काठमाडौं । मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जनालाई विशेष अदालत काठमाडौंले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण राई र रामबहादुर थापाको इजलासले मंगलबार दोषी ठहर गर्दै उनीहरूलाई जनही २ देखि ८ वर्षसम्म कैदसमेत निर्धारण गरेको हो।
राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० कात्तिक २० गते दायर गरेको मुद्दामा अन्तिम निर्णय सुनाउँदै विशेष अदालतले ७ जना अधिकृतहरूलाई भ्रष्टाचारी ठहर गरेको थियो। मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, गोपाल ढुंगाना, पदम प्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, किरणप्रसाद उपाध्याय र कम्प्युटर अधिकृत कुमोद भण्डारीलाई भ्रष्टाचारी ठहर गरेको थियो।
विशेषले मालपोत अधिकृत हरिनारायण मिश्रलाई ८ वर्ष, भूपबहादुर बोगटीलाई ८ वर्ष, गोपालबहादुर ढुङ्गानालाई ४ वर्ष पदमप्रसाद अर्याललाई २ वर्ष र कमोद तिवारीलाई ८ वर्ष कैदको सजाय निर्धारण गरेको छ।
भ्रष्टाचार मुद्दामा दोषी उपाध्यायको भने निधन भइसकेको छ। उनलाई विशेषले १ करोड २५ लाख ११ हजार १९० रुपैयाँ ७५ पैसा बिगो तिराउने फैसला गरेको छ। उपाध्यायको यो बिगो अब विशेषको फैसलाअनुसार छोराहरू राजकिशोर, गौतम, पशुपति र मुरारी उपाध्यायबाट दामासाहीले असुलउपर गर्नुपर्ने फैसला गरिएको छ।
मिश्र र बोगटीले जनही १ करोड २५ लाख ११ हजार ९९ सय ९०, ढुंगानाले ३५ लाख ४५ हजार ९५०, अर्यालले १६ लाख ८१ हजार ६०० र तिवारीले १ करोड २५ लाख ११ हजार १९० रुपैयाँ बिगो तिर्नुपर्ने छ।
चन्द्रप्रसाद भण्डारीले ६ महिना कैद र बिगोको दोब्बर ४ लाख ८८ हजार ९०० जरिवाना तिर्नुपर्ने छ।