काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाअन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माण सम्झौतामा हस्ताक्षर भएको छ। एमसीए–नेपालले भारतको टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङ कम्पनीसँग निर्माण सम्झौतामा हस्ताक्षर भएको बताएको हो।
४०० केभी ग्यास इन्सुलेटेड स्वीचगियर (जीआईएस) सबस्टेसन ३९ महिनाभित्र निर्माण गरिने सम्झौतामा उल्ले छ। निर्माण सम्पन्नपछि १ हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेसन नेपालकै ठूला सबस्टेसनमध्येको एउटा हुनेछ।
४०० केभी रातमाटे सबस्टेसन जलविद्युत् आयोजना र सबस्टेसनबाट प्राप्त हुने ३,२०० मेगावाटभन्दा बढी बिजुली प्रसारण गर्ने क्षमताकाे हुनेछ।
५.१६ करोड अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौंडा सबस्टेसनबीच विद्युत् प्रसारणका लागि सहयोगी हुने एमसीए नेपालले जनाएको छ।
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनीका व्यापार निर्देशक राजीव अग्रवालले सम्झौतामा हस्ताक्षर गरे। एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीन सबस्टेसनमध्ये एमसीए–नेपालले हस्ताक्षर गरेको यो दोस्रो सबस्टेसन निर्माण सम्झौता हो।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, ‘नेपालको प्रसारण प्रणाली विकास योजना (टीएसडीपीएन) मा राष्ट्रिय विद्युत् प्रसारण प्रणालीको महत्त्वपूर्ण अंगका रूपमा परिकल्पना गरिएको ४०० केभी रातमाटे सबस्टेसन मुलुकको ऊर्जा क्षेत्रमा एमसीसी नेपाल कम्प्याक्टको अर्काे महत्त्वपूर्ण उपलब्धि हुनेछ।’
एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले तीन वटा सबस्टेसनमध्ये दोस्रो रातमाटे सबस्टेसन निर्माण सम्झौतामा हस्ताक्षर भएबाट एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनले गति लिएको बताए। ‘आगामी केही वर्षमा एमसीसी नेपाल कम्प्याक्टको प्रगतिले नेपालको बढ्दो ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्नेछ’, उनले भने।
एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले एमसीसी र नेपाल सरकारको आर्थिक सहयोगमा सञ्चालित विद्युत् प्रसारण परियोजनाअन्तर्गत एमसीए–नेपालले सबस्टेसन र प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण कामलाई तीव्रता दिइरहेको दाबी गरे।
उनले भने, ‘दमौलीमा निर्माण गरिने तेस्रो सबस्टेसन बनाउने सम्झौता चाँडै हुन लागेको छ भने १८ किमि लामो सीमापार प्रसारण लाइन निर्माणका लागि परेको बोलपत्रको मूल्यांकन भइरहेको छ। प्रसारण लाइनको बाँकी अंश निर्माणका लागि पनि बोलपत्र आह्वान गर्न खरिद प्रक्रियाको अन्तिम चरणमा छौं।’
४०० केभी रातमाटे सबस्टेसन जलविद्युत् आयोजना र सबस्टेसनबाट प्राप्त हुने ३,२०० मेगावाटभन्दा बढी बिजुली प्रसारण गर्ने क्षमताकाे हुनेछ। नेपालमा औद्योगिक र व्यावसायिक क्रियाकलापमा वृद्धि ल्याउन यस सबस्टेसनमा विभिन्न भोल्टेज स्तरमा उपलब्ध हुने भरपर्दो बिजुली वितरण गरिनेछ।
एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीन वटा सबस्टेसनका अतिरिक्त काठमाडौंको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किमि प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दै छ।
१८ किमि सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रको को मूल्यांकन भइरहेको छ। एमसिए–नेपालले यसको निर्माण सम्झौता साउनमा गर्ने लक्ष्य लिएको छ। बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्ष पुनः बोलपत्र आह्वान गर्ने तयारी छ।