अमेरिका। आफ्नै मिहिनेतले यहाँको तीव्र प्रतिस्पर्धात्मक बजारमा अलग परिचय बनाउन थालेका छन्, नेपाली व्यवसायी। बढ्दो नेपालीको आगमनसँगै उनीहरूको कार्यशैलीमा समेत फेरबदल हुँदै गएको छ। जागिरे मानसिकताबाट विस्तारै उद्यमतर्फ नेपालीहरू अगाडि बढिरहेका छन्।
नेपाली विद्यार्थीको आकर्षक गन्तव्य हुनु, डिभी परेर जानेको पहिलो रोजाइ व्यापार नै पर्नु सामान्यजस्तै भइसकेको छ, यहाँ। त्यति मात्रै होइन, वर्किङ भिसामा अमेरिका पुग्नेहरू पनि व्यवसायमा संग्लन छन्।
सानो लगानी, व्यवसायका लागि सजिलो र सहज वातावरण, कमाइमा कुनै रोकतोक नभएका कारण धेरै नेपालीहरू स्वरोजगार बन्नेतर्फ अग्रसर देखिन्छन्। खासगरी ग्यास स्टेसन, लिकर सप, रेष्टुरेस्ट, होटल, रियलइस्टेटदेखि तेल उत्खनन व्यवसायमा समेत नेपालीको आबद्धता बढिरहेको छ।
अमेरिकाका कैयौं सहरमा नेपाली व्यवसायी भेटिन्छन्। अमेरिकामा नेपाली समुदायले कम्तीमा पनि सय अर्ब रुपैयाँ बढी लगानी गरिसकेको छ। विशेषगरी पेट्रोलपम्प (ग्यास स्टेसन र स्टोर), रेस्टुरेन्ट, ब्युटी सैलुन, विभिन्न उपभोग्य वस्तुको खुद्रा पसललगायतमा लगानी बढी छ।
अमेरिकामा विभिन्न क्षेत्रमा ग्यास स्टोर सञ्चालन गरिरहेका कृष्णजीवी पन्त धेरै नेपाली व्यवसायीले लोभलाग्दो प्रगति गरेको बताउँछन्। विशेषतः नेपालबाट अमेरिका आउँदा सबैभन्दा पहिले कोसँग संगत हुन्छ, त्यसैले उनीहरूको भविष्य निर्धारण गर्छ।
सुरु–सुरुमा उभर चलाउनेहरू पनि विस्तारै व्यवसायमा संलग्न हुँदै गइरहेका छन्। उभर चालक ग्यास स्टेसनमा परिणत, ग्यासबाट रेस्टुरेन्ट, लिकर सप, मक्टेल सञ्चालकदेखि पाँचतारे होटल हुँदै तेल उत्पादनमा समेत पुगेका छन्, नेपाली व्यवसायी।
अमेरिकामा व्यवसाय गरिरहेकासँग संगत भयो भने व्यवसायी बन्छ। जागिरेसँग उठबस हुँदा त्यतैतिर आफूलाई डो¥याइरहेका पनि छन्। तर, जागिरबाट धेरथोर आम्दानी गरेर व्यवसायमा प्रवेश गर्नेको संख्या पनि ठूलै छ।
डिभी परेर अमेरिका पुगेका पुरुषोत्तम बराल सक्रिय व्यवसायमा छन्। व्यवसायी बन्ने सपना बुनिरहेका बराल यतिखेर ग्यास स्टोरका मालिक बनिसकेका छन्। अहिले बरालसँग आफ्नै ग्यास स्टेसन छन्।
अमेरिकामा घरजग्गा व्यवसायमा पनि नेपालीको ठूलो लगानी छ। खासगरी, ग्यास स्टोरबाट व्यावसायिक करिअर सुरु गर्ने नेपालीहरू विस्तारै नयाँ नयाँ व्यवसायमा सिफ्ट हुन्छन्। अमेरिकामा स्थापित व्यवसायी बुद्धिसागर सुवेदीको व्यावसायिक करिअर पनि ग्यास स्टेसनबाटै सुरु भएको हो।
अहिले उनीसँग २७ वटा ग्यास स्टेसन छन्। त्यस अलावा अमेरिकाका विभिन्न राज्यमा अन्तर्राष्ट्रिय चेन होटल चलाइरहेका छन्। केही समयअघि मात्रै उनले नेपालको सबैभन्दा ठूलो पाँचतारे होटल टाइगर प्यालेससमेत खरिद गरेका छन्। ग्यास स्टेसन, होटल व्यवसायको सफलतापछि सुवेदी रियलस्टेट व्यवसायतर्फ अग्रसर भइरहेका छन्।
अमेरिकाका कयौं सहरमा नेपाली व्यवसायीहरू भेटिन्छन्। अमेरिकामा नेपाली समुदायले कम्तीमा पनि सय अर्ब रुपैयाँ बढी लगानी गरिसकेका छन्। विशेषगरी पेट्रोल पम्प (ग्यास स्टेसन र स्टोर), रेस्टुरेन्ट, ब्युटी सैलुन, विभिन्न उपभोग्य वस्तुको खुद्रा पसललगायतमा लगानी बढी छ। होटल, मोटल, स्वास्थ्य सेवा, सूचना प्रविधि (आईटी), घरजग्गा किनवेच अर्थात् रियलस्टेट, मदिरा पसललगायतमा नेपालीको लगानी छ।
मेरिल्यान्डमा व्यवसाय गर्दै आएका लोकगायक प्रेमराजा महतका अनुसार बाल्टिमोर, मेरिल्यान्ड, भर्जिनियाभित्र मात्रै १ हजार बढी नेपाली व्यवसायी छन्। रेस्टुरेन्ट, गिफ्ट सप, स्टोर सञ्चालन गर्नेमा भारतीयभन्दा बढी नेपाली भइसकेको उनको भनाइ छ।
‘यी स्थान नेपालजस्तै भइसके। व्यवसाय पनि गर्न सकिने देख्यौं। त्यसैले यहाँ आएका हौं,’ मेरिल्यान्डमा लिकर सप सञ्चालन गर्दै आएका रमेश भट्ट भन्छन्, ‘अहिले मलाई यो ठाउँ आफ्नै गाउँघरजस्तो लाग्छ। बिहान हाम्रो स्टोरमा स्थानीय (नेपाली) कफी खाँदै गफ गर्न आउँछन्, घन्टौं बस्छन्। हामीबीच सुखदुःखका कुराकानी हुन्छन्।’
५÷७ वर्षदेखि व्यवसायमा संग्लन हरेक व्यवसायीको आधा दर्जन ग्यास स्टेसनसहितका स्टोर छन्। भारतीयपछि सबैभन्दा बढी नेपालीकै स्टोर पनि भएका ठाउँ भेटिन्छन्।
बाला घिमिरेको सिकागोका मुख्य स्थानमा तीन वटा रेस्टुरेन्ट छन्। ४० बढीलाई रोजगार दिएको बताउँछन्, उनी। घिमिरेको रेस्टुरेन्टमा पाइने नेपाली परिकारमा ग्राहकको घुइँचो लाग्ने गर्छ।
‘न्युयोर्क ज्याक्सन हाइट त सुन्धाराजस्तो लाग्छ’ अमेरिका पुगेका लोकमणि राई भन्छन्, ‘सेलदेखि ढिँडो, छोयला र मःमसम्म खान पाइने रेस्टुरेन्ट छन्। चार वटा रेस्टुरेन्टमा त साँझमा नेपालका चर्चित गायकलाई सुन्न पाइन्छ।’
अमेरिकाका अन्य सहरमा पनि थुप्रै नेपालीले ब्युटी सैलुनमा लगानी गरेका छन्। आई ब्रो थे्रडिङ र ब्युटी सैलुनमा करिब ५० हजार डलरदेखि माथि लगानी हुन्छ। नेपालीको रेस्टुरेन्टमा बढी लगानी छ। त्यसका अलवा अन्य क्षेत्रमा पनि व्यापक लगानी बढाइरहेको मेरिल्यान्ड क्षेत्रका लागि नेपाली वाणिज्यदूतसमेत रहेका महत बताउँछन्।
उनका अनुसार अनुमानमा सबवे, पिजा सबै जोड्दा अमेरिकाभर नेपालीका झन्डै हजारांै व्यवसाय होलान। नेपालीले केही हजारदेखि १० लाख डलरसम्म एउटै रेस्टुरेन्टमा लगानी गरेका छन्। यसभन्दा बढी लगानी गर्ने पनि छन्।
नेपालको बढी लगानी देखिने राज्य टेक्सास हो। त्यहाँ ग्यास स्टेसन र स्टोर किन्ने नेपालीको संख्या बढिरहेको छ। सुवेदीका अनुसार नेपालजस्तै हावापानी, फराकिलो ठाउँ र व्यवसाय किन्न केही सस्तो भएकाले यहाँ ग्यास स्टेसनमा लगानी बढेको हो। ‘टेक्सासमा झन्डै ६ सय ग्यास स्टेसन र स्टोरका मालिक नेपाली होलान्,’ सुवेदी भन्छन्।
टेक्सासमा एउटा ग्यास स्टेसनमा लगानी गर्न ५ देखि १० लाख डलरसम्म पर्छ। ‘सुरुमा एउटा व्यवसाय (ग्यास स्टेसनमा) लगानी गरेर राम्रोसँग बैंकको पैसा तिर्ने हो भने बैंकले पत्याउन थाल्छन्,’ सुवेदी भन्छन्, ‘त्यसपछि बढाउँदै लैजान खासै कठिन हुँदैन।’
आयोवामा नेपालीलाई व्यवसायी बनाउँदै गरेका अबन बराल भन्छन्, ‘नेपालबाट पैसा नल्याई यही कमाएर अर्बौं लगानी गरेका छन्। बरु यहाँबाट कमाएको पैसा विस्तारै आफ्नै देशमा लगानी गर्न थालेका छन्।’ प्रायः नेपाली अमेरिका आउँदा सुरुका दिनमा परिश्रम गरेर कमाएको पैसाबाटै लगानी गरेर व्यवसायी भएका हुन्।
पहिले काम गरेर अनुभव लिने र त्यही क्षेत्रमा लगानी गर्ने भएकाले नेपाली व्यवसायमा सफल भएको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिकाका अध्यक्ष सुबोध पन्त बताउँछन्। ‘नेपालबाट पैसा ल्याएर यहाँं व्यवसाय गरेका छैनन्। नेपालीको व्यवसाय सफल हुनुमा कडा मिहिनेत मुख्य कारण हो। म यहाँ आएदेखि अहिलेसम्म पनि १४÷१५ घन्टा काम गर्छु’, उनी भन्छन्।
आफूले मिहिनेत गरेरै व्यवसाय बढ्ने हो। इमानदारी र अनुशासनले गर्दा नेपाली व्यवसायमा सफल भएका हुन्। ग्यास स्टेसनमा लगानी गर्ने व्यवसायी २४सै घन्टा कुनै पनि बेला स्टोरमा जान तयार भएर बस्नुपर्छ।
‘यहाँ मिहिनेत ग¥यो भने व्यवसाय चल्छ,’ पन्त भन्छन्, ‘मिहिनेत र परिवारको पनि सहयोग हुने नेपालीले व्यवसायमा प्रगति गरेका छन्। प्रायः सबै नेपालीका व्यवसायमा आफैं काम गरिरहेको भेटिने लोकगायक महत बताउँछन्। ‘प्रायः सबै नेपाली सानो व्यवसायमा छन्।
त्यहाँ उनीहरूले आफ्नो मिहिनेत, योग्यता र क्षमता प्रयोग गरेका छन्,’ महत भन्छन्, ‘अमेरिकामा कमाएको पैसा नेपालमा समेत लगानी गर्ने प्रवृत्ति बढेको छ।’
अमेरिकामा व्यवसायीको परिचय बनाउने नेपालीको संख्या थपिँदै गएको छ। सिकागो सहरमा जमेका व्यवसायी सुवेदी रियलस्टेट व्यवसायतर्फ अघि बढेका छन्।
अमेरिकाको तीव्र प्रतिस्पर्धात्मक बजारमा अलग परिचय बनाउन थालेका नेपालीहरू समुद्रपारको नेपाली डायस्पोरालाई गर्विलो पार्ने काम गर्दैछन्।
अमेरिकामा व्यावसायिक सफलता हासिल गरेका नेपाली व्यवसायी नेपालमा पनि लगानी गर्न इच्छुक रहेको बताउँछन्। तर, सरकारले अझै उपयुक्त वातावरण नबनाएको उनीहरूको गुनासो छ। यहाँ व्यवसाय गर्ने अधिकांशको सोच आफ्नो मातृभूमि नेपालमा पनि व्यवसाय गरौं, रोजगारी सिर्जना होस् भन्ने छ। नेपालमा राजनीतिक स्थायित्व भइदिए अझ राम्रो हुन्थ्यो भन्दै पर्खिने पनि छन्।
नेपालीको व्यवसाय विस्तारसँगै सम्पन्नता बढेको सामाजिक गतिविधिमा पनि देखिन्छ। अमेरिकाको सबैभन्दा पुरानो र त्यहाँको सरकारले मान्यता दिएको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिकाका (बाना)का अध्यक्ष पन्तका अनुसार नेपाली मन्दिरमा आयोजित कार्यक्रममा मर्सिडिज बेञ्च, बीएमडब्लु, लेक्सेसजस्ता महँगा कार पार्किङं गरेको देखिनु सामान्य बनेको छ।
बढ्दो सम्पन्नतासँग सामाजिक कार्यमा नेपालीको संलग्नता पनि बढेको छ। महाभूकम्प, कोभिडलगायत विपद्मा ठूलो सहयोगसमेत गरिएको पन्त स्मरण गर्छन्। यस्तो कार्य अमेरिकाका विभिन्न राज्यमा बस्ने नेपाली व्यवसायीले गर्दै आएका छन्।
अमेरिकाको तीव्र प्रतिस्पर्धात्मक बजारमा अलग परिचय बनाउन थालेका नेपालीहरू समुद्रपारको नेपाली डायस्पोरालाई गर्विलो पार्ने काम गर्दैछन्।
नयाँ सम्भावनाको खोजी गरिरहेको र घरजग्गा व्यवसाय, शिक्षा, हस्पिटालिटी, रेस्टुरेन्टलगायत क्षेत्रमा स्थापित हुँदै गरेको यो पुस्ताले आफ्नो सफलतालाई नेपालमा समेत जोड्ने प्रयास गर्दै छ। यीमध्येका केहीले अमेरिकाको कमाइलाई नेपालमै लगानी गर्न थालेका छन्।
अमेरिकामा व्यावसायिक सफलता हात पारे पनि उनीहरू नेपालमा लगानी गर्न आतुर छन्। सरकारी नीतिमा फेरबदल, सोचमा परिवर्तन, लगानीकर्तालाई हेर्ने दृष्टिकोणमा सुधार भए आप्रवासी नेपालीसँग देशप्रतिको माया आघात छ।
अमेरिकामा लामो समयदेखि रेस्टुरेन्ट सञ्चालन गरिरहेका सुन्दर राजभण्डारीले यहाँ नेपाली परिकार बेचिरहेका छन्। उनको सोच, यहाँ कमाएको रकम नेपालमा लगानी गर्ने छ। तर, सरकारको लगानीकर्तालाई दिएको दुःख देखेर उनी नेपालमा लगानी गर्न तत्काल तयार छैनन्।
अमेरिका मात्रै होइन, नेपालीहरू संसारभर उद्यम गरेर बसेका छन्। व्यावसायिक उचाइ आर्जन गरेका छन्। उनीहरूले भित्रभित्रै लगानीका क्षेत्र पनि पहिचान गरेका छन्। तर, नबुझिने कानुन, कर्मचारीको व्यवहार, सरकारको रबैया देखेर लगानी ल्याउन सकेका छैनन्।
नेपालमा दिनैपिच्छे, हप्तैपिच्छे घटना हुन्छन्। शक्तिमा हुने जेल बस्नै पर्दैन। तर, अमेरिकामा गल्ती गरे नो माफी, यहाँ क्षमायाचना शब्द हुँदैन। सबैले कानुन पालना गर्छन्।
‘नेपाल सरकारले लगानीका लागि सुरक्षित वातावरण बनाउने हो भने पैसाको कुनै दुःख हँुदैन। नेपालमा लगानी ल्याउन नीति–नियम राम्रा हुनुप¥यो। नीति–नियम र समग्र देश सिस्टममा चल्नुप¥यो’, राजभण्डारी भन्छन्। देश सिस्टममा चल्नासाथ अमेरिकामा व्यवसाय चम्काएका नेपाली लगानी गर्न आतुर रहेको उनको धारणा छ।
‘नेपालमा कानुनअनुसार काम गर्न एक महिना धाउनुपर्छ। तर, गैरकानुनी बाटोबाट एक दिनमै त्यो काम गर्न सकिन्छ। जबकि अमेरिकामा जुनसुकै काम सिस्टमअनुसार हुन्छ। घुस चाहिँदैन, भनसुन चल्दैन। यहाँ व्यवसायीसँगै समाजसेवीको रूपमा समेत चिनिन्छन्’, उनले भने।
अमेरिका अवसरै अवसरले भरिएको मुलुक हो। आर्थिक स्वतन्त्रता उपयोग गर्न सकिने देशको रूपमा पनि पहिचान बनाएको छ। आँट, जाँगर र इच्छाशक्ति हुँदा कुनै पनि व्यवसाय गर्न असम्भव पनि छैन, यहाँ।
जोखिम मोल्ने आँटचाहिँ गर्नैपर्छ। जसरी पनि व्यवसाय गर्छु भन्ने आत्मनिर्णय, घरपरिवारमा सल्लाह र सहमतिपछि व्यवसायको छनोट, त्यसको प्रकृति, व्यवसायको खोजी र स्थान छनोट यहाँको महत्त्वपूर्ण पाटो भएको उनीहरूको बुझाइ छ।
नयाँ वा पुरानो व्यवसाय खरिद गर्दा आफ्नो साथमा अनुभवी मानिस, भाइसाथी वा आफन्तको सुझावका साथै सरसहयोग पनि आवश्यक पर्ने आयोवाका व्यवसायी अबन बराल बताउँछन्।
अमेरिकामा सबैभन्दा राम्रो पक्ष भनेको यहाँको कानुन, साना व्यवसायप्रति राज्यको सहुलियत र सुरक्षा हो। सरसापट र ऋण लिएर व्यवसाय गरिरहेका नेपालीहरू ठूलो संख्यामा छन्। अमेरिकामा नेपालीको पहुँच भनेकै साना व्यवसायमा छ। ग्यास स्टेसन, ग्रोसरी स्टोर, ट्राभल एजेन्सी, कानुनी सेवा, निर्माण र रेस्टुरेन्ट, आयात–निर्यात र खुद्रा व्यवसाय आदिमा अधिकांश नेपाली व्यवसायीको लगानी देखिन्छ।
नेपालीको बस्तीमा वृद्धिसँगै भएका स्रोत–साधन, सीप र ज्ञानलाई लगानीमा ढाल्नेतर्फ नेपालीको अग्रसरता बढिरहेको छ। आवश्यक समय आवश्यक सुझाव, सहयोग र स्रोतको आदान–प्रदान गर्न नसक्ने, गर्न नचाहने र समुदायप्रतिको उत्तरदायित्वको आवश्यकता महसुस कम भएको हो कि भन्ने देखिन्छ।
तर, केही वर्षयता नेपालीको विभिन्न व्यवसायप्रति बढ्दै गइरहेको आकर्षण, लगाव, लगानी र उत्साहपूर्ण सहभागिता हेर्ने हो भने यसलाई सकारात्मक रूपमा लिन सकिन्छ। भएका स्रोत–साधन र ज्ञान आफ्नो समुदायका लागि सहयोगी बन्ने र सामूहिक प्रगतिको धारणालाई अगाडि बढाइरहेको देखिन्छ।
अमेरिकाको विभिन्न राज्यमा नेपालीले जोखिम मोलैर भए पनि व्यवसाय सञ्चालन गरिरहेका छन्। यिनै नेपाली व्यवसायीको पहिचान, तथ्यांक र उनीहरूको समस्या एवं चुनौतीलाई सामूहिक रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता बढ्दै गइरहेको छ।
(क्यापिटल म्यागजिनकाे जेठ अंकबाट)