काठमाडौं । नेपालमा झन्डै २ तिहाइ मानिसले दैनिक ज्याला लिएर काम गर्दै आएको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको २०७९/८० को चौथो जीवनस्तर सर्वेक्षणले उक्त विवरण देखाएको हो।
कुल कामदारमध्ये ६४.९ प्रतिशतले दैनिक ज्याला लिएर काम गर्ने गरेका छन्। त्यस्तै मासिक तलबमा २८.७ प्रतिशत व्यक्तिले काम गर्दै आएको पनि तथ्यांक कार्यालयले देखाएको छ। तर, ६.४ प्रतिशत जनसंख्याले भने सम्झौताको आधारमा (कुनै पनि काम गरेबापत एकमुस्ट रकम बुझ्ने, ठेक्का प्रक्रिया) पैसा लिएर काम गर्दै आएको जीवनस्तर सर्वेक्षणले देखाएको हो।
श्रममा संलग्न हुने जनशक्ति पनि घट्दै गएको सर्वेक्षणले देखाएको छ। सन् २०१७/१८ सम्म कुल जनसंख्याको ३८.२ प्रतिशत मानिस श्रममा संलग्न हुँदै आएकामा २०२२/२३ मा उक्त संख्या घटेर ३७.१ प्रतिशतमा सीमित भएको छ। २०७२ को भूकम्प पछि रोजगारी गुमेको तथा २०७६ को विश्वव्यापी कोरोना संक्रमणका कारण बेरोजगारी दर बढेको देखिएको छ।
सन् २०१७/१८ मा ११.४ प्रतिशत रहेको बेरोजगारी दर २०२२/२३ मा १२.६ प्रतिशत पुगेको अध्ययनले देखाएको छ। साथै सन् २०१७/१८ मा १५ देखि २४ वर्ष उमेर समूहका २३.९ प्रतिशत मानिस बेरोजगार रहेकामा सुधार भएको छ। २०२२/२३ मा १५ देखि २४ वर्ष उमेर समूहका २२.७ प्रतिशत मानिस मात्रै बेरोजगार छन्।
त्यस्तै ठेक्का प्रक्रिया गर्ने नेपालीले औसतमा वार्षिक २ लाख १५ हजार ३८७ रुपैयाँ, जागिर खानेले वार्षिक २ लाख ९० हजार ६८२ रुपैयाँ र दैनिक ज्याला मजदुरी गर्नेले वार्षिक ५४ हजार ६३२ रुपैयाँ आम्दानी गर्दै आएका छन्। समग्रमा नेपालीको वार्षिक औसत आम्दानी १ लाख ३२ हजार ६२५ रुपैयाँ देखिएको तथ्यांक कार्यालयले जनाएको छ।
प्रतिव्यक्ति र घरायसी औसत आय दुवै बढेको अध्ययनले देखाएको छ। सन् २०१०/११ मा प्रतिव्यक्ति आय ४१ सय ६५९ रुपैयाँ रहेकामा सन् २०२२/२३ मा बढेर १ लाख ३६ हजार ७०७ रुपैयाँ पुगेको छ। सोहीअनुसार घरायसी औसत आय १ लाख २ हजार ३७४ रुपैयाँबाट बढेर ५ लाख ५१ हजार १४८ रुपैयाँ पुगेको छ।
नेपालमा वि.सं. २०५२/५३ मा पहिलो पटक नेपाल जीवनस्तर सर्वेक्षण गरिएको थियो। राष्ट्रिय तथ्यांक कार्यालयले ५ वर्षमा सर्वेक्षण गर्ने लक्ष्य लिएको छ। तर, विविध कारणले लक्ष्यअनुसार सर्वेक्षण गर्न नसकिएको कार्यालयका सूचना अधिकारी मनोहर घिमिरे बताउँछन्।
उनकाअनुसार २०५२/५३, २०६०/६१, २०६६/६७ र २०७९/८० मा जीवनस्तर सर्वेक्षण गरिएको हो। १२ वर्षको अन्तरालपछि यो तथ्यांक सार्वजनिक भएको छ। भूकम्प, करोनासहितका कारण अध्ययन प्रभावित भएको थियो। देश संघीयतामा गएपछि अर्थात् नेपालको संविधान २०७२ जारी भएपछि यो पहिलो पटक सर्वेक्षण गरिएको हो।
देशभरिका ५६४ स्थानीय तह, ८०० क्षेत्रका ९ हजार ६ सय परिवार सर्वेक्षणमा सहभागी भएका थिए। सर्वेक्षणले २०.२७ प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेको देखाएको छ। साथै नेपालका धनी मानिसले गर्ने कुल खर्चको ५० प्रतिशत रकम नेपालका गरिबहरूले खर्च गर्ने कुल खर्चको ४ गुणा बढी रहेको पनि अध्ययनले देखाएको छ।
त्यस्तै ८१.४ प्रतिशत नेपाली आफ्नै घरमा बस्ने, १५.१ प्रतिशत भाडाको घर र २.७ प्रतिशत मानिस निःशुल्क बस्दै आएको पनि सर्वेक्षणले देखाएको छ। साथै कृषिमा आबद्ध हुनेहरूको संख्या पनि बढ्दै गएको छ। सन् २०१०/११ मा ७३.९ प्रतिशत परिवार कृषिमा आश्रित रहे पनि उक्त संख्या १३ प्रतिशत बढीले घटेको हो। हाल नेपालमा ६०.३ प्रतिशत मानिस मात्रै कृषि पेसामा आबद्ध छन्।
यसबाहेक शिक्षामा लगानी बढेको छ भने डाक्टरसँग उपचार गर्नेहरूको संख्या बढेको छ। यद्यपि नसर्ने रोग पनि बढ्दै गएको अध्ययनले देखाएको छ। नेपालीलाई ब्लड प्रेसर हाइ तथा लो को समस्या उच्च र त्यसपछि ग्यास्ट्रिकको समस्या देखिएको पनि अध्ययनले देखाएको छ।