चितवन। भरतपुरस्थित डिभिजन सडक कार्यालयले नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गतका २५ ठाउँमा पहिरोको जोखिम रहेको पहिचान गरेको छ।
कार्यालय प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन्। मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ।
सडक खण्डका नाम्सी, कालीखोला र तुइन पुलको पहिरो नियन्त्रणका निम्ति ५२ करोड रुपैयाँ खर्च हुने अनुमान छ। ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ।
यस्तै, पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलोमा पनि सडक व्यवस्थापन गर्नुपर्नेछ। २०८० को वर्षामा यो सडक खण्डमा ३० र २०७९ मा ३६ पटक भूक्षय हुँदा पटक–पटक सवारी आवागमन अवरुद्ध भएको थियो।
कार्यालयका इन्जिनियर सागर कार्कीले पानी परेपछि जुनसुकै बेला भूक्षयको जोखिम रहेकाले सेतीदोभान, मौरी पुल र चार किलोमा उपकरण तम्तयार गरिने बताए। हेटौंडास्थित हेभी इक्युपमेन्ट डिभिजन र डुम्रेको यान्त्रिक कार्यालयबाट पनि उपकरण व्यवस्था गरिनेछ।
सोही सडक खण्डको केराबारीमा नेचरबेस सोलुसन नामक संस्थाले बायो इन्जिनियरिङ प्रविधिबाट पहिरो नियन्त्रणको अध्ययन गरिरहेको छ। उक्त सडक खण्डकै खहरेखोला, भतेरीको ओरालो, गाईघाट, सेतीदोभान, जलवीरे, २६ किलो र चार किलो क्षेत्रका ११ ठाउँमा अध्ययन गर्न संस्थाले सडक विभागलाई पत्राचार गरेको छ।–रासस