गत फागुन २३ गते अर्थ मन्त्रालय सम्हाल्दा प्रत्यक्ष/अप्रत्यक्ष करिब ६० लाख लगानीकर्ता जोडिएको सेयर बजार सुधार गर्ने वचन दिएका अर्थमन्त्री वर्षमान पुन बाेलीमै सीमित भए। सेयरबजार सुधारका लागि नियामकबाट सुझावसमेत लिएका पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा पुँजीबजारलाई बेवास्ता’ गरे। फलस्वरुप लगानीकर्ता अर्थमन्त्री पुनबाट बजार सुधार हुन्छ भन्नेमा आशावादी हुन छोडेका छन्। बजेटअगाडि गत जेठ ४ मा नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दा बजार केही चलयमान बनाउने संकेत दिलाएको थियो। तर, मौद्रिक नीतिको आशालाई पनि बजेटले निराशामा परिणत गर्यो। निरन्तरको माग र सुझाव बेवास्तामा परेपछि अब लगानीकर्ताको आशा केन्द्रीय बैंकले करिब डेढ महिनापछि ल्याउने मौद्रिक नीतिमा सरेको छ। पुँजीबजार चलायमान बनाउन मौद्रिक नीतिले गर्नुपर्ने नीतिगत व्यवस्था र वर्तमान अवस्थाका विषयमा केन्द्रित रहेर क्यापिटल नेपालका पदम भुजेलले साधारण लगानीकर्ता संघ अध्यक्ष ऋतुजंग जिसीलाई साेधेका ५ प्रश्नः
आगामी आर्थिक वर्षको वार्षिक बजेट र विगत मौद्रिक नीति समीक्षाले पुँजीबजारको पक्षमा कुनै काम गरेन। यसपछि अब लगानीकर्ताको आशा राष्ट्र बैंकले ल्याउने मोद्रिक नीतितर्फ सरेको छ। यसलाई कसरी लिनुहुन्छ?
बजेट तथा मौद्रिक नीतिले पुँजी बजारका विषयमा जे गर्नुपर्ने थियाे, त्याे गरेन भन्ने हाे। झिनामसिना कुराले पुँजीबजारलाई खासै अर्थ राख्दैन। अब लगानीकर्ताको आशा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतितर्फ सरेको छ। पुँजीबजार विगत तीन वर्षदेखि धराशयी अवस्थाबाट गुज्रिरहेको छ। विगतका बजेट तथा मौद्रिक नीतिले पुँजीबजारकाे सम्बोधन गरेनन्। लगानीकर्ताको निराशा जस्ताको तस्तै छ। सुधारको काम नहुँदा लामो समय पुँजीबजार मन्दीमा छ। पुँजीबजार लामो समय मन्दीमा रहनु कसैका लागि पनि राम्रो होइन। पुँजी बजार मन्दीमा रहँदा त्यसको असर समग्र अर्थतन्त्रमा पनि परेको छ। पुँजीबजारमा छाएको सुस्तताले मुलुकको अर्थतन्त्रमा असर पुर्याउने हुँदा समग्र राज्यको अर्थतन्त्र चलायमान बनाउन आगामी मौद्रिक नीति फरक ढंगमा आउन आवश्यक छ।
हाल बैंकमा पैसा थुप्रिएर बसेको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांक हेर्दा पनि बैंकमा करिब ६ खर्ब रुपैयाँ बढी रकम थुप्रिएर बसेको छ। आगामी दिनमा यो तरलता व्यवस्थापन हुन सकेन भने पुँजीबजारलाई मात्रै नभएर समग्र अर्थतन्त्रलाई नै शिथिल बनाउँछ। यस्तो अवस्थामा केन्द्रीय बैंकले भौद्रिक नीतिका उपकरणलाई बजारको आवश्यकताअनुसार समयसापेक्ष बनाउन आवश्यक छ। मौद्रिक नीतिले नियमित रूपमा तरलताको व्यवस्थापन गर्ने, मुद्राको माग र आपूर्तिमा सन्तुलन ल्याउने कार्य गर्छ। मौद्रिक नीति असन्तुलित अवस्थामा रह्यो र समग्र क्षेत्रलाई सन्तुलित बनाउन सकेन भने आर्थिक क्रियाकलामा त्यसको प्रत्यक्ष प्रभाव पर्दछ।
मौद्रिक नीतिको उद्देश्य बाह्य क्षेत्र र मूल्यमा सन्तुलन कायम गर्ने, आर्थिक वृद्धिदरमा भूमिका खेल्ने र वित्तीय क्षेत्रमा स्थायित्व कायम गर्ने हो।मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउन सकिने बाटाहरू राष्ट्र बैंकले अब खोल्नुपर्दछ। पुँजीबजारका अधिकांश विषय मौद्रिक नीतिमै गएर अडिएका छन्। लगानीकर्ताहरू मौद्रिक नीतिमार्फत यी विषय सम्बोधन हुनेमा अझै आशावादी छन्। पुँजीबजारमा रहेका नीतिगत अप्ठ्यारालाई राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत खुला गर्नुपर्दछ।
आगामी मौद्रिक नीतिले पुँजी बजारका लागि गर्नैपर्ने नीतिगत व्यवस्था र काम के–के हुन्? कस्ताे नीतिगत व्यवस्था गर्दा बजार चलायमान हुन्छ?
अब आउने मौद्रिक नीतिले पुँजीबजारका लागि गर्नुपर्ने थुप्रै काम छन्। हामीले लामो समयदेखि माग गर्दै आएका र सुझावस्वरुप दिएका तर सम्बोधन नभएका विषय धेरै छन्। पुँजीबजार सुस्त अवस्थामा भएकाले लगानीकर्ताले आगामी मौद्रिक नीति लचिलो र मनोबल उकास्ने किसिमको आउने अपेक्षा गरेका छन्। राष्ट्र बैंकले दीर्घकालीन र दूरदृष्टिसहितका नीति ल्याउनुपर्छ। विशेषगरी राष्ट्र बैंकले निःसर्त कर्जाको सीमा (क्याप)लाई पूर्ण रुपमा हटाउनुपर्दछ। धितोपत्र कर्जामा रहेको जोखिम भारलाई १२५ प्रतिशतबाट १०० प्रतिशतमा झार्नुपर्दछ। सेयर धितोमा राखिने सेयरको औषत मूल्यलाई १८० दिनबाट १२० झार्ने काम आगामी माद्रिक नीतिमार्फत हुनुपर्छ। बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर कारोबारको बाटो खोलिदिनुपर्दछ। नेटवर्थ भन्दा तल आएका सेयरलाई सम्बन्धीत कम्पनीले खरिद गर्न पाउने व्यवस्था ल्याउन जरुरी छ। पुँजीबजारमा लगानी गर्ने उद्देश्यले खडा गरिएका म्युचुअल फन्डले सोही प्रयोजनका लागि मात्रै लगानी गर्न पाउने व्यवस्था गरिनुपर्छ।
लामो समयदेखि सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एउटै बिन्दु वरिपरि घुमिरहेको छ। लगानीकर्ताको मनोबल बढ्न सकेको छैन। यसको कारण सरकार तथा राष्ट्र बैंकले पुँजी बजारलाई प्राथमिकतामा नराख्नु मात्रै हो या अन्य पनि छन्?
पक्कै पनि हालको अवस्थामा लगानीकर्ताको मनोवल कमजोर अवस्थामा छ। लगानीकर्ताको मनोबल आफ्नो जोखिमका कारणले भन्दा पनि नियामकहरूको अस्थायी र अव्यावहारिक नीतिले कमजोर भएको छ। कतिपय अवस्थामा मौखिक रुपमा सरकार तथा नियामकबाट राम्रो कुरा गरिने भए पनि लिखित रुपमा सोअनुरुप काम भएको पाइँदैन। यसले गर्दा सरकार र नियामकप्रति लगानीकर्ताको विश्वास घटेर गएको छ। कुनै समय पुँजीबजारको मार्केट क्यापिटलाइजेसन झन्डै ४२ खर्ब माथि थियो। प्रतिदिन २२ अर्ब माथि कारोबार हुन्थ्यो। पुँजीबजारबाट उठ्ने वार्षिक राजस्व १५ अर्ब माथि थियो।
भरखरै विकास हुँदै गएको पुँजी बजारले राज्यलाई वार्षिक १५ अर्ब राजस्व दिन सक्नु चानचुने कुरा थिएन। पुँजीबजार राज्यका लागि आम्दानीको क्षेत्र हुँदा उसले कुरा बुझ्नुपर्दछ। तर, आज बजार घटेर ४२ खर्बको मार्केट क्यापिटलाइजेसन ३३ खर्बमा झरेको छ। ३२०० बिन्दुसम्म पुगेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१०० बिन्दु वरपर छ। राज्यको आम्दानीको रुपमा रहेको राजस्व १५ अर्बबाट घटेर झन्डै १ अबैमा सीमित भएको छ। तर, पनि सरकार आँखा चिम्लेर बसेको छ। राज्यले लक्ष्यअनुरुप राजस्व संकलन गर्न नसकेको अवस्थामा यसलाई विशेष प्राथमिकतामा राख्नुपर्ने भए पनि त्याे हुन सकेन। सरकारले देशभित्रकै पुँजीलाई न्याय दिन सकेको छैन भने विदेशी लगानी भित्र्याउने कृुरा मात्रै गरेर हुँदैन। अर्थतन्त्रलाई चलायमान बनाउँदै लगानी बढाउने दिशामा अगाडि बढ्ने हो भने राज्यले पुँजीबजारलाई प्राथमकितामा राख्न जरुरी छ।
पुँजीबजारलाई राष्ट्र बैंकले वा सरकारले मात्रै नभएर नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडीएसले पनि सोअनुसारको व्यवहार गर्न सकेका छैनन्। वास्तवमा सेयरबजारको अभिभावक धितोपत्र बोर्ड हो। धितोपत्र बोर्डले पनि अभिभावकीय भुमिका वहन नगर्नु पुँजीबजारका लागि दुर्भाग्य हो। पुँजीबजारको अभिभावकीय संस्था ६ महिनासम्म पनि अध्यक्षविहीन भएर बस्नुपरेको छ। ६२ लाख लगानीकर्ता आबद्ध पुँजीबजारको अवस्था राम्रो छैन। समयानुकूल प्रविधि उपयोग पनि हुन सकेको छैन।
नेप्से परिसूचक र कारोबारको हिसाबमा बजार कुन अवस्थामा छ? धेरै लगानीकर्ता बजार छाडेर बाहिरिए पनि भन्ने गरिन्छ। खासगरी हाल दैनिक कारोबार र नेप्से बिन्दु कतिमा हुनुपर्ने लाग्छ?
पुँजीबजार दयनीय अवस्थामा छ। ३१९८.६० बाट घटेको नेप्से परिसूचक हाल २११२.२९ अंकमा छ। दैनिक कारोबार दुईदेखि तीन अर्बमा सीमित भएको छ। यसले बजारमा नैराश्य छाएको पुष्टि हुन्छ। लगानी जहिल्यै पनि मुनाफाको उद्देश्यले गरिन्छ। बिनाप्रतिफल लगानी गर्न कसैले मान्दैन। लगानी गर्न उचित वातावरण चाहिन्छ। सरकारले सही समयमा उचित कदम चाल्न नसक्दा राम्रा लगानीकर्ताले पनि बजार छोडेर गएका छन्। सरकारले नै पुँजी बजारलाई हतोत्साहित गरेर लखेट्ने काम गरेको छ। यो समग्र पुँजीबजारका लागि दुर्भाग्य हो। विश्व बजारको वर्तमान अवस्था हेर्दा धेरै मुलुकको इन्डेक्स हालसम्मकै माथिल्लो अवस्थामा पुगेको देखिन्छ। छिमेकी भारत, श्रीलंका, बंगलादेशजस्ता मुलुकलाई हेर्ने हो भने पनि हाम्रो स्थिति निकै नाजुक छ। हाल नेप्से २१०० बिन्दुमा छ। तर, बाह्य मुलुकको अवस्थालाई तुलना गर्ने हो पनि हाम्रो सूचक ३१०० माथि हुनुपर्ने हो। आमलगानीकर्ताको गुनासो पनि यस्तै किसिमको आउने गरेको छ।
तपाईंहरूजस्ता लगानीकर्ता र लगानीकर्ताका विभिन्न संगठनका समूह एकजुट नहुँदा सराेकारवाला सरकारी निकायले अटेर गरेको पनि भन्ने गरिन्छ। यसमा तपाईंको धारणा के छ?
हामी सबै लगानीकर्ता एकजुट हुनुपर्ने हो। हुन नसक्ने हाम्रो कमजोरी हो। हामी एकजुट हुनुपर्छ भन्ने अभियानमा छौं। बजार र लगानीकर्ताको आकार ठूलो हुँदै गएपछि यस्तो अवस्था देखिन्छ पनि। यसलाई विस्तारै व्यवस्थित बनाउँदै लग्नुपर्छ। समयको विकासक्रमसँगै सबै संगठनहरू व्यस्थित र एकजुट हुँदै जानेछन्। त्यो समयले पनि मागेको छ। यसका अलावा पुँजी बजारलाई सरकारले नै नबुझेको जस्तो पनि देखिन्छ। यस्तो अवस्थामा लगानीकर्ताको सुझाव र माग सम्बोधन नभएको होला। विस्तारै यो नजिर पनि परिवर्तन हुनेछ। त्यतिबेलासम्म सरकारले पनि पुँजीबजारको महत्त्वलाई राम्रोसँग बुझ्नेछ। समग्रममा आगामी दिनमा केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति ल्याउन आवश्यक छ। आर्थिक वर्ष २०७८/७९ मा आएको मौद्रिक नीतिले बजार घटेकाे हो। आजका दिनमा सिडी रेसियो ९० बाट घटेर ८० मा कायम भएको छ। ब्याजदर पनि न्यून बिन्दुमा छ। पुँजी प्रशस्त मात्रामा फ्रिज भएको छ। तर, अर्थतन्त्र संकुचनमा छ भने आर्थिक कारोबार बढ्न सकेको छैन। हालको पुँजीबजार संकुचनलगायतका अवस्था मौद्रिक नीतिमै गएर जोडिएका छन्। यसर्थ, आउने मौद्रिक नीतिले तमाम समस्या समाधान हुनुपर्छ भन्ने हाम्राे माग हाे।