काठमाडौं। सरकारले आगामी साउन १ देखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन लाभग्राहीको राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने सूचना जारी गरेको छ।
आज राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सूचना जारी गर्दै जेठ २४ को मन्त्रिपरिषद् निर्णयअनुसार साउन १ देखि २८ जिल्लामा समाजिक सुरक्षा भत्ता बुझिलिन सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाएकै हुनुपर्ने व्यवस्था गरिएको बताएको हो।
विभागले बालबालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्षमाथिका ज्येष्ठ नागरिकको हकमा परिचयपत्रमा विवरण दर्ता नभए पनि सामाजिक सुरक्षा भत्ता लिन बाधा नपर्ने जनाएको छ।
राष्ट्रिय परिचयपत्र बनाउन हाल सबै जिल्ला प्रशासन कार्यालय, ५४ इलाका प्रशासन कार्यालय तथा विभिन्न जिल्लाका स्थानीय तहमार्फत विवरण संकलन भइरहेको विभागले बताएको छ।
साउन १ देखि सामाजिक सुरक्षा भत्ता पाउन अनिवार्य राष्ट्रिय परिचयत्र बनाउन तोकिएका जिल्लामा विवरण दर्ताका लागि जनशक्ति थपिएको र स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले पालिका वडास्तरमा अभियान चलाउँदै आएको विज्ञप्तिमा भनिएको छ। सामाजिक सुरक्षा भत्ता नवीकरण २०८१ भदौ मसान्तसम्म गर्न सकिनेछ।
सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय नम्बर अनिवार्य गरेका जिल्लामा झापा, रौतहट, रुपन्देही, मोरङ, सर्लाही, कपिलवस्तु, सुनसरी रहेका छन्। यस्तै, काठमाडौं, उदयपुर, भक्तपुर, बाँके, सप्तरी, ललितपुर, सिरहा, सिन्धुली, सुर्खेत, धनुषा, मकवानपुर, कैलाली, महोत्तरी, चितवन, कञ्चनपुर, बारा, कास्की र तनहुँ रहेका छन्।