काठमाडौं । सन् २०२५ सम्म नेपाललाई ‘डिजिटल नेपाल’मा रुपान्तरण गर्ने लक्ष्यसाथ सरकार अगाडि बढिरहँदा मोबाइल बैंकिङ प्रयोगकर्ता भने ह्वात्तै घटेका छन्। एक महिना अन्तरमै साढे २ लाख बढीले मोबाइल बैंकिङ प्रयोगकर्ता घटेका हुन्।
गत चैत महिनासम्म २ करोड ४० लाख ५३ हजार ६ सय २९ जना मोबाइल बैंकिङ ग्राहक थिए। तर, वैशाखमा २ लाख ५५ हजार ९ सय ४९ जना घटेर २ करोड ३७ लाख ९७ हजार ६ सय ८० जना मोबाइल बैंकिङ प्रयोग कर्तामा सीमित भएका हुन्।
सरकारको सन् २०२५ सम्म सबै सेवा डिजिटल बनाउने योजना कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले आवश्यक समन्वय गरिरहेको छ। राष्ट्र बैंकले भौतिक कारोबारलाई भन्दा विद्युतीय कारोबारलाई बढवा दिन मोबाइल बैंकिङ प्रयोगकर्तालाई प्राथमिकतामा राखेको छ। राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्था (लघुवित्त बाहेक)लाई ग्राहकको आवश्यकता अनुसार मोबाइल बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।
तर, बैंकहरूले आफ्नो आम्दानीलाईमात्रै प्राथमिकतामा राख्दा डिजिटल बैंकिङ पहुँचमा रहेको जनसंख्या विमुख हुँदै गएको छ। खातामा पैसा मौज्दात नभएका मोबाइल बैंकिङ ग्राहकलाई बैंकहरूले स्वतः सेवाबाट हटाइरहेका हुन्छन्।
बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई मोबाइल बैंकिङ सेवा दिएबापत दुई सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्म शुल्क लिने गरेका छन्। यस्तो सेवामा रजिस्ट्रेसन बाहेक वार्षिक नवीकरण गर्दा व्यक्तिगतमा ३ सयसम्म र संस्थागतमा एक हजारसम्म शुल्क लिइरहेको पाइन्छ। अघिल्लो महिनासम्म बैंकहरूले मोबाइल बैंकिङ सेवा लिइसकेका ग्राहकको खातामा नवीकरण शुल्क बराबर पैसा खाताबाट स्वतः काटेर नवीकरण गरिरहेका हुन्थे।
बैंकले ग्राहकलाई जानकारी नै नगराई मोबाइल बैंकिङ सेवा नवीकरणका नाममा खाताबाट पैसा काट्न थालेको गुनासो बढेपछि ग्राहकको मन्जुरी लिन राष्ट्र बैंकले निर्देशन दिएको थियो। बैंकहरूले निष्क्रिय ग्राहक घटाउँदा कुल संख्या घटेको राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग प्रमुख डा. गुणाकर भट्ट बताउँछन्।
‘ग्राहकको मन्जुरी लिएरमात्रै मोबाइल बैंकिङ नवीकरण गर्न निर्देशन दिएका छौं। यसले गर्दा पनि आवश्यक नहुनेले नवीकरण नगर्दा संख्या घटेको हुनसक्छन्,’ राष्ट्र बैंक प्रवक्ता डा. गुणाकर भट्टले क्यापिटल नेपालसँग भने, ‘बैंकले सिस्टम अपग्रेड गराइरहेका हुन्छन्। यस्तो अवस्थामा नवीकरण नगर्ने मोबाइल बैंकिङ ग्राहक स्वतः हट्न सक्छन्।’
बैंकले नवीकरणमा ग्राहकको मन्जुरी अनिवार्य नगर्दासम्म मोबाइल बैंकिङका ग्राहक महिनै पिच्छे बढिरहेका थिए। राष्ट्र बैंकको चालू वर्षको मोबाइल बैंकिङ प्रयोगकर्ताको तथ्यांक हेर्दा अघिल्लो महिनाभन्दा पछिल्लो महिना थप भइरहेको देखिन्छ।
मोबाइल बैंकिङ प्रयोगकर्ता साउनमा २ करोड १६ लाख ९१ हजार, भदौ मसान्तसम्म २ करोड १९ लाख ५७ हजार, असोजमा २ करोड २२ लाख ८४ हजार, कात्तिकमा २ करोड २५ लाख ५ हजार, मंसिरमा २ करोड २६ लाख २४ हजार, पुसमा २ करोड ३२ लाख १५ हजार, माघमा २ करोड ३५ लाख ६ हजार, फागुनमा २ करोड ३७ लाख ८३ हजार र चैतमा २ करोड ४० लाख ५३ हजार जना रहेका थिए।
यसरी हेर्दा महिनैपिच्छे एक लाखमाथि ६ लाख जनासम्मले मोबाइल बैंकिङ प्रयोगकर्ता थप भइरहेको देखाउँछ। राष्ट्र बैंकले ग्राहकको खाताबाट सेवा शुल्कको नाममा जानकारी बिना पैसा कटौती गरी आम्दानी गर्ने बाटो रोकेपछि बैंकहरूले ग्राहक घटाएको तथ्यांकले प्रस्ट हुन्छ।
मोबाइल बैंकिङ प्रयोगकर्ता ह्वात्तै घट्नुमा पछिल्लो डिजिटल प्रविधिमा देखिएको कमजोर सुरक्षा प्रणालीलाई पनि मानिएको छ। मोबाइल बैंकिङ कारोबार असुरक्षित भएको भन्दै सम्बन्धित पक्षले यसको सुरक्षा प्रणाली बलियो बनाउन आवश्यक काम गरिरहेको छ। तर, पछिल्लो समय ग्राहकको संख्या ह्वात्तै घट्नुमा बैंकहरूले नवीकरण शुल्क लिन नपाउनु नै भएको मोबाइल बैंकिङ सफ्टवेयर निर्माण कम्पनी एफवान सफ्टका सुभाव शर्मा बताउँछन्।
‘मोबाइल बैंकिङको सेक्युरिटीमा पछिल्लो समय समस्या देखिएको छैन। बैंकहरूको खातामा पैसा नहुने ग्राहकको मोबाइल बैंकिङ नवीकरण गर्दैनन्,’ शर्माले भने, ‘मोबाइल बैंकिङका कुल २ करोड प्रयोगकर्तामा सक्रिय रूपमा मोबाइलबाटै कारोबार गर्ने ग्राहक ८० लाखको पनि पुग्दैनन्।’
बहुमोबाइल बैंकिङ प्रयोगकर्ताको खातामा नवीकरण बराबरको पैसा मौज्दात नहुँदा बैंकले ग्राहक घटाएको उनको भनाइ छ।
बैंकले ग्राहक संख्या घटाए पनि मोबाइल बैंकिङ कारोबार नम्बर र परिमाण भने महिनै पिच्छे थप भइरहेको छ। गत साउन मसान्तमा २ खर्ब ४२ अर्ब ९१ करोड, भदौमा २ खर्ब ४२ अर्ब २६ करोड, असोजमा २ खर्ब ७७ अर्ब ८२ करोड, कात्तिकमा २ खर्ब २८ अर्ब ३२ करोड, मंसिरमा २ खर्ब ६३ अर्ब ४६ करोड, पुसमा २ खर्ब ८२ अर्ब २४ करोड, माघमा २ खर्ब ८९ अर्ब ३८ करोड, फागुनमा २ खर्ब ९१ अर्ब ९५ करोड, चैतमा २ खर्ब ९१ अर्ब ९५ करोड र वैशाख मसान्तसम्म ३ खर्ब २० करोड १९ करोड रुपैयाँ मोबाइल बैंकिङ कारोबार भएको हो।