काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र मलेसियाका मानव संसाधन मन्त्री छि केयोङ सीबीच द्विपक्षीय भेटवार्ता भएको छ।
स्वीट्जरल्यान्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को ११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुने क्रममा मन्त्री अर्यालले मलेसियन समकक्षीसँग नेपाली श्रमिक हितबारे छलफल गरेका हुन्।
मन्त्री अर्यालले नेपाली श्रमिकका लागि २४ घन्टे बिमा सुविधा व्यवस्था र सीप विकास गर्न सहकार्यका लागि आग्रह गरेको श्रम मन्त्रालयले जनाएको छ।
मन्त्री अर्यालले मलेसियासँगको श्रम सम्झौताका लागि नेपालले अन्तिम तयारी गरेको जानकारी गराए। परराष्ट्र र कानुन मन्त्रालयको राय प्राप्तिपछि श्रम सम्झौता नविकरण गरिने उनले जानकारी दिए। भेटमा मन्त्री अर्यालले मलेसियन समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिए।
छलफलमा मलेसियाका मानव संसाधनमन्त्री छि केयोङ सीले नेपालसँगको श्रम सम्झौता चाँडो नवीकरण होस् भन्ने मलेसिया सरकारको धारणा रहेको बताए।
त्यस्तै, मलेसियन सरकारले आप्रवासी श्रमिक र स्थानिय श्रमिकलाई समान खाले सामाजिक सुरक्षा सुविधा दिँदै आएको र २४ घन्टे बिमा सुविधा उपलब्ध गराउने विषय छलफलमा रहेको जानकारी दिए।
कतारी श्रममन्त्रीसँग नेपाली श्रमिकको सीप विकासमा सहकार्य आग्रह
जेनेभामै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र कतारका श्रममन्त्री अलि समिख अल मरीबीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा दुवै मुलुकबीचको श्रम सम्बन्धबारे छलफल भएको श्रममन्त्री अर्यालयको सचिवालयले जनाएको छ।
छलफलमा श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरे। नेपाल र कतारबीचको श्रम सम्झौताका लागि दुवै मुलुकका प्राविधिक समूहबीच समन्वय गराउनुपर्नेमा मन्त्री अर्यालले जोड दिए।
छलफलमा कतारी श्रममन्त्री अल मरीले नेपाली श्रमिकलाई कतारमा निर्माणका अलावा सेवा, यातायात, सञ्चार र स्वास्थ्य क्षेत्रमा पनि केन्द्रित गराउन आग्रह गरे।
कतारले आप्रवासी श्रमिकका लागि बिमा, पारिश्रमिक र श्रमिक अधिकारलाई सुनिश्चित गरेको उनको भनाइ छ। कतार र नेपालबीचको श्रम सम्झौतामा उनले चासो व्यक्त गरे।