काठमाडौं । सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठकले आगामी प्रक्रियाका बारेमा छलफल सुरु गरेको छ।
कार्यविधि तयार भएपछि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा समितिको बैठकले सहकारी प्रकरणको छानबिन प्रक्रिया अगाडि बढाउने विषयमा छलफल गरेको हो।
आइतबार बसेको बैठकले कार्यादेश निर्माणका लागि गठित समितिका सदस्यसँग समेत छलफल गरी कार्यविधि तयार पारेको थियो।
बैठकमा २० वटा समस्याग्रस्त सहकारीका सन्दर्भमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्यसचिवले लिखित प्रतिवेदन बुझाएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।
बाँकी अनुसूचीमा रहेका २९ वटा समस्याग्रस्त सहकारीका विषयमा सहकारी विभागबाट जानकारी लिइएको उनले बताए।
बैठकमा सहकारी क्षेत्रमा समस्या आउनुको कारणबारे छलफल भएकाे र समितिमा प्राप्त सहकारीको प्रतिवेदनका आधारमा छलफल अघि बढाइने उनकाे भनाइ छ।
समितिले बजेटमार्फत पाँच लाखसम्मको बचतकर्ताको रकम फिर्ता गर्ने व्यवस्थाबारे सहकारीमन्त्रीसँग छलफल गर्ने भएको छ।
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा संलग्न रहेको आरोप लगाएपछि एमाले सांसद सूर्य थापाको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको थियो।
समितिमा नेपाली कांग्रेसका ईश्वरी न्यौपाने र बद्री पाण्डे, एमालेकी सरिता भुसाल, नेकपा माओवादीका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुवबहादुर प्रधान सदस्य छन्।
जेठ १५ मा गठित कार्यदलले अध्ययन प्रतिवेदन बुझाउन तीन महिनाको समय पाएको छ।