सधैंभरि सुटिङमा व्यस्त हुने कलाकार पछिल्लो समय साहसिक पर्यटकीय गतिविधिमा पनि सक्रिय हुन थालेका छन्। कलाकारले दर्शक/स्रोतालाई सन्तुष्टि दिलाउन मिहिनेत र मनोविज्ञान दुवैलाई सँगै अगाडि बढाइरहेका छन्। दर्शक चाहनाअनुुसारको सिर्जना गर्ने कलाकारहरु कहिले बञ्जी गर्दै गरेका भेटिन्छन् त कहिले उर्लंदो नदीमा र्याफ्टिङ गरेका देखिन्छन्।
नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले कलाकारको एड्भेन्चर मोहले नेपालमा मात्र हैन, विश्वभर पर्यटन प्रचारमा सहयोग पुगिरहेको बताए। ‘कलाकारका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा फ्यान हुने गरेका छन्,’ रेग्मीले भने, ‘उनीहरुले एड्भेन्चर गतिविधि गर्दा पोस्ट्याएको एउटा फोटो र भिडियो लाखौंले हेर्दा प्रचारमा ठूलो सहयोग पुग्छ।’
द क्लिफका अध्यक्ष राजु कार्की कलाकार एड्भेन्चर टुरिजमसम्बन्धी गतिविधिमा सक्रिय हुँदै गर्दा आफू मात्रै रमाएका छैनन्, मुलुकको पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको ठान्छन्। कलाकारले सञ्चारका विभिन्न माध्यमबाट पर्यटन प्रवद्र्धनसमेत गरिरहेका छन्। पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा साहसिक पर्यटनसम्बन्धी गतिविधि बढ्दै जाँदा कलाकारको सक्रियता पनि बढेको देखिन्छ। त्यसैले त बञ्जीजम्प, हट एयर बेलुन, प्याराग्लाइडिङ, जीपलाइन तथा र्याफ्टिङलगायत गतिविधिमा उनीहरुको सहभागिता बढेको देखिन्छ।
कलाकारले सामाजिक सन्जालमा राखेका फोटो र भिडियो हेरेर उनीहरुका फ्यान थपिने प्रवृत्ति बढेको नगरकोट जीपलाइनका सञ्चालक केदार थापाको भनाइ छ। ‘अहिले टिकटक बन्द भएर प्रचारमा अझ समस्या छ,’ सञ्चालक थापाले भने, ‘नत्र कलाकारले बनाउने टिकटकको माध्यमबाट झनै प्रभावकारी प्रचार हुने गरेको थियो।’ विदेश जाँदा विभिन्न एड्भेन्चर गतिविधिमा रमाउने कलाकार नेपालमै उपलब्ध हुँदा उत्साह छाएको बताउँछन्।
पूजा शर्मा
म धेरैपल्ट साहसिक पर्यटनका गतिविधिमा सहभागी भइसकेकी छु। जीपलाइन, बञ्जीजम्प, र्याफ्टिङ गरिसकेकी छु। र्याफ्टिङ गर्दा सुरुमा निकै डर लागेको थियो। त्रिशूली रिभरसाइड रिसोर्टमा जाँदा डरले सुरुमा र्याफ्टिङ गर्नै मन लागेको थिएन। डुंगा पल्टिन्छ कि भन्ने डरले र्याफ्टिङ गर्न मन लागेन। पछि साथीहरुले मनाएपछि आत्मविश्वास बढ्यो। जसै डुंगा अगाडि बढ्यो, डर हट्दै गयो। रमाइलो सुरु हुँदै गयो। र्याफ्टिङका क्रममा र्यापिड (भंगालो) आउँदा पानीको सप्लासले हान्ने रहेछ। त्यसले झन रोमाञ्चकपन दिँदोे रहेछ। पछि त पानीको छाल अझै आए हुन्थ्यो भन्ने लाग्यो। लाइफ ज्याकेटले शरीरलाई तैराउँदो रहेछ। हामीले बेलाबखत जम्प गरेर पौडीसमेत खेल्न भ्यायौं। त्यो क्षण मेरा लागि ‘एक्स्पेक्टेक्सन भर्सेस रियालिटी’ जस्तो थियो। सुरुमा निकै डर लागे पनि गन्तव्य टुंग्याउँदा मनभरि रमाइलो पल लिएर फर्किएकी थिएँ।
कलाकार एड्भेन्चर टुरिजम गतिविधिमा सक्रिय हुँदै गर्दा आफू मात्रै रमाएका छैनन्, मुलुकको पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदानसमेत पुर्याएका छन्। कलाकारले सञ्चारका विभिन्न माध्यमबाट पर्यटन प्रवर्द्धनसमेत गरिरहेका छन्। मुलुकका विभिन्न क्षेत्रमा साहसिक पर्यटनसम्बन्धी गतिविधि बढ्दै जाँदा कलाकारको सक्रियता पनि बढेको देखिन्छ।
प्रताप दास
म केही समयअघि मात्रै धुलिखेलस्थित जीपलाइन गएको थिएँ। जीपलाइनका लागि सुरुमा तयार थिइनँ। साथीहरुले रमाइलो हुन्छ, जाऔं भनेपछि गएको हुँ। जीपलाइन सकाएपछि निकै रमाइलो अनुभव भयो। जीपलाइन गर्ने बेला कुहिरोले वातावरण छोपिएको थियो। सुरुमा कुहिरोभित्र के रमाइलो होला भन्ठानेको थिएँ तर कुहिरोका बीच जीपलाइन गर्नुको मज्जा छुट्टै हुँदो रहेछ।
प्रकाश सपुत
साहसिक पर्यटन गतिविधिमा भाग लिन मलाई निकै मन लाग्छ। केही समयअघि घर (बाग्लुङ)जाँदा कुश्मास्थित क्लिफमा आमाबुबासँग पुगेको थिएँ। त्यहाँ हामीले स्काई क्याफे र स्काई चेयरमा बसेर रमाइलो गरेका थियौं। क्लिफमा निर्माण गरिएका संरचना निकै राम्रो पाएँ। क्लिफकै कारण पर्वत/बागलुङ आसपास पर्यटकीय गतिविधि बढेका छन्। आर्थिक गतिविधि पनि बढेका छन्। यसले त्यस क्षेत्रका जनताको आयस्रोत बढाएको पाएँ।
नाजिर हुसेन
मैले केही समयअघि द क्लिफ गएर बञ्जीजम्प गरेको थिएँ। विश्वकै दोस्रो अग्लो बञ्जीजम्पमा मैले जीवनमा पहिलो पटक बञ्जी गर्दै थिएँ। पुलदेखि खोलासम्मका २२८ मिटरको दूरी हेर्दा सुरुमा निकै नर्भस ‘फिल’ भयो। भिडियोमा हेर्दा सजिलै लाग्ने बञ्जीजम्प त्यहाँ पुगेपछि मात्रै थाहा हुने रहेछ– यसका लागि कति साहस चाहिन्छ भनेर। डोरीको सहायताले कसरी जम्प गर्न सकिएला भन्ने लागेको थियो। पछि मुटु दह्रो बनाएर जम्प गरें। पछि निकै रमाइलो अनुभूति भयो।
रिमा विश्वकर्मा
नेपाल आइडलको अडिसनका सिलसिलामा पोखरा जाने अवसर मिलेको थियो। त्यही समय हट एयर बेलुनमा उडान गरेकी थिएँ। सुरुमा बेलुनमा अकासमाथि उड्दै जाँदा कस्तो होला भन्ने लागेको थियो। यो निकै सुरक्षित र रोमाञ्चक पनि हुने रहेछ। सानी छँदा बेलुनमा हावा फुकेर उडाउँथें। यति सानो बेलुनमा कसरी मान्छे उभिन्छन् होला भन्ने लाग्थ्यो। तर, यो बेलुन ठूलो हुने रहेछ। ग्यास बालेर तातो हावाको सहायतामा उडान भरिने रहेछ। पाइलटले पनि एयर ट्राफिक कन्ट्रोलरसँग निरन्तर सम्पर्क गर्दै उडाउने रहेछन्। हावाको गतिसँग बिस्तारै अकासमा घुम्न पाइने यो खेल अन्य साहसिक गतिविधिभन्दा निकै फरक लाग्यो। पोखरा पुग्ने जोकोहीलाई एकपटक हट एयर बेलुनको अनुभव लिन आग्रह गर्र्न चाहन्छु। यो छनोटको पर्यटकीय गतिविधि हुन सक्छ।
वर्षा शिवाकोटी
केही समयअघि द क्लिफ पुगेर स्काई साइक्लिङ र स्काई क्याफेको अनुभव लिएकी थिएँ। विश्वकै अग्लो र लामो व्यावसायिक स्काई रोप साइक्लिङ भएको ठाउँ पुगेर साइकलिङ गर्दा निकै रमाइलो अनुभव भयो। स्काई साइक्लिङ गर्दा डरले प्याडलै चलाउन नसकेको क्षण अहिले सम्झँदा पनि मनै सिरिंग हुन्छ। त्यो बेला म यही अड्किन्छु कि भन्ने लागेको थियो। तर, प्याडल चलाउन नसकेपछि उद्धार सजिलै हुँदो रहेछ। सुरक्षाका हिसाबले राम्रो भएको पाएँ। अहिले समझदा दुईतर्फी गरी ६ सय मिटर लामो स्टीलको डोरीमा कसरी साइक्लिङ हुन्छ भनेर छक्क पर्छु।
समृद्धि राई
कोरोना महामारीका कारण घरभित्रै थुनिएका हामीले लकडाउन खुकुलो हुनेबित्तिकै बागलुङको कुश्मास्थित द क्लिफ जान पाउँदा निकै उत्साही थिएँ। म र साथीहरु द क्लिफमा क्यानोनिङ स्वीङ गर्न जाँदै थियौं। लामो समयपछि घरबाहिर घुम्न निस्कन पाउँदा जति खुसी थिएँ, त्योभन्दा बढी क्यानोनिङ स्वीङ गर्न पाउँदा त्यति नै खुसी थिएँ। द क्लिफमा सोही दिनबाट क्यानोनिङ स्वीङ सुरु हुँदै थियो। पहिलो दिन क्यानोनिङ स्वीङ गर्न पाउँदा उत्साही भएकी थिएँ।
दुई पटक स्काई डाइभिङ र पटक–पटक बञ्जीजम्प गरेकी मलाई क्यानोनिङ स्वीङ सबैभन्दा साहसिक लाग्यो। मैले आजका दिनसम्म क्यानोनिङ स्वीङ गरेको अहिलेसम्मकै साहसिक पर्यटकीय गतिविधि हो। त्यसबाहेक द क्लिफमा पूर्ण रुपमा नेपाली लगानीकर्ताको लगानी हुनु निकै खुसी लाग्यो। द क्लिफ टिम योजना, व्यवस्थापन र पर्यटकीय गतिविधिमा भएको लगानीबाट निकै प्रभावितसमेत भएकी थिएँ।