काठमाडौं । १२ वर्षपछि १२ महिना लगाएर गरिएको चौथो जीवनस्तर सर्वेक्षण २०७९/८० सार्वजनिक भएको छ।
सार्वजनिक सर्वेक्षणको गरिबी मापन दर अनुसार सबैभन्दा कम गण्डकीमा ११.८८ प्रतिशत र सबैभन्दा बढी सुदूरपश्चिममा ३४.१६ प्रतिशत रहेको देखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले प्रत्येक ५ वर्षमा सार्वजनिक गर्नुपर्ने भए पनि विभिन्न कारणले रोकिएको चौथो जीवनस्तर सर्वे २०७९/८० मा प्रदेशगत गरिबी मापनको विवरण सार्वजनिक गरेको हो।
सर्वेक्षणका अनुसार प्रदेशगत गरिबी मापनको तथ्यांकले कर्णालीमा २६.६९ प्रतिशत, लुम्बिनीमा २४.३५ प्रतिशत, बागमतीमा १२.६९ प्रतिशत, मधेशमा २२.९३ प्रतिशत र १७.१९ प्रतिशत गरिबी दर रहेको देखाएको छ।
सर्वेक्षण देशभरका ५ सय ६४ स्थानीय तहमा, ९ हजार ६ सय घर र सात प्रदेशलाई एउटै वर्ग एवं काठमाडौं उपत्यकालाई छुट्टै श्रेणीमा अध्ययन गरेर प्रतिवेदन तयार गरिएको हो।
प्रतिवेदनका अनुसार १४ वर्ष उमेर समूहका बालबालिकाको संख्या घटेको छ भने त्योभन्दा माथिल्लो उमेरको संख्या र बुढ्यौंली बढेको छ।
यस्तै ४१.४ प्रतिशत आफ्नै घर र १५.१ प्रतिशत भाडामा बस्ने गरेका छन्। प्रतिवेदनमा कृषिमा आश्रित परिवार घटेको र २०.२७ प्रतिशत जनसंख्याले खाना अन्य कामलगायतमा २ सय रुपैयाँ पनि खर्च गर्न नसक्ने उल्लेख छ।
धनीले खर्चिने कुल खर्चको आधा रकम गरिवले खर्चिने कुल रकमको चार गुणा बढी देखिएको छ।
यस्तै नसर्ने रोग बढे पनि डाक्टरसँग सल्लाह सुझाव लिनेको संख्या पनि वृद्धि भएको छ। नेपालीमा प्रेसर हाइ र लोको समस्या बढी रहेको र ग्यास्ट्रिकले सताउने गरेको प्रतिवेदनले देखाएको छ।
जीवनस्तर सर्वे प्रतिवेदन स्वदेश एवं विदेशका विभिन्न विश्व विद्यालयमा अध्ययनका लागि महत्त्वपूर्ण मानिन्छ।
२०५३ बाट सुरु भएको जीवनस्तर सर्वे २०७६ मा कोरोना महामारीलगायत विविध कारणले रोकिएको राष्ट्रिय तथ्यांक कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेले बताए। २०७२ को संविधान जारी भएपछि यो सर्वे पहिलो हो।