काठमाडौं। प्रधानमन्त्री पुष्कमल दाहालले चालू आर्थिक वर्षका बाँकी कार्यक्रम कार्यान्वयनमा विशेष ध्यान दिई शतप्रतिशत नतिजा ल्याउन र आगामी आव २०८१/८२ को बजेटलाई प्रभावकारी कार्यान्वयन लैजान मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री दाहालले आज सिंहदरबारमा आयोजित चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा सहभागी विभिन्न मन्त्रालयका सचिवलाई कार्यसम्पादन स्तर सुधारेर बजेट कार्यान्वयनलाई प्राथमिकता दिन निर्देश गरेका हुन्।
उनले भने, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भूमिकालाई लक्षित गरी इमानदारीपूर्वक कार्यसम्पादनमा जुट्न आह्वान गर्छु। प्रधानमन्त्री कार्यालयलाई शासकीय मामिलाको वास्तविक केन्द्र बनाउने हो। ताली पड्काउने, हजुर, हस्, भइहाल्छजस्ता भाष्य निर्माण गर्ने होइन। काम गरेर देखाउनुपर्छ।’
उनले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकको नतिजासूचकसहितको कार्यसम्पादनमा आधारित मूल्यांकन प्रणालीलाई कार्यान्वयनमा लगिने जानकारी दिए। तोकिएको समयमा निर्धारित लक्ष्यअनुरूपको नतिजा हासिल गर्न कर्मचारीको क्रियाशीलता आवश्यक रहेको उनकाे धारणा थियाे।
मन्त्रिपरिषद् कार्यालय र मातहत निकायको कार्यसम्पादन स्तर, नतिजा र गुणस्तरलाई राष्ट्रिय मानकको रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले मुलुकको कार्यकारी मुख्यालयको समग्र छवि र प्रगतिमा सरकारको कार्यसम्पादनस्तर प्रतिविम्बित हुने बताए।
‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आवश्यकताभन्दा बढी कर्मचारी थन्काउने निकायको रूपमा भन्दा विज्ञता र क्षमता उपयोग गर्ने थलो बनाइनुपर्छ। यस विषयमा विशेषगरी मुख्यसचिव र सचिवहरूले नेतृत्वदायी भूमिका वहन गर्नुपर्ने देखियाे’, उनले भने।
उनले योजना तथा कार्यक्रम समयमै कार्यान्वयन गर्न र प्रभावकारी अनुगमन तथा मूल्यांकन प्रणाली विकास गरी समयमै सूचना प्राप्ति र समस्या समाधानका लागि आवश्यक सकारात्मक हस्तक्षेप गर्नुपर्ने जरुरी रहेको उनले औंल्याए।