काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मुलुकमा राजनीतिक स्थायित्व नभएकै कारण निर्माणलगायतका अन्य उद्योगमा समस्या देखिएको बताएका छन्।
नेपाली युवा निर्माण व्यवसायीको छाता संस्था युथ कम्युनिटी फर नेपलिज कन्ट्रयाक्टर्स (वाइसीएनसी)को १०औं वार्षिकोत्सव अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री महासेठले उद्योगको विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताका हुन्।
महासेठले निर्माण व्यवसायीको भुक्तानी रोकिएको स्वीकार्दै असार मसान्तसम्म जसरी पनि रकम भुक्तानी गरिने प्रतिबद्धता जनाए। व्यवसायीले पाउनु पर्ने रकमको यकिन तथ्यांक नहुँदा पनि भुक्तानीमा केही समस्या देखिएको उनले बताए।
निर्माण उद्योगको विकासका लागि समायानुकुल ऐन कानुन परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याउँदै अब निर्माणसम्बन्धी ऐन कानुन संशोधन गर्दा निर्माण व्यवसायीलाई अनिवार्य संलग्न गराइने जानकारी उनले दिए। उनले विदेशी निर्माण व्यवसायीलाई स्वदेशी व्यवसायीले विस्थापित गर्नैपर्ने धारणा राखे।
पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य विक्रम पाण्डेले ‘सिस्टम’ मा बसेर मुलुकमा केही गर्न सक्ने अवस्था नरहेको भन्दै निर्माण उद्योगसहित सबै क्षेत्रमा उस्तै विकराल समस्या रहेको बताए। आम्दानीको तुलनामा मुलुकको खर्च बढ्दै गएकाले निजी क्षेत्र मारमा परेको पाण्डेको भनाइ थियो।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको हितमा काम गर्न राजनीतिक नेतृत्व चुकेको बताए। आर्थिक वर्ष २०८१/८२ को बजेटबाट निर्माण उद्योगको समस्या समाधान नभएपछि निर्माण क्षेत्र चलायमान नहुँदा आर्थिक समस्या चुलिएको उनले टिप्पणी गरे।
नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार एवं पूर्वअध्यक्ष रमेश शर्माले निर्माण उद्योग शिथिल भएकाले नै मुलुकको समग्र अर्थतन्त्र बिग्रिएको बताए।
महासंघका अर्का सल्लाहकार एवं पूर्वअध्यक्ष जयराम लामिछानेले प्रशासनतन्त्र असहयोगी हुँदा निर्माण व्यवसायीमाथि चुनौतीका चाङ थपिएको धारणा व्यक्त गरे।
युथ कम्युनिटी फर नेपलिज कन्ट्रयाक्टर्स (वाइसीएनसी)का अध्यक्ष सुशील कुमार श्रेष्ठले निर्माण उद्योगलाई मर्यादित एवं व्यवस्थित बनाउन युवा व्यवसायी कटिबद्ध रहेको बताए।
वाइसीएनसीका कार्य समिति सदस्य सौरभ शर्माले निर्माण उद्योगको समस्या र समाधानका उपायसहितको मन्तव्य राख्दै निर्माण उद्योगलाई राज्यले ठूलो उपेक्षा गरेको धारणा राखे।
वाइसीएनसीका पूर्वअध्यक्ष निकोलस पाण्डेले सञ्चालन गरेको प्यानल डिस्कसनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, नायव महालेखा परीक्षक घनश्याम पराजुली, अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख रितेशकुमार शाक्य, नेपाल बैंकर्स एसोएसनका अध्यक्ष सुनिल केसी र वाइसीएनसीका पूर्वअध्यक्ष आनन्दप्रसाद सुवेदीबीच निर्माण उद्योगका विविध समस्याबारे अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा वाइसीएनसीले नेपालका लागि किर्गिज गणतन्त्रको अवैतानिक महावाणिज्यदूत नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार एवं पूर्वअध्यक्ष रमेश शर्मालाई सम्मान गरेको थियो।