काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिनका लागि बनेको संसदीय छानबिन विशेष समितिको बैठकले आन्तरिक कार्यविधि पारित गरेको छ।
मिति संयोजक सूर्य थापाका अनुसार संसद भवन नयाँ बानेश्वरमा आज बसेको छानबिन समितिले सुझावससहित आन्तरिक कार्यविधि सर्वसम्मतले पारित गरेको हो।
विगतमा विभिन्न छानबिन समिति, जाँचबुझ आयोगलगायतले विगतमा अध्ययन गरेका प्रतिवेदन उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गरिएकोमा अधिक संख्यामा पत्र प्राप्त भएको र बाँकी प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिइसकेको उनले जानकारी दिए।
आगामी दिनमा संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड र समस्याग्रस्त सहकारीका व्यवस्थापन लगाएतका निकायसंग समितिले छलफल गर्ने, सम्बन्धीत व्यक्तिहरूसँग सोधपुछ गर्ने र थप अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सिफारिस गर्ने उनले बताए।
गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो। समितिलाई पहिलो बैठक बसेको मितिले तीन महिनाभित्र कार्यसम्पन्न गरि प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।
नेकपा एमालेका सांसद थापा सभापति रहेको समितिमा नेपाली कांग्रेसका ईश्वरी न्यौपाने र बद्री पाण्डे, एमालेकी सरिता भुसाल, नेकपा माओवादीका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुवबहादुर प्रधान सदस्य छन्।