काठमाडौं । विश्व बैंक समूहको अन्तर्राष्टिय विकास संघको आइडा२१ तेस्रो रिप्लेनिसमेन्ट बैठक शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलवार बिहान काठमाडौंको सोल्टी होटेलमा बैठकको उद्घाटन गरेका छन् ।
विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठूलो बैठक हो । शुक्रवारसम्म चल्ने (१८ जुन देखि २१ जुन २०२४) बैठकले आइडाले न्यून आय वर्गका मुलुकलाई गर्ने भावी सहयोगको रणनीति तय गर्ने छ ।
बैठकमा विश्ववैंकका वरिष्ठ प्रवन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गलगायत उच्च पदस्थ पदाधिकारी सहित ६१ देशका करीब २०० भन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।
आगामी ३ वर्षका लागि आइडीए देशलाई प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता तथा प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र सो को लागि आवश्यक वित्तीय स्रोतको प्रतिवद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैकका उच्च पदस्थ पदाधिकारीहरु बीच ४ दिनसम्म प्रविधिक सत्रमा छलफल हुने बताइएको छ ।
सो अवसरमा बैठकमा सहभागीहरुबाट विश्व बैंकसमेतका सहयोगमा नेपालमा सञ्चालित शिक्षा, खानेपानी, पुनर्निमाण, उर्जा, जलवायु लगायतका क्षेत्रसंग सम्बन्धित विभिन्न ९ वटा आयोजनाहरुको समेत स्थलगत भ्रमण हुनेछ । नेपालमा सञ्चालन भएका आयोजनाको प्रगति र अवस्था बारे विश्व समुदायलाई नजिकबाट देखाउन र बुझाउन यसले अवसर प्रदान गर्नेछ ।
दक्षिण एशिया मै पहिलो पटक आयोजना हुन लागेको विश्व बैकको उक्त प्रकृतिको उच्च स्तरीय बैठकको तयारी सम्पन्न भएको अर्थ मन्त्रालयले जनाएको छ ।
यस बैठकको आयोजनाबाट नेपालको विकास अनुभव र सफल मोडलको जानकारी विश्व समुदायलाई हुने, नेपालका विकास प्राथमिकतालाई आइडीएको नीति प्रथमिकतासँग तादम्य गराउन अवसर मिल्ने, अन्तराष्ट्रिय स्तरमा पहिचान बढने, आगामी दिनमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरका ठूला कार्यक्रम सञ्चालन गर्न आत्मविश्वास बढ्ने, पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।