काठमाडौं । बचतकर्ताको ठूलो रकम रकम अपचनको आरोपमा पक्राउ परेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापासहित चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
उपत्यका अपराध महाशाखाको टोलीले पक्राउ परेका चारै जनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा सहकारीकी व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटा छन्।
नेपाली कांग्रेस तनहुँका नेतासमेत रहेका ४३ वर्षीय थापा २०५६ सालदेखि ललितपुरको कुमारीपाटीमा रहेको सहकारीको चिफ एकाउन्टेन्ट र संस्थापक सदस्य थिए। उनको अस्पताल, टेलिभिजनलगायत विभिन्न व्यवसायिक कम्पनीमा समेत लगानी रहेको प्रहरीले जनाएको छ।
उनीविरुद्ध बैंकिङ कसुरका ५ वटा मुद्दा दर्ता भएका थिए। मुद्दा दर्तापछि उनी फरार रहँदै आएकोमा शुक्रबार विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
यस सहकारीको नाम संसदीय छानबिन गर्न बनेको समितिको कार्यादेश (टीओआर)मा समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका २९ सहकारी संस्थाको सूचीमा उक्त सहकारीको नाम पनि छ।
५६६ जना बचतकर्ताको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। २ अर्ब ८० करोड निक्षेप रहेको सहकारीमा ९४ करोड २३ लाख ४२ हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट मोबाइल, पेन ड्राइभ, केही चेक, गाडी र गोर्खा टीभीको परिचयपत्रलगायतका सामान बरामद गरिएको छ।