काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षका उम्मेदवार दोस्रो पटकको लागि बोलाइएको अन्तर्वार्तामा पनि अनुपस्थित भएका छन्। गत असार २ गते बोलाइएको अन्तर्वार्तामा दुई जना मात्रै उपस्थित भएकोमा आज पनि तीन जना अनुपस्थित भएका हुन्।
धितोपत्र बोर्डको अध्यक्षको लागि पहिलो चरणमा पाँच उम्मेदवार छनिएका थिए। छानिएकामध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तर्वार्तामा उपस्थित भइरहेका छन्।
हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र बिमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवि चापागाईं दुवै पटक अन्तर्वार्तामा सहभागी भएनन्।
तीन जना सहभागी नहुँदा लामो समयसम्म चलिरहेको बोर्ड अध्यक्ष प्रक्रिया नै रद्द भएको छ। अध्यक्ष नियुक्ति सिफारिस समितिले प्रक्रिया रद्दका लागि अर्थमन्त्रालयमा पत्र लेखेर पठाइसकेको योजना आयोगले जनाएको छ।
समितिको सिफारिसलाई अर्थमन्त्रीले मन्त्रिपरिषद्मा पेस गर्ने र मन्त्रिपरिषद्ले स्वीकृत गरी नयाँ प्रक्रियाका लागि बाटो खोल्ने छ। नयाँ प्रक्रिया उपस्थित नहुने तीन जनाले पुन: आवेदन दिए स्वत: रद्द गर्नुपर्ने छ। अन्य सरकारी नियुक्तिका लागिसमेत योग्य वा अयोग्यका लागि पहिलो प्रश्न खडा हुनेछ।
सरकारी सेवामै रहेका नेप्सेका सीईओ कार्की र बोर्डका कार्यकारी निर्देशक अधिकारी सरकारले गठन गरेको छनोट सिमितिमा आवेदन हालेर सर्ट लिस्टमा परेर उपयुक्त कारण नदेखाइ प्रस्तुतिकरणमा सहभागी नभइ राज्यको जनशक्ति र स्रोत दूरुपयोगमा महत्त्वपूर्ण भूमिका खेल्ने उनीहरूलाई अर्थमन्त्रालयले तत्काल स्पष्टिकरण सोध्नुपर्ने देखिन्छ।
कथम कदाचित उनीहरूविरुद्ध छनोट प्रक्रियालाई जोडेर राज्यशक्ति दूरुपयोगमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेमा छानबिनको दायरमा समेटिन सक्छन्।
नेपाल धितोपत्र बोर्ड ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ।
समितिले यसरी सिफारिस गरेको नामको आधारमा सरकारले एक जनालाई नियुक्ति गर्नुपर्ने व्यवस्था छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा बनेको समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो। पाँच महिनादेखि धितोपत्र बोर्ड नेतृत्व बिहिन छ।