काठमाडौं। राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी सडक खण्डमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ। गए रातीको वर्षाले लोकमार्गको करिब ६० किलोमिटर सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्।
खुर्कोट–घुर्मी सडक खण्डमा पहिरो जाँदा टेलरसमेत पुरिएको छ।
मंगलबार साँझदेखि परेको पानी र शाखा सडकबाट बगेको लेदोसहितको माटोले मुख्य राजमार्ग अवरुद्ध भएको गोलन्जोर गाउँपालिका– १ का वडाध्यक्ष सोमप्रसाद बरालले बताए। उनका अनुसार गोलन्जोर गाउँपालिकाको हैबार, कालिआँप, कुँडुलेलगायत क्षेत्रमा सडक अवरुद्ध भएको छ।
गोलन्जोरको १ नम्बर वडा कार्यालय जाने शाखा सडक कुँडुलेमा १० चक्के टेलर पुरिएको वडाध्यक्ष बरालको भनाइ छ। तर, चालक भने सकुशल छन्।
त्यस्तै सोही खण्डमा पर्ने फिक्कल गाउँपालिकाको वडा नम्बर २ कार्यालय जाने नवलपुरघाटको शाखा सडकबाट पनि मुख्य राजमार्गमा लेदोसहितको माटो झरेको छ। फिक्कलकै बादुरा खोलालगायत ठाउँ–ठाउँमा पहिरो झरेर मध्यपहाडी राजमार्ग बुधबार बिहानैदेखि अवरुद्ध छ।
गोलन्जोरले आफ्नै पहलमा स्थानीय निर्माण व्यवसायीको स्काभेटर प्रयोग गरेर सडक खुलाउने प्रयास गरिरहेको वडाध्यक्ष बरालले बताए। सडक विभागको मेसिन पनि पहिरो पन्छाउन परिचालन गरिएको छ।
सडक अवरुद्ध हुँदा सिन्धुली, रामेछापको पूर्वी क्षेत्र, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयपुर, भोजपुर, संखुवासभालगायत जिल्लाबाट काठमाडौं आउजाउ गर्ने यात्रु अपलत्र परेका छन्।