कुनै समय यस्तो पनि थियो, जुन बेला काँधमा बोकेर काठमाडौंमा गाडी ल्याइन्थ्यो। नेपालमा पहिलो पटक विसं १९७८ मा राणा शासकले मकवानपुरको भीमफेदी हुँदै मान्छेलाई बोकाएर उपत्यकामा गाडी ल्याएको इतिहास पनि छ।
तर, अहिले समय बदलिएको छ। अर्थात्, विदेशबाट एसेम्बल ल्याएर नेपालमै गाडी बनाउने सुविधा थपिएको छ। अब नेपालमै गाडी उत्पादन सुरु भएको छ। विश्व प्रसिद्ध कोरियन ब्रान्ड हुन्डाईले २०८१ वैशाख २८ बाट नेपालस्थित आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी मोटर्स कर्पाेरेसन (एलएमसी)ले उद्योग सञ्चालनमा ल्याएको हो।
हुन त, नेपालमा गाडी उत्पादन सुरु भएको यो पहिलो भने होइन। २०५४ मा हुलास मोटर्सले मुस्ताङ म्याक्स गाडी उत्पादन गरे पनि निरन्तरता दिन सकेन। स्वदेशी ब्रान्डमा उत्पादन सुरु भएको मुस्ताङ म्याक्सका गाडी तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले चढेपछि चर्चामा आएको थियो।
विश्व प्रसिद्ध ब्रान्डले नेपालमै उत्पादन(एसेम्बल) गरेको हुन्डाईको पहिलो हो। त्यसैले पनि यसलाई औद्योगिकीकरणको जग भनिएको हो। हुन्डाईले नेपाललाई प्राथमिकतामा राखेर औद्योगिकीकरण सम्भावना राम्रो भएको सन्देश विश्व बजारमा दिएको छ।
...
मुलुक गम्भीर आर्थिक संकटमा रहेका बेला निजी क्षेत्र पूर्ण रुपमा निरास थियो। भएका उत्पादनको बिक्री घटिरहेको थियो भने स्वदेशी उद्योग ३० देखि ३५ प्रतिशत क्षमतामा सञ्चालन भइरहेका थिए। त्यही बेला नेपालमा विद्युतीय गाडीको लहरसमेत बढिरहेको थियो। अधिकांशले विद्युतीय गाडी रोजिरहेका बेला लक्ष्मी ग्रुपले भने नेपालमै हुन्डाई गाडी उत्पादन गर्ने प्रयत्नमा लागिरहेको थियो। लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ छिटोभन्दा छिटो नेपालमै हुन्डाई गाडी उत्पादन गर्ने योजनालाई साकार पार्ने पहलमा थिए। ग्रुपमा निराकरले अटो क्षेत्रलाई ‘लिड’ गरिरहेका छन्।
आर्थिक संकटले नयाँ उद्योग नखुलेर निराशा छाइरहेका बेला निराकर परासीमा उद्योगका लागि जग्गा खोजेर सम्याउन व्यस्त थिए। उनले नेपालमा चारपांग्र्रे गाडीको एसेम्बल गर्ने पहिलो कम्पनीको रुपमा आफूलाई स्थापित गर्न सके। यसले अरु कम्पनीलाई पनि देशमै एसेम्बल प्लान्ट स्थापना गर्न उत्साह जगाएको छ। सन् २०२३ मार्चमा उद्योगका लागि जगपूजा गरेका निरारकाले एक वर्षकै बीचमै हुन्डाई गाडीको उत्पादन सुरु गराइछाडे।
एसेम्बल गर्ने सोच अहिलेको धेरै पहिलादेखिकै हो। लक्ष्मी ग्रुप आफैं उत्पादनसँग जोडिएको हो। बीचमा गाडीको आयात गरेर ट्रेडिङ बिजनेस सुरु गरे पनि अन्त्यमा स्वदेशमै उत्पादन गर्ने हो भन्ने सोच पहिलै राखिएको निराकर बताउँछन्। उनी जति बेला हुन्डाईसँग जोडिए त्यही समय दिन नतोके पनि भविष्यमा नेपालमै हुन्डाई ब्रान्डका गाडी उत्पादन गर्ने सपना बुनेका थिए। उनको यो सपना अहिले पूरा भयो।
...
२००६ मा हुन्डाईसँग आबद्ध भएको लक्ष्मी ग्रुपले २००९ मा आधिकारिक बिक्रेताको रुपमा मान्यता पाएको थियो। २०१३ मा देखि नेपालमा एसेम्बल प्लान्ट राख्न अध्ययन अगाडि बढाएका थिए। मलेसियामा रहेको प्लान्ट २०१३ मा अवलोकन गरेका थिए। त्यो बेला एउटा प्लान्ट चल्न न्यूनतम वार्षिक ४ देखि ५ हजार गाडी बिक्री पुगेपछि सम्भावना हुने बुझेका थिए।
प्लान्टका लागि आवश्यक लगानी, सञ्चालनसहितका सबै विषयमा जानकारी लिएर न्यूनतम थ्रेसहोल्ड कटाउने ध्यानमा लागे। २०१३ मा लक्ष्मी हुन्डाईले वार्षिक २ हजार हाराहारी गाडी बेचिरहेको थियो। पछि बिक्री संख्या बढ्दै गयो।
विश्व प्रसिद्ध ब्रान्डले नेपालमै उत्पादन (एसेम्बल) गरेको हुन्डाईको पहिलो हो। त्यसैले पनि यसलाई औद्योगिकीकरणको जग भनिएको हो। हुन्डाईले नेपाललाई प्राथमिकतामा राखेर औद्योगिकीकरण सम्भावना राम्रो भएको सन्देश विश्व बजारमा दिएको छ।
भूकम्प र नाकाबन्दीपछि सन् २०१६ मा गाडीको व्यापार ह्वात्तै बढ्यो। तर, उनीहरुले त्यसलाई अर्गानिक बिक्री मानेनन्। २०१७ मा वार्षिक ४ हजार गाडी बिक्री गर्न सफल भए। त्यसपछि अब नेपालमै प्लान्ट राख्ने मनस्थिति बनाए। लक्ष्मी ग्रुपले चाहेर मात्र पनि हुँदैन थियो।
त्यसका लागि कम्पनीले नेपालको बजार र प्राविधिक उपलब्ध भए/नभएको अध्ययन गरेपछि सन् २०१९ नोभेम्बरमा प्लान्ट राख्ने सम्झौता भयो। सम्झौतापछि जग्गाको खोजी र आवश्यक प्रक्रिया अगाडि बढाउँदा १ वर्ष बित्यो। सन् २०२० मा कोभिड आयो र तत्कालका लागि प्लान्ट स्थापनाको सपना पछि धकेलियो।
निराकरले कोभिड सकिएपछि सन् २०२२ अक्टोबरमा फेरि प्लान्टको काम अगाडि बढाउन लागे। तत्कालै स्वीकृति पाएलगत्तै काममा लागे। तीन महिनामै प्लान्ट राख्ने स्थान तय गरेर सन् २०२३ को मार्चमा जग खन्न सुरु गरे। लक्ष्मी ग्रुपले ११ महिनामै सबै काम सम्पन्न गरी सन् २०२४ मार्चमा हुन्डाईका गाडी उत्पादन सुरु गरेको हो।
‘अहिले आएर बनाएको सोच हैन। यसमा सरकारले छुट दिएपछि हौसिएको पनि हैन’, कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘अहिले केही प्रतिकूल स्थिति रहे पनि पछि राम्रो हुने आशा राखेका छौं।’
सुरुमा भेन्यूको व्यावसायिक उत्पादन गर्ने, त्यसपछि आई१०, क्रेटा र आई२० मोडलका चारपांग्रे गाडी उत्पादन गर्दै जाने योजना रहेको उनले जानकारी दिए। करिब १० बिघा क्षेत्रफलमा ठूलो प्लान्ट सञ्चालनमा ल्याइएको छ। अर्बौं रुपैयाँ लगानी गरेको प्लान्ट १४ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ।
श्रेष्ठका अनुसार प्लान्टको वार्षिक गाडी उत्पादन क्षमता ५ हजार ४०० थान छ। हुन्डाई गाडी उत्पादन नेपालमै हुने भए पनि कोरियाली कम्पनीको लगानी उक्त प्लान्टमा नरहेको श्रेष्ठले स्पष्ट पारे। नेपालले चारपांग्रे र दुईपांग्रे सवारीसाधन आयातमा अर्बौं रुपैयाँ खर्चिंदै आएको छ।
लक्ष्मी ग्रुपले स्वदेशमै हुन्डाई गाडी एसेम्बल गर्न २०७६ मा उद्योग दर्ता गरेको थियो। कोरोना, नाकाबन्दी र लगत्तै सिर्जना भएको आर्थिक लमन्दीका कारण प्लान्ट सञ्चालनमा ल्याउन ढिलाइ भएको हो।
विद्युतीय गाडी एसेम्बल
मुलुक विद्युतीय गाडीको युगमा प्रवेश गरिरहेका बेला हुन्डाईले पेट्रोलियम गाडी उत्पादनमा लागेको भन्दै आलोचनासमेत हुन थालेको छ। तर, हुन्डाईले निकट भविष्यमै विद्युतीय गाडीको समेत एसेम्बल गर्ने योजना बनाएको निराकरले बताए। ‘अहिलेकै संरचनामा विद्युतीय गाडी एसेम्बल गर्न सकिन्छ। केही उपकरण मात्र जोडे पुग्छ’, कार्यकारी निर्देशक निराकर श्रेष्ठले भने।
२०२५ जनवरीदेखि क्रेटा विद्युतीय गाडीको रुपमा आउँदै छ। नेपालमा पनि सो गाडी एसेम्बल गरिने उनको भनाइ छ। बजार मागअनुसार तयारी थालेको तीन महिनाभित्रै एसेम्बल गर्न सक्ने क्षमताको प्लान्ट अहिले नै तयार रहेको निराकर सुनाउँछन्।
१०० प्रतिशत नेपाली प्राविधिक
प्लान्टमा काम गर्ने प्राविधिक पूर्ण रुपमा नेपाली नै छन्। उनीहरुलाई ‘तयार’ गर्न हुन्डाईको कोरिया र भारतबाट विज्ञहरु आएर करिब ४ महिना तालिम दिएका थिए। धेरै संख्याका कोरियन आएर नेपाली प्राविधिकलाई दक्ष बनाएका थिए।
प्लान्टमा अहिले १७० देखि १८० जना नेपाली प्राविधिकले रोजगारी पाइरहेका छन्। यो पहिलो चरणमा हो। अझै अरु मोडलका गाडी उत्पादन गर्दा त्यो संख्या बढ्दै जानेछ। यो नयाँ रोजगारी सिर्जना हो। नेपालमा हालसम्म यही कामका लागि रोजगारी सिर्जना भएको थिएन।
एसेम्बल प्लान्ट उत्पादनको पहिलो चरण
प्लान्ट स्थापनापछि कतिको बुझाइ गाडी उत्पादन नभई एसेम्बल गरेको हो भन्ने छ। जुनसुकै मुलुकमा उत्पादन सुरु गर्दा पहिलो चरणमा राख्ने भनेकै एसेम्बल हो। नेपालमा पनि यसको पहिलो सुरुआत भएको छ। दोस्रो चरणमा पेन्टलाइनको काम सुरु हुनेछ भने चरणबद्ध रुपमा देशको आर्थिक स्थिति राम्रो हुँदै गयो र गाडी माग बढ्दै गए ७/८ वर्षकै बीचमा उत्पादन पनि सुरु हुने कार्यकारी निर्देशक श्रेष्ठको दाबी छ। गाडी ‘बिल्डिङ’सम्मको चरणमा पुग्न न्यूनतम वार्षिक ५० हजार गाडी बिक्री भएको हुनुपर्छ। बिल्डिङको प्लान्ट राख्न न्यूनतम ४० देखि ४५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्छ। रोबोटमार्फत बिल्डिङ गरिने भएकाले त्यो प्रविधि निकै महँगो पर्छ।
नेपालमै एसेम्बल गर्दा पनि किन घट्दैन मूल्य?
नेपालमा दुईपांग्रेको एसेम्बल सुरु भएको केही वर्ष पुगेको छ भने बिक्री वितरणसमेत भइसकेको छ। स्वदेशमै एसेम्बल हुने भएपछि धेरैले मूल्य घट्ने अपेक्षा गरेका थिए, जुन स्वाभाविक थियो। तर, जब एसेम्बल भएर दुईपांग्रे बजारमा आए, तर भारतबाट ल्याउँदा जुन मूल्यमा पाइन्थ्यो, उही मूल्यमा बिक्री सुरु भयो। त्यसपछि धेरैले एसेम्बल उद्योगका लागि सरकारबाट छुट लिएर लुट मच्चाएको आरोप उद्योगी व्यवसायीलाई लगाउन थालेका छन्।
अहिले हुन्डाईले एसेम्बल सुरु गरेको छ। गाडी तयार पनि भइसकेका छन्। धेरैको चासो मूल्य घट्छ वा घट्दै भन्नेमै रहेको छ। कार्यकारी निर्देशक श्रेष्ठ मूल्य घट्ने वा यथावत् रहने विषयको टुंगो लागिनसकेको बताउँछन्।
अहिले हुन्डाईले एसेम्बल सुरु गरेको छ। गाडी तयार पनि भइसकेका छन्। धेरैको चासो मूल्य घट्छ वा घट्दै भन्नेमै रहेको छ। कार्यकारी निर्देशक श्रेष्ठ मूल्य घट्ने वा यथावत् रहने विषयको टुंगो लागिनसकेको बताउँछन्। उनले कर छुट पाएर उद्योग स्थापना गरेर मूल्य नघटाएको आरोप गलत भएको उनको भनाइ छ।
विदेशबाट ल्याएर बेच्नुभन्दा स्वदेशमै एसेम्बल गर्दा लगानी धेरै हुने भएकाले ठूलो अन्तरमा मूल्य घट्ने सम्भावना न्यून रहेको उनको भनाइ छ। निर्देशक श्रेष्ठका अनुसार पहिला ढुवानीको मात्र खर्च जोड्दा हुन्थ्यो। अहिले उद्योग सञ्चालन, प्लान्ट जडानका लागि सेटअप तयार गर्दा स्थिर पुँजी लगानी भएको हुन्छ। दोस्रो, एसेम्बल गर्न बढी खर्च लागेको हुन्छ।
तेस्रो भनेको गाडी वा मोटरसाइकल तयारी अवस्थामा ल्याउनुभन्दा पार्टपुर्जा मात्र ल्याउँदा ढुवानी खर्च ४ देखि ५ गुणा बढी लाग्छ। पार्टपुर्जा ल्याउँदा सुरक्षाका लागि प्याकेजिङ गर्दा धेरै ठाउँ लाग्ने भएकाले ढुवानी महँगो हुने गर्छ। एउटा तयारी गाडी ल्याउन एउटा कन्टेर भए पुग्छ भने सोही गाडीको पार्टपुर्जा ल्याउन तीनदेखि चार वटा गाडी आवश्यक पर्छ।
अर्को समस्या भनेको ढुवानीमा पनि भन्सार शुल्क तिर्नुपर्छ। भारतबाट नेपालमा गाडी ल्याउन एउटा कन्टेरको ढुवानी भाडा २४ हजार भारु पर्छ। तर, त्यही पार्टपुर्जा ल्याउँदा करिब १ लाख २० हजार भारु लाग्छ। यहाँ बढेको भाडामा गाडीकै सरह भन्सार लाग्छ।
अर्को भनेको उत्पादित गाडी ल्याएर बेच्दा बिक्रीमा अन्तःशुल्क लाग्दैन। तर, नेपालमै बनाएको गाडी वा मोटरसाइकल बिक्रीमा अन्तःशुल्क लाग्ने गरेको छ। यी विषय नदेखिने र राज्यले केही प्रतिशत छुट दिएको विषयमा मात्र बोलिने गरेको निराकरको बुझाइ छ।
‘एसेम्बलका लागि सरकारले छुट दिएको छ भन्ने कुरालाई मात्र अगाडि बढाएर हुँदैन। त्यो छुटले केमा असर गर्यो, स्वदेशमा गरिँदा के–के फाइदा पुगेको छ र मूल्य समायोजन किन हुन सकेन भनेर सरकारले नै हेर्नुपर्छ’, उनले भने।
तयारी गाडीमा नलाग्ने अन्त?शुल्क नेपालमै बनेको गाडीमा किन लगाउने? यो भनेको गाडीको मूल्यको ३२.५ प्रतिशत अन्तःशुल्क तिर्नुपर्छ। १३ प्रतिशत भ्याट अनिवार्य लाग्छ।
सरकारले लोकल भ्यालू एडिसन (स्थानीय अतिरिक्त कर) बढाउने भनिरहेको छ। तर, जति भ्यालू एडिसन बढाउँदै गयो, त्यति नै ३२.५ प्रतिशत अन्तःशुल्क थप्दै जानुपर्छ। त्यसैले भ्यालू एडिसनको अपेक्षा गर्ने हो भने अन्तःशुल्क मिनाहा गरिदिनुपर्छ। सरकारले अन्तःशुल्कमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट भनेको छ। यसले सुन्दा छुट मात्रको कुरा आउने भयो। तयारी गाडीमा अन्तःशुल्क छैन। स्वदेशमा बनेको गाडीमा लाग्छ भन्ने कुरा कहीँबाट आएको छैन। आर्थिक ऐनमा पनि कुनाकाप्चातिर, कसैको ध्यान नजाने ठाउँमा यस्ता विषय राखिदिएको उनको गुनासो छ।
उदाहरणका लागि गाडीको हकमा भ्यालू एडिसन १ लाख मात्र गरियो भने ३२ हजार ५०० रुपैयाँ माथि अर्को अन्तःशुल्क तिर्नुपर्ने हुन्छ। यसले एसेम्बल गरे पनि व्यवसायीले मूल्य घटाउन नसकेका हुन्।
‘त्यसैले बिक्रीमा अन्तःशुल्क हटाउनुपर्छ भन्ने माग अगाडि सारेका छौं। यो सम्बोधन भए मूल्यमा केही फरक पर्न सक्छ। यसमा सरकारले ध्यान दिन आवश्यक छ’, उनले भने।
हुन्डाई एफडिआईका लागि तयार
एसेम्बलका लागि कोरियन कम्पनी वैदेशिक लगानी ल्याउन तयार छ। अहिले सञ्चालनमा रहेको एसेम्बलका लागि लगानी गर्न इच्छुक भए पनि आफूहरु नै सक्षम रहेको बताएपछि पछि हटेको र अर्को चरणको काममा लगानी आउने निर्देशक श्रेष्ठले बताए। हुन्डाईका लागि भविष्यमा हुने ठूलो लगानी ल्याउने छौं’, श्रेष्ठले भने। पेन्टका लागि न्यूनतम १५ देखि २० अर्ब रुपैयाँ लगानी आवश्यक हुने उनको अनुमान छ।
पाँच दशकअघि मिठाई भण्डारबाट उदाएको लक्ष्मी ग्रुप
लक्ष्मी ग्रुप पाँच दशकअघि पोखराको एउटा परिवारका दुई भाइले मिठाई भण्डारको रुपमा सञ्चालनमा ल्याएका थिए। दाजु बुद्धिबहादुर र भाइ गणेशबहादुर श्रेष्ठ मिलेर २०३० पुस ५ मा ‘लक्ष्मी मिठाई भण्डार’ सञ्चालन गरेका थिए। पोखरामा सायद पहिलो पटक नै खुलेको थियो, मिठाई पसल।
मिठाई किन्न आउनेको घुइँचो बढेसँगै विस्तारै एउटा मिठाई पसलललाई व्यवसायमा रुपान्तरण गरेर अन्य क्षेत्रतर्फ लगानी बढाएका थिए, दुई भाइले। सोही समूह अहिले नेपालकै अग्रणी व्यावसायिक घराना– ‘लक्ष्मी ग्रुप’ बन्यो र गाडी उत्पादनमा समेत हात हाल्न सफल भयो।
लक्ष्मी ग्रुप अहिले दोस्रो पुस्ताले हाँकिरहेको छ, जसको रथलाई चार भाइले एकैसाथ दौडाइरहेका छन। सुनील, अञ्जन, निरञ्जन र निराकार। यी चार भाइले लक्ष्मी ग्रुपको सबै जिम्मेवारी काँधमा लिएका छन्। चारै भाइ ग्रुपका कार्यकारी निर्देशक हुन्।
उनीहरु सबै ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठको ‘भिजन‘अनुसार अगाडि बढिरहेका छन। सुरुमा लक्ष्मी मिठाई भण्डारले स्थानीय रुपमा पुष्टकारी उत्पादन गथ्र्यो। विस्तारै लक्ष्मी ग्रुपले विभिन्न क्षेत्रमा आफूलाई विस्तार गर्दै व्यावसायिक साम्राज्य स्थापना गरिसकेको छ। हाल ग्रुपले मिठाईबाहेक अटोमोबाइल, इलेक्ट्रोनिक्स, प्लास्टिक, ट्रेडिङ र स्टिल र गाडी उत्पादन व्यवसाय सञ्चालन गर्दै आएको छ।