– पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया अघि बढेको छ। २०८० चैत २५ सर्ट लिस्टमा परेको नाममा अर्थमन्त्री वर्षमान पुन असन्तुष्ट भएको भन्दै चैत २९ लाई बोलाइएको प्रस्तुतीकरण स्थगित भएको छ। अर्थ मन्त्रालयले २०८१ जेठ ३२ गते सूचना प्रकाशित गरी असार २ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने जनाएको छ। २०८० पुस २० देखि बोर्ड नेतृत्वविहीन छ। अन्यथा केही भएन भने सम्भवतः बोर्डले यसै साता अध्यक्ष पाउँछ। कस्तो पात्र पाउँछ भन्ने विषयलाई गौण मान्ने हो भने नियामकले नेतृत्व पाउनु पनि सकारात्मक विषय हो।
– बैंक तथा वित्तीय संस्थाहरूले असार महिनाका लागि निक्षेपको व्याज सार्वजनिक गरेका छन्। अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाएका छन्। समग्रमा ६ बैंकले ब्याजदर स्थिर राखेर ३ वटाले बढाउँदा पनि ११ बैंकले व्याज घटाएका कारण जेठको तुलनामा असारमा औसत ०.१२ प्रतिशत बिन्दुले घटेर निक्षेपको व्याज दर ६.८७ प्रतिशत कायम भएको छ् संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि ०.१२९ प्रतिशत बिन्दुले घटेको छ। निक्षेपको ब्याजदर घट्नु भनेको आधारदर घट्नु हो र आधारदर घट्नु भनेको लगानीकर्ताले लिने कर्जाको व्याज पनि कुनै न कुनै बिन्दुमा आधार दरका रूपमा घट्छ।
– बजार चलायमान हुँदा विगत एक/डेढ वर्षमा एकाध पटक ५ अर्ब बढीको सेयर किनबेच हुने गरेकोमा गत साता पाँच कारोबार दिन नै सेयर बजारमा दैनिक ५ अर्ब बढीको कारोबार हुँदा साप्ताहिक कारोबार नै २८ अर्ब ३६ करोड रुपैयाँ बराबरको भयो। बिहीबार मात्रै ६ अर्ब ३३ करोड रुपैयाँको कारोबार माघ ७ यताकै उच्च थियो। त्यसदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ७ अर्ब ६३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको थियो। अघिल्लो साता नेप्सेमा २० अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको थियो। त्यति मात्रा होइन अघिल्लो साता नेप्से ३ दिन बढ्ने र २ दिन घट्ने भई साताभर ८.२५ अंकको वृद्धि देखिएकोमा गत साता पनि ३ दिने बढ्ने र २ दिन घट्ने हुँदा पनि नेप्से सूचक साताभर ३९.१ अंकले बढेर जेठ ३१ गते २११२.२९ अंकमा चढेको छ।
– आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबाट सन्तुष्ट नभएका लगानीकर्ताहरूको ध्यान आगामी मौद्रिक नीतितर्फ तेर्सिएको छ। त्यसो त गभर्नर महाप्रसाद अधिकारीसहितका उच्च पदस्थहरू मौद्रिक नीति लचिलो आउने भन्दै हौवा पिटाइरहेका छन्। गभर्नर अधिकारीको आगामी मौद्रिक नीति अन्तिम हो। अधिकारीको कार्यकाल आगामी चैतसम्म छ। चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले सकारात्मक माहौल बनाएको भन्दै लगानीकर्ताहरू नयाँ मौद्रिक नीतिले सेयर बजारमा चमक आउने बताइरहेका छन्। लगानीकर्ताहरूको त्यो भाष्यलाई बजारले निरन्तर सर्पोट गर्न खोजिरहेको देखिन्छ। यद्यपि मौद्रिक नीति साउन पहिलो सातासम्म आउने सम्भावना छ। मौद्रिक नीति अगावै बजारलाई २२५० देखी २३०० बिन्दु वरिपरि पुर्याउन सकिन्छ कि भन्ने ध्याउन्नमा कतिपय लगानीकर्ता (ट्रेडर) र धितोपत्र दलाल व्यवसायी (ब्रोकर) छन्। त्यसैअनुरूप उनीहरूले सीमित कम्पनीका सेयरहरूमा दैनिकजसो फेरबदल गरेर मूल्य उचालिरहेका छन्। त्यसो त पछिल्लो समय नेप्से सूचकसँगै सबैजसो क्षेत्र र कम्पनीहरूको मूल्यमा केही न वृद्धि भइरहेको छ।
लगानीकर्ताका माझमा देखिएका यी र यस्ता सकारात्मक पक्षहरूलाई आफ्नो काबूमा राख्दै लगानीकर्ता निरन्तर बजारमा सुधार आउने अपेक्षा पालिरहेका छन्। यसअघि जेठ १ देखि ब्रोकर कमिसन १० प्रतिशत घटेको थियो भने नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर विक्री गर्ने सीमा बढाइदिएको थियो। त्यसो त बीचबीचमा सामान्य ‘करेक्सन’ र नाफा बुक गर्दै आ–आफ्नो लगानीको धेरथोर कमाइ लिने मन जसको पनि भइनै हाल्छ। लगानीकर्ताहरू विगतमा सम्बोधन नभएका विषयमा असन्तुष्टि जनाउने भन्दा पनि पछिल्लो समय कसरी सकारात्मक सिर्जन गर्ने भन्नेमा केन्द्रित हुन थालेका छन्।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल चालू मौद्रिक नीतिको तेस्रो समीक्षादेखि नै सेयर बजारमा सकारात्मक माहौल बन्न थालेको बताउँछन्। लामो समयदेखि लगानीकर्ताले राखेको माग सम्बोधन गरी बजार चलायमान बनाउन आवश्यक नीतिहरू आगामी मौद्रिक नीतिबाट सम्बोधन हुने विश्वास राख्छन्, ढकाल। ‘बैंकको ब्याजदर पुनः घटेको छ। गभर्नरले आफ्नो मौद्रिक नीतिमा लगानीकर्ताको सुझाव र मागलाई सम्बोधन गर्ने छन्’ ढकालले भने, ‘दिनहुँ कारोबारमा आएको वृद्धिले लगानीकर्ताको मनोबल उकासिएको संकेत गर्छ। यसले आगामी दिनमा बजार थप सकारात्मक हुने संकेत गर्छ।’
त्यसो त नेपाल धितोपत्र दलाल व्यवसायी संघ (स्टक ब्रोकर एसोसिएसन) का पूर्वअध्यक्ष भरत रानाभाट पनि पछिल्लो दुई साताको स्थिति हेर्दा बजारमा एक किसिमको सकारात्मक माहौल बनेको ठान्छन्। ‘पछिल्ला कारोबार दिनमा सबै समूह पालैपालो चल्न थालेका छन्। कारोबारका हिसाबमा पनि तुलनात्मक रूपमा सकारात्मक वातावरण बन्दै गएको छ। नेप्से पनि २१०० माथि चढेको छ,’ रानाभाट भन्छन्, ‘अब आउने मौद्रिक नीति गभर्नरको कार्यकालको अन्तिम हो। गभर्नर अपजसको भारी नबोकौं भनेर सहज नीति ल्याउने सम्भावना छ।’
त्यसो त लगानीकर्ता राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा (क्याप)लाई निःसर्त पूर्ण रूपमा हटाउनुपर्ने पक्षमा छन्। त्यस्तै सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झार्नुपर्ने, सेयर धितोमा राखिने सेयरको औसत मूल्यलाई १८० दिनबाट १२० दिन कायम गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर कारोबारको बाटो खोलिदिनुपर्ने पक्षमा लगानीकर्ता छन्। साधारण लगानीकर्ता संघ अध्यक्ष ऋतुजंग जिसी नेटवर्थ भन्दा तल आएका सेयरलाई सम्बन्धित कम्पनीले खरिद गर्न पाउने व्यवस्था ल्याउनुपर्ने बताउँछन्। पुँजी बजारमा लगानी गर्ने उद्देश्यले खडा गरिएका सामूहिक लगानी कोष (म्युचुअल फन्ड)ले तोकिएकै प्रयोजनमा मात्रै लगानी गर्न पाउने व्यवस्था गर्नुपर्नेमा अध्यक्ष जिसीको जोड छ।