काठमाडौं। आरजु राइस मिलले न्यूनतम समर्थन मूल्य २५०० रुपैयाँ प्रतिक्विन्टलमा करिब ६ हजार टन धान खरिद गर्ने बताएको छ।
चैते धानमा चिस्यान बढी हुने र वर्षा मौसमका कारण भण्डारण गर्न नमिल्ने हुँदा किसान अन्योल र चिन्तित रहेका बेला आरजु राइस मिलले केही दिनअघिको मूल्यमा थप १०० रुपैयाँ बढाएर प्रतिमन १००० का दरले धान खरिद गरिरहेको जनाएको छ।
आरजु राइस मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले भने, ‘हामी किसानका पक्षमा छौं। किसानलाई निर्वाहमुखीबाट व्यावसायिककरणतिर लैजान प्रतिबद्ध छौं। किसानको मिहिनेतलाई कदर गर्दै उचित मूल्य दिएर धान खरिद गरिरहेका छौं।’
सरकारले १८ प्रतिशत चिस्यानको मात्रामा प्रतिक्विन्टल २५०० तोकेको छ। तर, आरजु राइस मिलले चिस्यानको प्रतिशत २५ प्रतिशत कायम गरी सोही मूल्य राखेको छ।
बर्सेनि मुलुकमा धानचामल आयात भइरहेको अवस्थामा किसानले उचित मूल्य तथा बजार नपाउँदा धान कुहिएर जाने चिन्तामा रहेका मोरङ, झापाका किसानलाई यसबाट केही राहत मिल्ने कम्पनीले जनाएको छ।
स्थानीय स्तरका व्यापारीले धानको मूल्य घटाएर खरिद ठप्प पार्ने र किसानलाई कम मूल्य दिएर ठूलो आम्दानी हात पार्ने प्रपञ्च गर्दा एक साताभित्रै धानको मूल्य प्रतिमन ३०० रुपैयाँले घटेको छ।
धान खरिद मूल्य कायम गरिँदा स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारले ध्यान दिनुपर्ने माग स्थानीय किसानको छ।