काठमाडौं । सरकारले इलेक्ट्रोनिक्स भेहिकल (ईभी)को छुट्टै भाडादर निर्धारण गर्ने भएको छ। नेपालमा सार्वजनिक यातायातका रूपमा सन् १९९४ बाट विद्युतीय ‘सफा टेम्पो’ सञ्चालनमा छ। सफा टेम्पो सुरु भएको ३० वर्ष बित्दा पनि नेपालमा ईभी गाडीको छुट्टै भाडादर कायम भएको छैन। तर, अब यातायात व्यवस्था विभागले ईभी गाडीको भाडादर निर्धारण गर्ने विषयमा आन्तरिक छलफल थालेको छ।
पारिवारिक प्रयोजनका लागि नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट १० रुपैयाँ महसुल लिँदै आएकोमा चार्जिङ स्टेशनलाई प्रतियुनिट ७/८ रुपैयाँमा विद्युत उपलब्ध गराउँछ। सरकारले पनि विद्युतिय सवारी आयात गर्दा इन्जिन गाडीको तुलनामा भन्सार शुल्क कम लिएर ईभीलाई प्रोत्साहन गर्दै आएको छ।
तर, सार्वजनिक सवारी साधनमा भने इन्जिन र ईभी बसको भाडादर एउटै छ। इन्जिन गाडीको भाडादर स्वचालित मूल्य प्रणालीअनुसार लागू हुने गरेको छ। अर्थात् पेट्रोलियम पदार्थको प्रतिलिटर मूल्यमा ५ प्रतिशत घटबढ भएपछि सोहीअनुसार भाडादर परिवर्तन हुने भनिएको छ।
हाल अन्तरप्रदेश चल्ने सवारीको भाडा यातायात व्यवस्था विभाग र कुनै पनि सहरभित्र चल्ने (प्रदेश भर) सार्वजनिक सवारीको भाडादर सम्बन्धित प्रदेशले निर्धारण गर्छन्। ईभीका लागि छुट्टै नियम नहुँदा इन्जिन गाडीको भाडादरमा नेपालमा ईभी सवारी सञ्चालन भइरहेका छन्।
सरकारले ईभी सवारी प्रोत्साहनको नाममा छुट दिइरहने तर सर्वसाधारणले त्यसको लाभ लिन नपाउँदा ईभी गाडीको भाडा घटाउनुपर्ने विषय बेला–बेला उठ्ने गरेको छ। सोही कारण ईभीको छुट्टै भाडा निर्धारण गर्नु पर्ने आवश्यकता महसुस भएको विभागका महानिर्देशक उद्धव रिजाल बताउँछन्। अध्ययन नगरी ईभीको भाडादर घट्ने, बढ्ने विषय अहिले नै भन्न नमिल्ने उनको तर्क छ।
‘भाडा निर्धारणमा दुई वटा कुरा आएका छन्। एउटा ईभी सस्तो हुन्छ, त्यसैले भाडा सस्तो बनाउनु पर्छ र अर्को नेपालमा ईभी भर्खरै सुरु भएकाले प्रोत्साहन गरौं। भाडा निर्धारणतिर नजाऔं भन्ने छ,’ महानिर्देशक रिजालले भने।
यसरी हुन्छ भाडा निर्धारण
भाडा निर्धारण गर्दा गाडीको खरिद मूल्य, त्यसको मर्मत खर्च, सरकारले दिएको छुट, अन्य जोखिम, कर्मचारी खर्चलगायत सबै पक्षलाई हेर्नुपर्छ। यी सबै पक्षमा एउटा बसले आफ्नो जिवनकालमा गर्ने कुल खर्च र सञ्चालन क्षमता एवं आम्दानीलाई आधार मानेर भाडा निर्धारण हुने महानिर्देशक रिजाल बताउँछन्। त्यसैले अहिले नै ईभी गाडीको भाडा बढ्छ वा घट्छ भन्न नसकिने उनको भनाइ छ।
सजिलो छैन भाडा निर्धारण
ईभी गाडी विश्व बजारमै नयाँ भएकाले त्यसका जोखिमको विषयमा धेरै जानकारी बाहिर आएको छैन। बिग्रिएपछि मर्मत गर्न मिल्छ वा पूरै सामान फेर्नुपर्छ, फेर्दा कतिसम्म खर्च हुन्छ, अहिले देखेजस्तो सजिलो हुन्छ कि हुँदैन भन्ने विषय भाडा निर्धारणका लागि चुनौतीपूर्ण छ।
सरकारले ईभी सवारी प्रोत्साहनको नाममा छुट दिइरहने तर सर्वसाधारणले त्यसको लाभ लिन नपाउँदा ईभी गाडीको भाडा घटाउनुपर्ने विषय बेला–बेला उठ्ने गरेको छ।
‘विश्वभर ईभी नयाँ प्रयोग हो। ब्याट्री पड्किन्छ वा राति बन्द गरेर राखेको बिहान ‘स्टार्ट’ नहुन सक्ला। मर्मत गर्ने सामानको व्यवस्थापन गर्न सकिन्छ कि सकिँदैन भनेर ख्याल गर्नुपर्छ,’ क्यापिटल नेपालसँग महानिर्देशक रिजालले भने।
ईभीको भाडा निर्धारणका विषयमा गत वर्षदेखि छलफल हुँदै आएको उनको भनाइ छ। विभाग पनि त्यसबारे आन्तरिक छलफलमा जुटेको उनले जानकारी दिए। ‘हामी छलफल गर्दै र्छौं तर एजेण्डा बनाइसकेका छैनौं,’ उनी भन्छन्, ‘हामीले सरकार (मन्त्रिपरिषद) लाई प्रस्ताव गर्ने हो। भाडा बढाउने मुख्य विषय राजनीतिक निर्णयमा भर पर्छ।’
पछिल्ला केही वर्षयता वातावरणीय स्वच्छता कायम गर्न विश्वव्यापी रूपमै इन्धन गाडीको सट्टा ईभीलाई प्राथमिकता दिइन थालिएको छ। सोही कारण ईभी ब्रान्डका विभिन्न गाडी बजारमा उपलब्ध छन्। नेपालमा पनि ईभी गाडीको संख्या उल्लेख्य बढ्दै छ।
विद्युत उत्पादनका दृष्टिले पनि नेपालमा ईभी गाडी प्रयोगमा सहज हुने सरोकारवाला बताउँछन्। हाल सरकारी र निजी क्षेत्रबाट गरी दैनिक ३२ सय मेगावाट विद्युत उत्पादन भइरहेको स्वतन्त्र ऊर्जा उत्पादकहरुकको संस्था नेपाल (इप्पान)ले जनाएको छ। बर्खामा उत्पादन बढेर ३५ सय मेगावाटसम्म पुग्ने अनुमान इप्पानको छ।
सफा टेम्पोपछि निजी क्षेत्रबाट सुन्दर यातायातले २०७६ भदौ २३ बाट सार्वजनिक ईभी गाडी सञ्चालनमा ल्याएको थियो। सुन्दर यातायात निजी क्षेत्रबाट नेपालमा सार्वजनिक ईभी गाडी चलाउने पहिलो कम्पनी हो। हाल १९ वटा ठूला (३५ र ४० सिटे) बस र १३ वटा साना (११ र २० सिटे) बस सञ्चालन भइरहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा बताउँछन्। काठमाडौं उपत्यकासहित सिन्धुली, रामेछाप, जनकपुर, रुपन्देही, चितवनलगायत ठाउँमा सुन्दर यातायाताका विद्युतीय सवारीले सेवा दिइरहेका छन्।
साझा यातायातले २०७९ असारबाट काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन गर्दै आएको छ। सुरुमा ३ वटा विद्युतीय बसलाई परीक्षणका रुपमा सडकमा गुडाएको साझाले हाल ४० वटा बस सञ्चालन गरिसकेको छ। उपत्यका बाहिर पनि ईभी सवारी चलाउन खरिदका लागि ठेक्का आह्वान भएको छ। जेठ २८ मा २५ माइक्रो र ५ वटा इलेक्ट्रिक स्कुटर खरिदका लागि साझाले ठेक्का आह्वान गरेको हो। २५ वटा माइक्रोमध्ये अधिकांश उपत्यका बाहिर सञ्चालन गर्ने योजना रहेको कम्पनीका सहायक प्रबन्धक जनक रिसाल बताउँछन्।
यसबाहेक साझाले २०८१ वैशाखबाट एउटा इन्जिन गाडीलाई ईभीमा परितवर्तन गरेर सफल परीक्षण गरिसकेको छ। तर, इन्जिनबाट ईभीमा परिवर्तन भएको गाडी सञ्चालनको मापदण्ड नबन्दा साझाले उक्त बस सडकमा गुडाउन पाएको छैन। साझासहित अन्य कम्पनीले इन्जिन गाडीलाई ईभीमा परिवर्तन गरे पनि सञ्चालन मापदण्ड नहुँदा गुडाउन पाएका छैनन्। यातायात व्यवस्था विभागले इन्जिन गाडीलाई ईभीमा परिवर्तन गर्ने मापदण्ड बनाउँदै छ।