काठमाडौं। लुम्बिनी प्रदेश गुल्मीको गुल्मीदरबार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा पालिका अध्यक्ष सरोजकुमार थापाले ‘खेतदेखि पेटसम्म, गोठदेखि ओठसम्म’ कार्यक्रममार्फत सफा, स्वच्छ र मौलिक खानेकुरालाई प्रोत्साहन गरिएको बताए। सबै घरपरिवारलाई स्वच्छ खानेपानी व्यवस्था मिलाउन ‘एक घर एक धारा’को कार्यक्रमलाई निरन्तरता दिइएको छ।
गाउँपालिकाले नीति तथा कार्यक्रममा सल्लाका रुख विस्थापित गर्ने योजना अगाडि सारेको छ। डढेलो र आगलागीको मुख्य कारण सल्ला भएकाले त्यसलाई विस्थापित गरेर अन्य बिरुवा रोपिने नीति तथा कार्यक्रममा उल्लेख छ।
गाउँपालिकाले सल्लाका रुख काटेर त्यसको ठाउँमा हावापानीअनुसार अन्य प्रकारका रुख तथा बुट्याउन रोप्ने नीति ल्याएको हो। नीति तथा कार्यक्रममा खानेपानीका स्रोतको संरक्षण गर्न ‘एक वडा पाँच पोखरी’ को नीति लिएर हरेक वडामा पानी पुनर्भरण पोखरी निर्माण गरिनेछ।
रैथाने बाली लगाउन कृषकलाई प्रोत्साहन गर्ने, रैथाने लोपोन्मुख बाली कोदो, लट्टे, जुनेलो, धैया, तितेफापर, जौ, उबाजस्ता बालीको बिउबिजन संकलन र व्यवस्थापन गरी लगाउन कृषकलाई प्रोत्साहन गरिने विषय नीति तथा कार्यक्रममा समेटिएको छ।
फलफूल तथा तरकारी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने र नागरिकमैत्री सेवा प्रवाह गर्ने पालिकाको नीति छ।