क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन मेयर भरतकुमार थापासहितका ६ जनाविरुद्ध ३० करोड भ्रष्टाचारको अर्को मुद्दा दायर गरेको छ। मेयर थापा र उपमेयर लीलाकुमारी मुक्तानसहित ६ जनाले ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले जेठ २९ मा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। यसअघि अख्तियारद्वारा चैत २८ मा मेयर थापाविरुद्ध ५ करोड ३३ लाख ५३ हजार १८१ रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको मुद्दाको फैसला आउन बाँकी छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारको प्रलोभन देखाएर १५ करोड असुल्ने तीन जनाको गिरोहलाई पक्राउ गरेको छ। प्रहरीले वैदेशिक रोजगारको प्रलोभन देखाएर ५ देखि १० लाख रुपैयाँसम्म ठगी गर्ने गिरोहमा संलग्न कास्कीका पवन पन्त, चितवनका राजकुमार भट्ट र नविन विकलाई जेठ २९ मा पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ परेकाले ४ वर्षदेखि विदेश रोजगारी प्रलोभन देखाएर १५ करोड बढी ठगी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिरकारी रवीन्द्र रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिए।
सरकारले १२ वर्षपछि १२ महिना लगाएर चौथो जीवनस्तर सर्वेक्षण २०७९/८० सार्वजनिक गरेको छ। जेठ ३१ म सार्वजनिक गरिएको चौथो जीवनस्तर सर्वेअनुसार सुदूरपश्चिममा सबैभन्दा बढी गरिब र गण्डकीमा कम रहेको देखिएको छ। गरिबी मापन दरअनुसार सबैभन्दा कम गण्डकीमा ११.८८ प्रतिशत र सबैभन्दा बढी सुदूरपश्चिममा ३४.१६ प्रतिशत रहेको देखिएको हो। सर्वेक्षणका अनुसार प्रदेशगत गरिबी मापनको तथ्यांकले कर्णालीमा २६.६९ प्रतिशत, लुम्बिनीमा २४.३५ प्रतिशत, बागमतीमा १२.६९ प्रतिशत, मधेसमा २२.९३ प्रतिशत र १७.१९ प्रतिशत गरिबी दर रहेको देखाएको छ। सर्वेक्षण देशभरका ५६४ स्थानीय तहमा, ९ हजार ६ सय घर र सात प्रदेशलाई एउटै वर्ग एवं काठमाडौं उपत्यकालाई छुट्टै श्रेणीमा अध्ययन गरेर प्रतिवेदन तयार गरिएको हो।
नेपाल अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ‘गभर्निङ बडी’मा सर्वसम्मत निर्वाचित भएको छ। तीनवर्षे कार्यकालका लागि नेपाल उपसदस्यमा निर्वाचित भएको हो। उपसदस्यको रुपमा नेपालको कार्यकाल २०२४ देखि २०२७ सम्म कार्यकाल रहनेछ। जेनेभामा जारी आईएलओको ११२औं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी श्रममन्त्री डोलप्रसाद अर्यालले जेठ ३० मा यसबारे जानकारी दिएका हुन्। मतदानमा १८७ मुलुकले सहभागिता जनाएकामा नेपालले १८५ मत पाएको थियो। सन् १९६६ मा अन्तर्राष्ट्रिय श्रम संगठनमा आबद्ध भएयता नेपालले दोस्रो पटक सञ्चालक समितिमा निर्वाचित भएको हो। सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि सहभागी थिए।
विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद र ८० लाख रुपैयाँ जरिमानाको फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले जेठ ३१ मा फैसला सुनाएको हो। ठेक्कापट्टा लगाउँदा ठेकेदारबाट कमिसन लिएर जग्गाजमिन जोडेकोलगायतको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २५ मा भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
बंगलादेशले आगामी साउनदेखि नेपालबाट ४० मेगावाट बिजुली किन्ने अन्तिम निर्णय गरेको छ। बंगलादेश सरकारको मन्त्रिपरिषद् मातहतको सार्वजनिक खरिद समितिले जेठ २९ मा नेपालबाट ४० मेगावाट बिजुली प्रतियुनिट ८.१७ टाका (९.२७ रुपैयाँ) मा किन्ने निर्णय गरेको हो। बंगलादेशबाट प्रकाशित समाचारअनुसार ‘क्याबिनेट कमिटी अन गभर्मेन्ट पर्चेस’ (सीसीजीपी) को १५औं बैठकले गत मंगलबार नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको हो।
यो साता सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३४.५१ अंकले बढेको छ। साताको पाँच कारोबार दिनमा उतारचढाव भइरहँदा नेप्से ३४.५१ अंकले बढेर कारोबारको अन्तिम दिन बिहीबार २११२.२९ को बिन्दुमा रोकिएको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २०७७.७८ को बिन्दुमा सीमित भएको थियो। यो साताको पाँच कारोबार दिनमा नेप्सेमा कुल २८ अर्ब ३६ करोड बराबरको कारोबार भएको छ। गत साता २० अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
उच्च अदालत पाटनले सामुदायिक विद्यालयले भाडामा लगाउँदै आएका सटर असार ७ सम्म बन्द नगराउन काठमाडौं महानगरलाई अल्पकालीन आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेलको एकल इजलासले जेठ ३१ मा अल्पकालीन आदेश दिएको हो। महानगरको उक्त कदमविरुद्ध तुलसीप्रसाद अगस्तीले दायर गरेको रिटबारेको छलफलमा सहभागी हुन उच्च अदालतले असार ७ मा पक्ष÷विपक्ष दुवैलाई हाजिर हुन आदेश दिएको छ।