काठमाडौं । द सेन्चुरियन होटल विराटनगर र नेक्सजेन म्यानेजमेन्टबीच पूँजी वृद्धि, लगानीकर्ता जुटाउने र होटल सञ्चालन सम्बन्धमा सम्झौता भएको छ।
जेष्ठ ३० मा सेन्चुरी ग्रुप अफ कम्पनीको ज्ञानेश्वरस्थित कार्यालयमा भएको सम्झौतापत्रमा सेन्चुरीयन होटलको तर्फबाट अध्यक्ष मोतिलाल दुगड र नेक्सजेन म्यानेजमेन्टका तर्फबाट अध्यक्ष रमेश कुमार भट्टरार्इले हस्ताक्षर गरेका थिए।
विराटनगर धरान रोडस्थित द सेन्चुरियन होटलको १० तल्ले भवन निर्माण सम्पन्न भैसेको छ। भवनमा व्यवसायिक प्रयोजनका पसलहरू, सभा सम्मेलन, विवाह व्रतबन्धको लागि बैंकेट हलसमेत उपलब्ध हुनेछ। भवनको चार तल्लादेखि माथि पाँच तारे स्तरको १ सय ४६ कोठाको र्याडिसन विराटनगर होटल सञ्चालन हुनेछ।
होटल सञ्चालनको लागि अन्तर्राष्ट्रिय ब्राण्ड र्याडिसन होटल ग्रुपसँग जुलाई २०२२ मा सम्झौता भइसकेको छ। नेपालका प्रतिष्ठित उद्योगपति तथा पूर्व मन्त्री दुगडको नेतृत्वमा सेन्चुरी ग्रुप अफ कम्पनीअन्तर्गत पाँच तारे होटल सञ्चालन हुनेछ।
होटललार्इ पाँच तारे तथा अन्तर्राष्ट्रिय स्तरको बनाउन र अन्य थप आवश्यक निर्माण र साजसज्जाको लागि थप पूँजी आवश्यक पर्छ। सोही उद्देश्यको लागि कम्पनीको पूँजी वृद्धि गर्न, थप संस्थापक लगानीकर्ता ल्याउन तथा अन्य आवश्यक व्यवस्था गर्न नेक्सजेन म्यानेजमेन्टसँग सम्झौता गरिएको हो। साथै सोहि सिलसिलामा कम्पनीको पूँजी वृद्धि गर्न र सर्वसाधारणलार्इ शेयर निष्काशनको प्रावधान सहित लिमिटेड कम्पनीमा परिणत गर्ने प्रकृया पनि अगाडि बढाइसकेको छ।
नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि पूर्वबैंकरहरू समेतको लगानीमा स्थापित सम्पत्ति ब्यवस्थापन र व्यवसायिक परामर्शदाता कम्पनी हो। यसले ठूला, मझौला टाइपका उद्योग व्यवसायको स्थापना, सञ्चालन व्यवस्थापनमा परामर्श सेवा दिँदै आएको छ। यसले भर्खरै सम्पन्न अन्तराष्ट्रिय लगानी सम्मेलनमा नेपालमा विभिन्न उद्योग व्यवसायमा ६ अर्ब लगानी भित्र्याउने गरी कोरियन कम्पनी एमएवीसी इन्भेष्टमेन्ट ग्रुपसँग सम्झौता गरिसकेको छ।