काठमाडौं। नेपालले साउनदेखि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने भएको छ।
बंगलादेशबाट प्रकाशित समाचारअनुसार ‘क्याबिनेट कमिटी अन गभर्मेन्ट पर्चेस’ (सीसीजीपी) को १५औं बैठकले गत मंगलबार नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको हो।
बंगलादेशले भारतीय प्रसारण लाइन हुँदै नेपालबाट बिजुली लैजानेछ । बंगलादेशका अर्थमन्त्री अब्दुल हसन महमोद अलिले सरकारी समाचार संस्थालाई बताएअनुसार बंगलादेशी पावर डिभिजनको प्रस्तावअनुसार नेपालबाट बिजुली किन्ने निर्णय भएको हो।
बंगलादेश पावर डेभलपमेन्ट बोर्डले आगामी ५ वर्षका लागि नेपालबाट ४० मेगावाट बिजुली किन्नेछ। नेपालबाट बिजुली किन्न नेपाल–भारत–बंगलादेशबीच त्रिपक्षीय सम्झौताको पहल गर्ने निर्णय उक्त बैठकले गरेको छ।
प्रतियुनिट बिजुलीको मूल्य ८.१७ टाका रहनेछ भने नेपाल विद्युत् प्राधिकरण, भारतको विद्युत् व्यापार निगम र बंगलादेशको बोर्डबीच सहमति हुनेछ। बंगलादेशले आगामी ५ वर्षमा ६ अर्ब ५० करोड टाकाको बिजुली नेपालबाट खरिद गर्नेछ।
साउन पहिलो साताभित्र बंगलादेश विद्युत् निर्यात गर्न गृहकार्य भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीका अनुसार नेपाल–बंगलादेशबीच विद्युत् व्यापारका सन्दर्भमा हालसम्म भएका सबै समझदारीलाई अन्तिम दिने गरी असार दोस्रो साता नेपालमा नेपाल–बंगलादेश सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दै छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको अघिल्लो भारत भ्रमणका क्रममा भारतीय संरचना प्रयोग गरी नेपालको ४० मेगावाट बिजुली बंगलादेशलाई बेच्ने सहमति भएको थियो।
नेपाल विद्युत् प्राधिकरणले बंगलादेशको पावर डेभलपमेन्ट बोर्डमा विद्युत् बिक्रीका लागि दरसमेत समावेश गरी बोलपत्र पेस गरेको थियो।