काठमाडौं । सरकारले उत्पादन बढी हुने ३३ नयाँ जातका उखुको बीउ भारतबाट ल्याउने तयारी गरेको छ । प्रचलनमा रहेको पुराना बिउबाट उत्पादकत्व कम भएपछि बढी उत्पादन हुने जातका बिउ भारतसँग अनुदानमा माग गरेको कृषि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रवक्ता हरिबहादुर केसीका अनुसार चिनी उद्योगहरु पर्याप्त उखु नपाएर बन्द हुने अवस्था आएकोले बढी उत्पादन हुने उखुको बिउ भारतबाट ल्याउन लागिएको हो । ‘हामीलाई उखुको नयाँ भेराइटी र बढी उत्पादन दिने बीउ चाहिएकाे छ । अहिलेको बीउ धेरै पुराना भए, यसको उत्पादकत्व निकै कम भयो भनेर हामीले भारतसँग औपचारिक अनुरोध गरेका छौं’ उनले भने, ‘अहिलेका उद्योगले उखु नपाएर बन्द हुने स्थितिमा रहेका छन् । मूल कुरा उत्पादकत्व बनाउनु नै आवश्यक छ ।’
गत आव २०७५/७६ मा १ लाख ६२ हजार मेट्रिक टन चिनी नेपाली उद्योगले क्रसिङ गरेका थिए । तर, नेपालको माग भने २ लाख ५० हजार मेट्रिक टन रहेको उद्यागीहरु बताउछन् । राष्ट्रिय उखु अनुसन्धान कार्यक्रमका संयोजक डा. तुफेल अख्तरका अनुसार अहिले प्रतिहेक्टर जमिनमा औसत उखुको उत्पादकत्व ४५.६७ टन छ । तर, भारतबाट ल्याउने नयाँ उखुको बीउको उत्पादकत्व प्रतिहेक्टरमा ५५ देखि ६० टन हुने उनको भनाई छ ।
त्यस्तै अहिले प्रतिक्विन्टल उखु क्रसिङबाट औसतमा साढे ९ केजी चिनी उत्पादन हुन्छ । तर, नयाँ जातको उखुले प्रतिक्विन्टल साढे १२ केजीसम्म चिनी क्रसिङ हुने संयोजक अख्तरले क्यापिटललाई बताए । नयाँ बिउको उत्पादन पछि उद्योगीहरुको माग अनुसार सम्पुर्ण उखुको उत्पादन नेपालमै गर्न सकिने उनको जिकिर छ ।
भारतबाट ल्याइने तयारी गरिएको बिउको उत्पादकत्व पुरानाभन्दा २० देखि २५ प्रतिशत बढी हुने उनको भनाई छ । उनका अनुसार नेपालमा प्रयोग भइरहेका बिउ १५ देखि २० बर्ष पुराना छन् । जसले गर्दा उखुको उत्पादन मात्रै होइन चिनी क्रसिङ पनि कम हुने गरेको छ । नयाँ बिउको उत्पादनले किसान र उद्योगी दुबैलाई फाइदा हुने उनी बताउछन् ।
उखु सवैभन्दा ठूलो नगद र औद्योगिक बाली हो । झापादेखि कन्चनपुरसम्मका तराइका जिल्लामा उखुको व्यवसायिक उत्पादन हुदै आएको छ । तराई र मध्य पहाडका ४१ जिल्लामा करिब ३२ लाख १९ हजार टन उखु उत्पादन हुने गर्छ । पुराना प्रजातीका उखुका बीउमा रोग र किराको उच्च जोखिम बढेको किसानहरु बताउछन् ।
नयाँ विकसित प्रबिधिबाटको लागत पनि कम हुने भएकाले त्यस्ता बीउ आवश्यक रहेको राष्ट्रिय उखु अनुसन्धान विकास कार्यक्रमको निष्कर्ष छ । यसका लागि कृषि विभागले पनि टिस्यु कल्चरका प्रविधि भित्र्याउने, नयाँ जात ल्याउने र ‘मेकनाइजेसन’ प्रवद्र्धन गर्नेलगायतका कार्यक्रम अघि बढाएको छ ।