काठमाडौं। राजधानीमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय विकास संस्था (आईडा) को बैठकमा भाग लिन विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनवर्ग नेपाल आइपुगेका छन्। आईडा बैठक असार ४ देखि काठमाडौं सुरु हुँदै छ।
विश्व बैंक समूहले प्रेस विज्ञप्ति जारी गर्दै मंगलबारदेखि सुरु हुन लागेको आईडा–२१ बैठकको अध्यक्षता गर्न तथा उच्चस्तरीय भेटघाटका लागि विश्व बैंकका वरिष्ठ निर्देश्क आज काठमाडौं आएको बताएको हो।
पाँचदिने नेपाल भ्रमणका क्रममा वरिष्ठ प्रबन्ध निर्देशक एक्सेलले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री वर्षमान पुन, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न विकास साझेदारलगायतसँग भेट गर्नेछन्।
उनले २०७२ भूकम्पपछि आईडाको सहायतामा पुनःनिर्माण भएको काभ्रेको रविओपी क्षेत्रको अवलोकन भ्रमणसमेत गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ।
विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थाको थर्ड रेप्लेनिसमेन्ट बैठक अर्थात् आईडा–२१ असार ४ देखि ७ सम्म काठमाडौंमा हुँदै छ। आइडा–२१ बैठकले न्यून आय भएका राष्ट्रहरुका लागि सहुलियतपूर्ण वित्तीय स्रोत परिचालन गर्न कस्तो नीति तथा मार्गदिशा तय गर्ने भन्नेबारे महत्त्वपूर्ण निष्कर्ष निकाल्नेछ।
बैठकमा विश्वव्यापी विकास लक्ष्य पूरा गर्न प्रयोग गरिने स्रोत संकलन र नवीकरण गर्न दाता तथा ऋण लिने राष्ट्र एकै ठाउँमा बसेर छलफल गरी आगामी रणनीति तयार गर्नेछन्।
सन् १९६० मा स्थापना भएको आईडा विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो। यसले न्यून र मध्यम आय भएका विश्वका ७५ बढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको विश्व बैंक समूहको विज्ञप्तिमा उल्लेख छ।
नेपालको विकास साझेदार आईडाले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, कृषि, पूर्वाधारलगायत क्षेत्रमा वित्तीय सहायता उपल्रब्ध गराउँदै आएको छ।
प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने आईडा बैठककमा ७० देशका २०० बढी व्यक्ति सहभागी हुने निश्चित भएको अर्थ मन्त्रालयले जनाएको छ।