काठमाडौं। पेयपदार्थ ब्रान्ड कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोस्रो चरण सुरु हुने भएको छ।
‘सक्षम’ नेपालभरका महिला उद्यमीलाई सशक्तीकरण गर्न २०२२ मार्च ८ मा एटेलियर प्लेटफर्म प्रालिको सहकार्यमा कोका–कोला नेपालले सुरु गरेको थियो। हालसम्म सक्षमद्वारा २,००० बढी महिलाले सशक्तीकरण तथा उद्यमशीलताको तालिम प्राप्त गरिसकेको कम्पनीले जनाएको छ।
कोका–कोला नेपालका निर्देशक चन्द्रिका कालियाले भनिन्, ‘नेपालमा महिला उद्यमीलाई थप सशक्त बनाउँदै सक्षम कार्यक्रमको दोस्रो चरणको यात्रा जारी राख्न पाउँदा खुसी छौं। नवप्रवर्तन, दिगोपन र समावेशीतालाई प्रवर्द्धन गर्नेे अवसर सिर्जना गर्नुपर्नेमा विश्वास गर्छौं। सक्षममार्फत नयाँ उद्यमीलाई सहयोग गर्ने मात्र नभई देशको आर्थिक र सामाजिक विकासमा पनि योगदान पुर्याउने लक्ष्य राखेका छौं।’
सक्षम कार्यक्रममा विशेषज्ञद्वारा महिला नेतृत्व, कम्पनी वैधता, वित्त पहुँच र सर्कुलर अर्थतन्त्रजस्ता विभिन्न सत्र सञ्चालन गरिएका थिए। दुई महिने कार्यक्रममा लैंगिक अधिकार, नेतृत्व, जलवायु परिवर्तन, कानुनी प्रक्रिया, मार्केटिङ, वित्तलगायत विभिन्न विषयका सत्र समावेश थिए।
कार्यक्रममा कृषि, हाइड्रोपोनिक्स, मानसिक स्वास्थ्य, सांस्कृतिक सम्पदा प्रवर्द्धन, प्रविधि र अन्य विषयको प्रतिनिधित्व गर्ने ४० बढी महिलाले आवेदन दिएका थिए। आवेदक ४० मध्येबाट १० उत्कृष्ट महिलालाई कार्यक्रममा समावेश गरिएको छ।
नवीन विचारलाई प्रभावकारी उद्यममा रूपान्तरण गर्न इच्छुक यी महिलालाई उक्त कार्यक्रममा विभिन्न स्रोत–साधन तथा विज्ञ उपलब्ध गराइनेछ।
यस वर्ष सक्षम कार्यक्रमको तेस्रो सशक्तीकरणलाई नेपालभर जारी राख्दै थप १,००० महिलालाई कोका–कोलाको संजालमा जोड्ने तयारी छ।
कोका–कोलाले बोटलर्स नेपालसँगको सहकार्यमा महिला खुद्रा बिक्रेता र साना रेस्टुरेन्ट व्यवसायलाई वित्तीय साक्षरता, आतिथ्यता र सरसफाइ व्यवस्थापनसम्बन्धी तालिममार्फत सहयोग गर्दै आएको छ।