संखुवासभा। संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ। गए रातीको अविरल वर्षासँगै आएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक घाइते भएको संखुवासभा प्रहरीले जनाएको छ।
कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन्।
पहिरोले घर बगाएर विस्थापितहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेको निमित्त प्रहरी प्रमुख लामिछानेले जानकारी दिए। उनका अनुसार पहिरोले जिल्लाका विभिन्न ठाउँमा ९ घर विस्थापित भएका छन्।
खाँदबारी–४ सेकाहाका चार घर पहिरोबाट विस्थापित भएको वडा–४ का वडाध्यक्ष विनोद सुब्बा गुरुङले जानकारी दिए। चिचिला गाउँपालिकाको वडा–१ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेको प्रहरीले बताएको छ।
पहिरोले उत्तर–दक्षिण कोसी सडकमा समेत क्षति पुगेको छ। कालोपत्रे गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तरदक्षिण कोसी सडक आयोजनाले जनाएको छ। यो कोसी राजमार्गअन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पर्दछ।
निरन्तरको वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ। पहिरोका कारण करिब १ करोडको क्षति भएको सडक कार्यालयले जनाएको छ।
ताप्लेजुङमा बगायो काठे पुल
बुधबार रातीदेखिको अविरल वर्षापछि सिसावा खोलामा आएको बाढीले एउटा काठेपुल बगाएको छ।
सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको उक्त पुल बाढीले बगाएपछि फक्तालुङ पालिकाका स्थानीय प्रभावित भएको वडा नम्बर ५ का वडाध्यक्ष देउप्रसाद लिम्बूले बताए।
लेदोसहितको बाढीले तमोर नदी थुनिए पनि अहिले खुलिसेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए।