काठमाडौं । यशोदा फुड्स प्रालिले आफ्ना उत्पादनको गुणस्तरमा कुनै कमी नरहेको जनाएको छ। बदनाम गराउन केही दिन यता कपोकल्पित समाचार प्रकाशन भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै कम्पनीले त्यस्ता समाचारको पछाडि नलाग्न आग्रह गरेको हो।
'उत्पादन गुणस्तरमा विशेष सजगता अपनाएका छौं। उद्योग स्वच्छ व्यापारिक प्रतिस्पर्धाबाट अगाडी बढ्न चाहन्छ। कुनै कपोलकल्पित फण्डा तयार गरी आम उपभोक्ताको भावनामा माथि खेलबाड नगरेको, गर्न नचाहेको तथा त्यस्ता तत्त्वप्रति सचेत रहेका छौं। उद्योगलाई बदनाम गराउन प्रायोजित रूपमा प्रमाण बिना भ्रामक समाचार तयार गरी प्रसारण गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको छ,' कम्पनीले भनेको छ।
मनगढन्ते, कपोलकल्पित र काल्पनिक हल्लाको पछाडि नलागी उद्योगका उत्पादनको उत्पादन मिति हेरेर ढुक्कसँग उपभोग गर्न र बजारमा म्याद समाप्त भएका अर्थात् उपभोग मिति समाप्त भएका उत्पादन प्रयोग नगर्न कम्पनीको आग्रह छ।
कपोलकल्पित समाचार प्रसारण गर्नेविरुद्ध प्रचलित कानुन बमोजिम कारबाहीका लागि उद्योगले कदम चालिसकेको समेत जनाएको छ।
कम्पनीले चाउचाउलगायत खाद्य सामग्री उत्पादन गर्दै आएको छ। कम्पनीले करिब १ हजार हाराहारीमा कर्मचारी कार्यरत रहेको समेत जनाएको छ।
आफ्ना उत्पादन स्वदेशका साथै विदेशमा भारत, जापान, युएई, बहराइन, न्यूजिल्याण्ड, अमेरिका, अस्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानडा, इटालीलगायत देशमा निर्यात भइरहेको कम्पनीले जनाएको छ।