काठमाडौं।अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि क्षेत्रमा नेपाललाई प्रतिस्पर्धी बनाउन सरकारले सबै खाले वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।
राजधानीमा शनिबार आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पुनले आईटी क्षेत्रमा प्रतिस्पर्धाको आधार देखिएको भन्दै राज्यले उच्च प्राथमिकता दिने बताएका हुन्।
आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको भन्दै मन्त्री पुनले भौगलिक वस्तुस्थिति र प्राविधिक जनशक्तिको विकासले नेपाल प्रतिस्पर्धीको रुपमा विकास हुँदै गइरहेको जानकारी दिए।
‘सरकार यी सम्भावनालाई स्वीकार गर्दै नीतिगतदेखि सबै खालको वातावरण बनाउन तयार छ,’ उनले भने, ‘बजेटले पनि आर्थिक सुधारको नीति अगाडि सारेको छ। नयाँ आविष्कार गर्ने वातावरण राज्यले बनाउनेछ। अवसरको समानता कायम गर्नेछ। नयाँ पुस्ताको अपेक्षालाई सम्बोधन गर्नेछ।’
मन्त्री पुनले हरेक काममा स्मार्टनेस हुनुपर्नेमा जोड दिँदै बजेटमा प्रतिस्पर्धी सुधारको प्रस्ताव गरिएको उल्लेख गरे।
मन्त्री पुनले आर्टिफिसियल इन्टलिजेन्सलाई मानव जीवनको सहयोगीको रुपमा उपयोग गर्नुपर्नेमा जोड दिए। ‘एआईसँग दुनियाँ नै आतंकित छ । यसका संस्थापक नै एआई आविष्कार गरेर गल्ती गरे कि भन्ने पनि आइरहेको छ। तर, यो मानवीय जीवनको पर्याय र सहयोगी बन्छ भन्ने अपेक्षा राखौं,’ उनले भने।
एआईको विकासले लाखौ रोजगारी गुम्ने कुरा अन्तर्राष्ट्रिय अध्ययनले देखाएको भन्दै मन्त्री पुनले नयाँ प्रविधिलाई अनुशरण गरेर नयाँ रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए।
एआई मानवको सहयोगीका रुपमा विकास भए पनि मान्छेकै सहयोगीको रुपमा वा निर्देशनमा रहन सक्छ कि सक्दैन भन्ने चुनौती रहेको उनको भनाइ थियो। ‘मान्छेले आफ्नो सहअस्तित्वका लागि विकास गरेको छ। उत्पादन, पेसा व्यवसाय सहज गर्न विकास गयौं,’ उनले भने।तर, पछिल्लो समय आफ्नो प्रतिस्पर्धीलाई पछार्नका लागि प्रयोग गरिएको मन्त्री पुनले उल्लेख गरे। ‘एकातिर कृत्रिम बौद्धिकताको विकास भयो भने अर्कोतिर प्रतिस्पर्धी अमेरिका चीनजस्ता देशले युद्धमा सहायताका लागि प्रयोग गर्ने खतरा छ। एआई सिपाही हुने भयो । गलत मान्छेको हातमा गयो भने मानव जीवन रहन्छ भन्ने पनि छ। तर, कृत्रिम बौद्धिकताको, मानव सहायताको विकल्पका रुपमा यो उपयोगी नै हो। मान्छेको उपयोगी चीजका लागि नै विकास हुनुपर्छ,’ उनले भने।
मन्त्री पुनले रुस–युक्रेन युद्धमा मान्छेले नभई एआईले युद्ध लडिरहेको भन्दै एआई अहिले युद्धको हतियारको रुपमा पनि विकास भइरहेको बताए। ‘राम्रै गर्ला भन्ने विश्वास छ। नयाँ विकास हो। औद्योगिक क्रान्तिको पाँचौं चरण पनि भन्छन्। नयाँ युगै हो। एआईको प्रयोगलाई राम्रोसँग समात्न सकियो भने तीन चार सय वर्ष अगाडि पुगेका देशलाई पनि पछ्याउन सकिन्छ। अरुसँगको ग्यापलाई भेटाउने अवसर हुन सक्छ,’ उनले भने।
‘१० वर्षमा ३० खर्बको सेवा वा उत्पादन निर्यात गर्न सक्छौ भन्ने महत्त्वाकांक्षा छ। आईटी सेक्टरका मान्छेले महत्त्वाकांक्षी होइन भनेका छन्। राम्रो कानुनी र वातावरण दियो भने १० वर्ष लाग्दैन भन्ने छ। पाँच वर्षसम्म यससम्बन्धी करका नीति परिवर्तन गर्दैनौं। काठमाडौं र सातै प्रदेश राजधानीलाई आईटी अब बनाउँछौं भनेका छौं। काठमाडौंका १० ठाउँमा शुल्क नलिएर सेन्टर सञ्चालन गर्छौं,’ उनले भने।
एआई अनुसन्धानकर्ता डा. विवेक पौडेलले एआईलाई विविध बनाउन जरुरी रहेको बताए। ‘विविधता नहुँदा समाजमा ध्रुवीकरण हुने, घृणा बढ्ने हुन्छ। चुनावको मुखमा राजनीतिक, सामाजिक र आर्थिक रुपमा असर पार्छ,’ उनले भने, ‘विविधताका लागि डेटा जरुरी छ। हामीसँग छैन। ठूलो कम्पनीसँग मात्रै भयो भने विविधता हुँदैन। हाम्रो समाज र विविधतालाई प्रतिनिधित्व गर्न सकिँदैन।’
पौडेलले सुशासनको सवालमा पनि एआई मोडलको प्रयोग गर्न सकिने बताए। ‘कृषि, जमिन, जंगल, प्राकृतिक प्रकोपको पूर्वानुमान, कहाँ खतरा छ, त्यसको मोडल बनाउन सकिन्छ। नेपालका वैज्ञानिक मिलेर विकास गर्न सकिन्छ। गाउँ–गाउँमा स्वास्थ्य संस्था पुर्याउन गाह्रो छ। तर, हामीसँग डेटा भए डाक्टरबाहेक उनको असिस्टेन्सको रुपमा विरामीको कन्डिसन हेरेर सुझाव दिन सक्छ,’ उनले भने।
डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुवेदीले राज्यको ध्यान नपुग्दा सूचना प्रविधि क्षेत्रमा नेपाल पछि परेको बताए। ‘१९९५ देखि २००५ सम्मको समय फर्केर हेर्दा संसारका धेरै देश इन्टरनेट र संरचना प्रयोगको हिसाबले पछाडि थिए। नेपाल त्यतिबेला अगाडि थियो। भारतपछि नेपालमा नेपालन्युज डटकम अनलाइनको रुपमा सुरु भइसकेको थियो,’ उनले भने, ‘तर इन्टरनेटको विकास भइसकेपछि अनलाइन व्यापार फस्टायो। त्यतिबेला हामी पछाडि पर्यौं। हामीले यसमा ध्यान दिन सकेनौं। अब आउने चरणका लागि राज्यले ध्यान देओस्। अबको पाँच वर्षमा यस्तै गुनासो गर्ने अवस्था नरहोस्।’
सरकारले बजेटमा प्राथमिकता दिएजस्तै गुणात्मक रुपमा परिवर्तन ल्याउन उनले सुझाव दिए। सम्मेलनमा च्याट जिपिटीले स्वागत मन्तव्य राखेको थियो। एआईमार्फत सम्मेलनसम्बन्धी जानकारीमूलक सूचना पढिएको थियो।