काठमाडौं । मनसुन सक्रिय नहुँदा मध्य तथा पश्चिमी तराईका जिल्लामा अत्यधिक गर्मी बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अझै तीन दिन ६ असारसम्म ती क्षेत्रमा गर्मी उच्च नै रहने छ।
बुलेटिन जारी गर्दै तातो हावा तथा तातो लहरको सम्भावना ६ असारसम्मै रहेको जनाएको छ। यसको असरबाट बच्न आवश्यक तयारी गरी सतर्कता अपनाउनसमेत विभागको आग्रह छ।
मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनी मनसुन सक्रिय नहुँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना रहेको बताउँछन्।
पूर्वी क्षेत्रमा मनसुन सक्रिय हुँदा पूर्वबाट पश्चिम बहने हावा सक्रिय हुन सकेको छैन। तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने समस्या देखिने भएकाले उच्च सावधानी अपनाउन माहाशाखाको आग्रह छ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने गर्नुपर्ने महाशाखाको भनाइ छ।