामा सम्झौताका लागि अहिले पनि वार्ता भइरहेको बोर्डका सहसचिव आधिकारीले जानकारी दिए।