काठमाडौं । मुलुकभित्र रोजगारी अभावका कारण विदेश जाने नेपाली युवाशक्तिको संख्या दिनहुँ बढ्दो छ। वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ६ लाख ८२ हजार पुगेको हो।
विभागले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार चालू आव २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म ६ लाख ८२ हजार ३८६ नेपाली विदेश रोजगारीमा गएका छन्। विभागले जेठमा मात्रै ७२ हजार ६ सय ८१ जना विदेश रोजगारीका लागि गएको जनाएको छ।
६४ हजार ८ सय ८६ पुरुष र ७ हजार ९ सय ७५ महिला बैदेसिक रोजगारीमा गएको तथ्यांक विभागले प्रकाशित गरेको हो। यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या रहेको विभागले जनाएको छ।
गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार थियो। रोजगारीको खोजीमा विदेश जाने नेपालीको घट्नुको साटो दिनहुँ बढ्दै गएको विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदी बताउँछन्।
उनका अनुसार नेपालीको पहिलो श्रम गन्तव्य खाडी मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ। जेठ मसान्तसम्म यूएईका लागि १ लाख ७४ हजार ९१७ जनाले श्रम स्वीकृति लिएका छन्। हाल रोजगारी बन्द रहेको मलेसियामा जेठसम्म ८७ हजार नेपाली रोजगारीका लागि पुगेका छन्।
जेठमा यूएईमा रोजगकारीका लागि जाने नेपालीको संख्या २० हजार ४२४ जना रहेको विभागको तथ्यांकले देखाएको छ।
यस्तै जेठमा कतारमा ११ हजार ९७३, साउदीमा १३ हजार ३६६ र कुवेतमा ३ हजार ४३२, युरोपेली मुलुक क्रोएसियामा २ हजार ९२२, रोमानियामा १ हजार ९४६, पर्चुगलमा १३९ जना नेपाली रोजगारीका लागि पुगेका छन्।