काठमाडौं। नेपालमा मनसुन भित्रिइसके पनि वर्षा नहुँदा काठमाडौं उपत्यकासहित नेपालभरको जनजीवन प्रभावित भएको छ।
तराई क्षेत्रमा ४४ डिग्री सेल्सियस मापन गरिएको मौसम काठमाडौंमै ३४ डिग्री पुगेको जल तथा मौसम विज्ञान विभागबाट दैनिक प्रकाशित हुँदै आएको बुलेटिनमा उल्लेख छ।
तराईमा उखरमाउलो गर्मीका कारण तराई क्षेत्रमा यतिबेला विद्यालय बन्द छन् भने दिउँसोको समय मानिस घरबाहिर निस्कन छाडेका छन्।
यो वर्ष गर्मीको मारले काठमाडौं उपत्यकाबासीलाई पनि पिरोलेको छ। गर्मी बढेसँगै उपत्यकामा बिजुली माग मेलापर्वका दिनमा जस्तै हुन थालेको छ।
हाल उपत्यकामा बिजुलीको माग दैनिक ४०० मेगावाट वरपर हुन थालेको छ। उपत्यकामा गर्मी बढेसँगै पंखा, एसी चिसो पेय पदार्थ प्रयोगकर्ताले बिजुली उपभाेग ह्वात्तै बढाएकाले देशभरकै मागमध्ये सबैभन्दा धेरै बिजुली प्रयोग भइरहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए।
बुधबार देशभर २३०७ मेगावाट बिजुली खपत भएको प्राधिकरणले बताएको छ। बुधबार खपत भएको बिजुली हालसम्मकै उच्च भएको प्राधिकरणका प्रवक्ता घोषको भनाइ छ।
यसअघि सबैभन्दा धेरै बिजुली खपत तिहारका बेला २ हजार मेगावाटसम्म हाराहारी हुने गरेको थियो। गत वर्षको तिहारमा १८०० मेगावाटसम्म बिजुली खपत भएको प्राधिकरणको भार सम्प्रेषण केन्द्रले जनाएको थियो।
प्राधिकरणका प्रवक्ता घोषले भने, ‘गर्मी बढेसँगै काठमाडौं उपत्यकासहित पहाड र तराई क्षेत्रमा पंखा र एसी प्रयोगकर्ता बढेको देखियो। विद्युतीय गाडी प्रयोग बढे पनि यसअघिका महिनामा यति धेरै बिजुली खपत भएको थिएन। गर्मीले नै बढाएको हामीले आकलन गरेका छौं।’
अहिले देशभर बिजुली माग २५०० मेगावाट बढी रहे पनि उत्पादन करिब १८०० मेगावाट मात्रै भइरहेको छ। विद्युत् अपुग भएपछि नेपालले भारतको बिहारबाट १५०, टनकपुरबाट ६० मेगावाट बिजुली आयात गर्दै आएको बताइन्छ।
यद्यपि प्राधिकरणले जेठ तेस्रो सातादेखि पानी परेसँगै विद्युत् आयोजनाबाट बिजुली उत्पादन बढेकाले भारत निर्यात थालिएको बताएको थियो। यद्यपि उद्योग, कलकारखानामा लोडसेडिङ गरेर भारतमा बिजुली बेचेको भन्दै प्राधिकरणको आलोचना भइरहेको छ।