काठमाडौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी)ले विश्वकै ठूलो र प्रभावशाली मध्ये एक प्रविधि प्रदर्शनी लण्डन टेक विकमा जनाइएको सहभागिता सफल रहेको जनाएको छ। जुन १० देखि १४ सम्म ओलम्पिया लन्डनमा आयोजित प्रदर्शनीमा नास आईटीका १४ सदस्य कम्पनीले भाग लिएका थिए।
लन्डन टेक विक २०२४ को केन्द्रीय विषयमा कृत्रिम बुद्धिमत्ता (एआई), डेटा सुरक्षा, ग्रीन इन्नोभेसन र उद्यमशीलतालगायत विषय समावेश थिए। युएसएआईडीसँगको सहकार्यमा भएको नास आईटीको सहभागिताले नेपालका कम्पनीलाई अन्तर्राष्ट्रिय एक्सपोजर प्रदान गर्न मद्दत गरेको छ।
सहभागी कम्पनीका प्रतिनिधिले भने, 'लन्डन टेक विक २०२४ मा सहभागी भएर ग्लोबल आईटी मार्केटको अध्ययन र अवलोकन गर्ने अवसर पायौं।' उनीहरूले यस्ता कार्यक्रमले नेपाली कम्पनीको आत्मविश्वास बढाउने र तिनीहरूको प्राविधिक विकास, बजार व्यवस्थापन र बिक्रीका लागि सहयोग पुर्याउनेमा जोड दिए।
लन्डन टेक विकले नेपाली कम्पनीलाई आफ्नो आईटी उत्पादन र सेवा विश्वव्यापी दर्शक माझ प्रदर्शन गर्ने महत्त्वपूर्ण प्लात्फर्म प्रदान गरेको छ। यस प्रकारका प्रदर्शनीले अन्तर्राष्ट्रिय आईटी जगतमा नेपालको प्रतिष्ठा बढाउनुको साथसाथै व्यापार र सहकार्यको अवसर पनि सिर्जना गर्छ। नेपाललाई ग्लोबल टेक हबको रूपमा चिनाउन हरेक वर्ष यस्ता अन्तर्राष्ट्रिय प्रदर्शनीमा भाग लिने नास आईटीको योजना छ।
जुन १२ मा लन्डनस्थित नेपाली दूतावासले नास आईटी प्रतिनिधिमण्डल, अन्तर्राष्ट्रिय अतिथि र प्रवासी समुदायलाई विशेष अन्तरक्रिया कार्यक्रमको लागि स्वागत गरेका थिए। कार्यक्रमद्वारा नास आईटीले नेपालको आईटी उद्योगको प्रगति र सम्भावनाको जानकारी दिँदै अन्तर्राष्ट्रिय र प्रवासी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेको छ। वेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्यले आईटी उद्योगको प्रवर्द्धनका निम्ति नेपाल र वेलायतबीचको सहकार्य महत्त्वपूर्ण रहेको बताए।
१४ सदस्य कम्पनीका प्रतिनिधि लन्डनमा भएको अवसरको उपयोग गर्दै जुन १४ मा नास आईटीले नेपाली प्रवासी समुदायका आईटी विज्ञ, उद्यमी र लगानीकर्तालाई लक्षित गरी नेपालको आईटी क्षेत्रको भविष्यबारे छलफल गर्न एक समारोहको आयोजना गरेका थिए।
नास आईटी नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्यसहित स्थापना भएको आईटी कम्पनीको गैरनाफामूलक छाता संस्था हो। स्थापना कालदेखि नै संस्थाले नेपालको आईटी क्षेत्रलाई अगाडि बढाउन नवप्रवर्तन, शशक्तिकरण, सहकार्य, क्षमता अभिवृद्धि र नीति पैरवीमा काम गर्दै आएको छ।