काठमाडौंं । अत्याधिक चिसो बढेसँगै नेपाली बजारमा स्वदेशी तथा विदेशी ब्राण्डका हिटरको खपत बढ्न थालेको छ । पुस लागेसँगै झरी परेकाले चिसोबाट जोगिन हिटरको व्यापार बृद्धी भएको महाबौद्धका व्यापारी गणेश खनालले बताए ।
गत बर्षको तुलनामा चिसो पनि बढेकोले हिटरको ब्यापार पनि करिब ३० प्रतिशत बढेको उनको भनाई छ । उनले भने ‘गत वर्षको तुलनामा अत्याधिक चिसो बढेकाले ग्राहकलाई जुन ब्राण्डको हिटर देखायो त्यहि लिएर जान्छन् ।’
नेपाली बजारमा उपलब्ध हिटरको १ हजारदेखि १५ हजार रुपैयाँसम्मको रहेको व्यवसायीको भनाइ छ । बजारमा सीजी, हिमस्टार, लक्की,ओर्लपुललगायतका हिटर बढी खपत भएका छन् ।
चिसोसँगै हिटरको बिक्री ३० देखि ३५ प्रतिशतसम्मले वृद्धि भएको सिजी इलेक्ट्रोनिक्सका सेल्स म्यानेजर मनमोहन झाले बताए । उनका अनुसार बजारमा सिजीले तीन किसिमका हलोजन, ग्यास तथा बिद्युतिय र फ्यान हिटर ल्याएको छ । यसको मूल्य ११ सय देखि १२ हजार रुपैयाँसम्म पर्ने उनले बताए । उनले भने ‘ग्यासबाट चल्ने भन्दा पनि अहिले लोडसेडिङ नहुने हुदा विजुलीबाट चल्ने हिटर बढी माग छ ।’ सीजीले सामान्य १२ वाट देखि २ हजारवाट क्षमताको हिटर बजारमा ल्याएको छ ।
त्यस्तै, हिम इलेक्ट्रोनिक्सले १२ सय देखि करिब १५ हजार रुपैयाँसम्मका हिटर बिक्री गर्दै आएको छ । कम्पनीको ग्यास हिटरको मूल्य ७ हजार २ सय, ग्यास तथा विद्युतीय हिटरको ८ हजार ४ सय, हलोजिन हिटरको १५ सयदेखि २२ सय र हट एयर ब्लोअरको १२ हजार ५ सयदेखि १४ हजार ५ सय रहेको छ ।
विद्युत÷ग्यासबाट मात्र चल्ने हिटरको तुलनामा मूल्य धेरै अन्तर नभएकाले ग्यास र बिजुलीबाट चल्ने हिटर माग बढेको हिम इलेक्ट्रोनिक्सका सेल्स म्यानेजर चन्द«मणि आर्चायले बताए । उनले भने, ‘लोडसेङिको समस्या छैन । तर, पनि ग्यास तथा विद्युत दुवैबाट चल्ने हिटरको बजारमा माग बढेको छ ।’