काठमाडौं । नेपाल बिमा प्राधिकरणले निवर्तमान कार्यकारी निर्देशक, निर्देशक, उपनिर्देशक र सहायक निर्देशकको बिदाई एवम् सम्मान गरेको छ।
प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा आयोजित एक समारोहबीच उनीहरूलाई विदाई गरिएको हो।
नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले समारोहबीच प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक राजुरमण पौडेल, निवर्तमान निर्देशक दिनेश कुमार लाल, निवर्तमान उपनिर्देशक कुसुम शर्मा र निवर्तमान सहायक निर्देशक सुनिता कुमारी कार्कीलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै कदरपत्र र उपहार प्रदान गरे।
निवर्तमान कार्यकारी निर्देशक पौडेल यही २०८१ साल जेठ १२ गतेदेखि र निवर्तमान निर्देशक लाल, निवर्तमान उपनिर्देशक शर्मा र निवर्तमान सहायक निर्देशक कार्कीले यही असार १ गतेदेखि ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाश भएका हुन् ।
प्राधिकरणका अध्यक्ष सिलवालले निवर्तमान पदाधिकारीको ज्ञान र अनुभव आगामी दिनमा पनि उपयोग गर्न र निरन्तर संवादका लागि आवश्यक व्यवस्था गर्न ध्यान दिइने बताए।
उनले संस्थाको हितमा ज्ञानको उपयोग गर्न, विज्ञताका आधारमा जिम्मेवारी निर्वाह गर्न र नेतृत्व विकासमा ध्यान दिन कर्मचारीलाई आग्रह गरे। प्राधिकरणलाई अब्बल दर्जाको नियामक निकाय बनाउन कर्मचारीले सामूहिक रूपमा काम गर्नुपर्ने उनको धारणा थियो।