काठमाडौं । बैंकले कर्जा प्रवाहअघि ग्राहकसँग खोज्ने वा हेर्ने भनेको कर्जा परियोजना र धितो सुरक्षण नै हो। नाम चलेका ठूला उद्योगी/व्यावसायिको हकमा बैंकले परियोजना र सुरक्षणलाई भन्दा ‘प्रोफाइल’ कै आधारमा ऋण दिइरहेका हुन्छन्।
विगतदेखि प्राय: बैंकले धितो हेरेर वा व्यवसाय मूल्यांकनमा कर्जा दिनेभन्दा चिनजान र विश्वासको आधारमा ठूला व्यवसायीलाई ऋण दिँदै आएका छन्। बैंकको यस्तो प्रचलनलाई विकृतिको नाम दिँदै राष्ट्र बैंकले ‘चालू पुँजी कर्जा मार्ग निर्देशन कार्यान्वयनमा ल्याएको छ। यसले पनि व्यवसाय विस्तारमा बैंकलाई व्यावसायिको नाम र प्रोफाइलको आधारमा चालू पुँजी कर्जा दिन रोकेको छ।
तर, केही बैंकले चालू पुँजी कर्जा होस् या अन्य व्यावसायिक कर्जा। केही समय अघिसम्म नियामकीय प्रावधानलाई प्रकृयाको रुपमा मात्रै पालना गरेर व्यावसायिक प्रोफाइलमा कर्जा दिन अग्रसर भइरहेका थिए।
विगतमा प्रणालीमा पर्याप्त लगानीयोग्य रकम (तरलता) हुँदा उद्योगी व्यवसायीका घर तथा कार्यालय धाएर कर्जा लिन ‘अफर’गर्ने बैंकले आजभोलि यस्तो अफरमा सर्तसमेत राख्न थालेका छन्।
ठूला हुन् या साना ऋणी। बैंक आफूले दिएको पैसा कहाँ लगानी गर्छन् र त्यसको प्रतिफल कहिले, कसरी आउँछ, मूल्यांकन गरेर मात्रै कर्जा दिने चलन अहिले सुरु गरेको नेपाल बैंकर्स संघ (एनबीए) का उपाध्यक्ष सन्तोष कोइराला बताउँछन्।
‘आजभोलि बैंक 'नेम बेस लेन्डिङ' छोडेर प्रोजेक्ट बेस लेण्डिङमा लागेका छन्, प्रोजेक्ट मूल्यांकन पनि पनि हिजोको दिनमाभन्दा फरक तबरले गरिरहेका छौं,’ एनबिएका उपाध्यक्ष कोइरालाले क्यापिटल नेपालसँग भने, ‘बैंकलाई प्रोजेक्ट देखाएर सेयर, घरजग्गामा लगानी नगर्ने एकिन भएपछिमात्रै कर्जा दिन्छौं।’
अहिले बैंकिङ क्षेत्रमा ६ खर्ब रुपैयाँ बढी लगानीयोग्य रकम (तरलता) मौज्दात छ। बैंकहरू ठूला ऋणी खोजेर प्रोजेक्टमा पैसा उपयोग गरिदिने आग्रहसहित भौतारिरहेका छन्। चालू वर्षभर कर्जा माग न्यून रहेर बैंक ऋणी ग्राहक खोज्दै बजार भौतारिनु परे पनि बैंकरले ऋणको सदुपयोग कहाँ र आवश्यकता हो/होइन भन्दै परियोजना मूल्यांकन गरिरहेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन बताउँछन्।
‘आजको दिनमा बैंकले व्यवसायीलाई कर्जा अफर गरेका छन् तर अब प्रोजेक्ट र आवश्यकता नहेरी कर्जा दिँदैनन्,’ सीईओ शेरचन भन्छन्, ‘केही कुरा चालू पुँजी कर्जा गाइडलाइनले पनि रोक्यो, पहिलेजस्तो आँखा चिम्लेर नामकै आधारमा ऋण दिने भन्ने अब हुँदैन।'
अहिले यसरी दिइएको कर्जामा केन्द्रीय बैंकले पनि सूक्ष्म निगरानी राखेर प्रोभिजन गर्न थालेपछि बैंकहरूले प्रोफाइलभन्दा प्रोजेक्टलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्न थालेका हुन्। विश्वासको आधारमा दिइएको कर्जा दुरुपयोगले आज बैंकरहरू समस्यामा पर्न थालेपछि यसको उपयोगबारे प्रष्टता खोज्न थालिएको उनको भनाइ छ।
‘हिजोका दिनमा बैंकले नामकै आधारमा जसरी कर्जा दिएको हो, त्यसरी नै फिर्ता नलिएसम्म राष्ट्र बैंकले छाड्दैन। त्यसैले दिनेलाई मात्रै नभएर लिनेलाई पनि पहिलेजस्तो कर्जा दिन सहज छैन,’ उनले भने।
नेपालमा ठूला व्यावसायिक घरनाका रूपमा चौधरी ग्रुप, गोल्छा, विशाल, आइएमई, आइजे, खेतान, लक्ष्मी, त्रिवेणी, शंकर, दुगड ग्रुप, ज्योति समूह, वैद्य अर्गनाइजेसनलगायतलाई चिनिने गरेको छ। यिनै ग्रुपद्वारा सञ्चालित उद्योग व्यवसायीले देशको आधा अर्थतन्त्र चलेको छ भने अधिकांश उद्योग व्यवसाय बैंकबाट कर्जा लिएरै सञ्चालन भएका छन्।
व्यवसायीका अनुसार अहिले नाम चलेका उद्योगी/व्यवसायी विनोद चौधरी, शेखर गोल्छा, चन्द्र ढकाल, रविभक्त श्रेष्ठ, भवानी राणा, राजेन्द्र खेतान, रामचन्द्र संघाई, सौरभ ज्योतिहरूले पनि प्रोजेक्टबिना आफ्नो समूहलाई विश्वास गरेर कर्जा दिने बैंक भेट्न छाडेका छन्।
बैंकले कर्जा लिने ऋणी, धितो सुरक्षणसँगै परियोजना मूल्यांकनलाई पनि प्राथमिकतामा राख्न थालेपछि ठूला व्यवसायीलाई ऋण लिन सकस परेको छ। व्यवसाय चलाउन कर्जा आवश्यक परे पनि बैंकबाट सहज नपाएको एक उद्योगी बताउँछन्।
‘बैंकरहरू दिनहुँजसो ऋण लिनुपर्यो भनेर आइरहेका हुन्छन्, तर प्रोजेक्ट नहेरी ऋण दिन मानिरहेका छैनन्,’ ती उद्योगीले भने, ‘बैंकबाट ऋण लिन विगतजस्तो सहज छैन।’