काठमाडौं। राजधानीमा शनिबार आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०८१ मा कृत्रिम बौद्धिकता प्रयोग गरिएको छ।
डिजिटल मिडिया फाउन्डेसनले आयोजना गरेको सम्मेलनमा कार्यक्रमका अतिथि र सहभागीलाई एआईले मन्तव्यमार्फत स्वागत गर्नुका साथै कार्यक्रमबारे प्रकाश पारेको हो।
आयोजक डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष एवं डिजिटल मिडिया विज्ञ प्रवेश सुवेदीले मोबाइल फोनमार्फत स्वागत मन्तव्यका लागि निर्देशन दिए। लगत्तै एआई प्लाटफर्म च्याट जिपिटीले कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री वर्षमान पुनसहित अतिथिलाई मन्तव्यमार्फत स्वागत गर्यो।
मन्त्री पुनसहित हलमा सहभागीले नयाँ प्रयोगबाट उत्साहित हुँदै ताली बजाए । त्यसलगत्तै एआईकै प्रयोग गरी तयार पारिएको भिडियोमार्फत कार्यक्रमबारे प्रकाश पारियो।
भिडियोमा टेलिभिजन कार्यक्रम प्रस्तोताझैं लाग्ने टाईसुटमा ठाँटिएका एक युवक (कृत्रिम बाैद्धिकता) सम्मेलनको आवश्यकता, एआईले विश्वभर र नेपालमा ल्याउन सक्ने अवसर र चुनौती तथा सञ्चार माध्यमको भविष्य, सार्वजनिक सेवा प्रयोगलगायत विषयमा प्रकाश पारेका थिए। उक्त प्रयोगबारे कार्यक्रमका सहभागीले खुसी व्यक्त गरे।
कार्यक्रमका वक्तासमेत रहेका आमसञ्चार एवं पत्रकारिताका प्राध्यापक डा भानुभक्त आचार्यले उक्त प्रयोगबाट एआईले व्यक्तिको क्षमता अभिवृद्धि गरेर थोरै समयमा धेरै काम गर्न सकिने सन्देश दिएको बताए।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं अनलाइनखबर डटकमका प्रधानसम्पादक शिव गाउँलेले एआई प्रयोगले तथ्य पहिचान, परीक्षण र प्रस्तुतिमा पत्रकारिता क्षेत्रले लाभ लिन सक्ने सम्भावना देखिएको उल्लेख गरे। तर, एआई प्रयोगमा पत्रकारले सधैं होसियारी अपनाउनुपर्ने उनले सुझाव दिए।