काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा चार निर्वाचन क्षेत्रबाहेक अन्यत्र आयोजना नसमेटिएको आरोप लगाउँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयगत बजेटको पुस्तिका च्यातेका छन्।
सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै सांसद राजेन्द्र लिङ्देनले संसदको रोस्ट्रममै बजेट पुस्तिका च्यातेका हुन्। बजेटमाथिको छलफलमा भाग लिँदै लिङ्देनले भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यात्नुपर्नाको कारणसमेत रोस्ट्रमबाटै दिए।
लिङ्देनले प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गरिएको आरोप लगाए।
उनले भने, ‘म कम आक्रोश पोख्ने, कम रिसाउने मान्छे हो। कहिलेकाहीँ रिस पनि उठ्छ तर एकछिनपछि सेलाउने र मन बुझाउने खालको मान्छेको रूपमा आफूलाई ठान्छु। तर, जब यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पुस्तिका हातमा प¥यो। त्यस दिनदेखि म यसरी तातिएको छु कि यो यसरी च्यातेर यसरी हु¥याउने मन थियो। संसदीय मर्यादाविपरीत हुन्छ भन्ने थाहा भए पनि च्यातेर राखें।’
अध्यक्ष लिङ्देनले बजेट पुस्तिका च्यातेपछि विपक्षी दलका सांसदले टेबुल ठोकेर समर्थन गरे। उनले जिल्लाको नाम धेरै राखेको भनेर टिप्पणी हुन्छ भनेर ठेगानासमेत नलेखेर योजनामा बजेट राखिएको भन्दै आक्रोश पोखे।
‘राज्यस्रोतमाथि यस प्रकारको मनपरी कति दिन सहेर बस्ने हो? यो सरासर सत्ताको दुरुपयोग हो,’ लिङ्देनले भने।
लिङ्देन यसअघिको २०७९ माघमा उपप्रधानसहित ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भएका थिए। उनले करिब डेढ महिना ऊर्जा मन्त्रालय सम्हालेका थिए। गठबन्धन बदलिएसँगै राप्रपा सरकारबाट बाहिरिएको थियो। उनले जम्मा डेढ महिना मात्रै ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
आगामी आर्थिक वर्ष २०८१/८२ काे बजेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली, अर्थमन्त्री वर्षमान पुन र सहरी विकासमन्त्री धनबहादुर बूढाकाे निर्वाचन क्षेत्रमा बजेट खन्याइएकाे भन्दै अालाेचना भइरहेकाे छ।