काठमाडौं । बैंक तथा वित्तीय संस्था (लघुवित्त बाहेक) ऋणीसँग उठाउनु पर्ने ऋणको ब्याज एक सय ५४ अर्ब रुपैयाँ बढी पुगेको छ। चालू आर्थिक वर्षको वैशाख महिनासम्म ऋणीले बैंकलाई भुक्तानी गर्नु पर्ने ब्याज बक्यौता (सञ्चित ब्याज) १ खर्ब ५३ अर्ब २६ करोड रुपैयाँ पुगेको हो।
एक महिनाकै अवधिमा यस्तो ब्याज बक्यौता साढे १९ अर्बले थप भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। गत चैत मसान्तसम्म बैंकहरूले ऋणीसँग उठाउनु पर्ने ब्याज बक्यौता १ खर्ब ३३ अर्ब ६० करोड रुपैयाँ थियो। बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गरिसकेपछि ऋण सम्झौताअनुसार भविष्यमा प्राप्त हुने ब्याजलाई सञ्चित ब्याजमा राखेर आम्दानीमा देखाउनुपर्छ।
ऋणीले मासिक तथा त्रैमासिक रूपमा ब्याज भुक्तानी गर्दै गएपछि यस्तो सञ्चित आम्दानीको परिमाण घट्दै जान्छ भने बैंकको ब्याज आम्दानी बढ्दै जान्छ। तर, ऋणीले बैंकलाई समयमै ऋणको ब्याज भुक्तानी नगर्दा यस्तो सञ्चित ब्याज एक महिनामै १९ अर्ब ६६ करोड रुपैयाँले थप भएको हो।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालू वर्षको १० महिनामा ऋणीसँग उठाउनु पर्ने ब्याज वाणिज्य बैंकहरूको १ अर्ब ३१ अर्ब ४१ करोड, विकास बैंकहरूको ९ अर्ब ६८ करोड ७७ लाख र वित्त कम्पनीहरूको १२ अर्ब १६ करोड ७२ लाख रुपैयाँ रहेको छ। गत चैत मसान्तसम्म वाणिज्य बैंकहरूको सञ्चित ब्याज १ खर्ब १३ अर्ब ९४ करोड, विकास बैंकहरूको ८ अर्ब १ करोड र वित्त कम्पनीको ११ अर्ब ६४ करोड रुपैयाँ ब्याज उठाउन बाँकी रहेको थियो।
समग्र अर्थतन्त्रमा देखिएको मन्दीको प्रभाव बैंकिङ क्षेत्रका ऋणीमा पर्दा बैंकको सञ्चित ब्याज परिमाण बढ्न पुगेको देखिन्छ। समग्र अर्थतन्त्र नै सुस्त रहेको अवस्थामा बैंकहरूको कर्जा असुली प्रभावित भएको छ। ऋणीले कर्जा ब्याज भुक्तानी नगरेपछि उठाउनुपर्ने ब्याज सञ्चितमा बसेको हो।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये चालू वर्षको १० महिनामा सबैभन्दा धेरै ब्याज बक्यौता कुमारी बैंकमा १४ अर्ब २२ करोड र सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर बैंकमा ९६ करोड रुपैयाँ रहेको छ। बाँकी बैंकमध्ये ४ वटामा १० अर्बमाथि पौने १४ अर्ब रुपैयाँसम्म, ६ वटामा ५ अर्बमाथि १० अर्ब रुपैयाँसम्म र ७ वटामा २ अर्बमाथि ५ अर्ब रुपैयाँसम्म ब्याज बक्यौता छ।
यता, विकास बैंकहरूतर्फ चालू वर्षको १० महिनामा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको १ अर्ब ६६ करोड र सबैभन्दा कम साल्पा विकास बैंकको ३ करोड ४२ लाख रुपैयाँ ब्याज बक्यौता रहेको छ। साथै, वित्त कम्पनीमा भने सबैभन्दा बढी नेपाल सेयरमार्केट फाइनान्स कम्पनीको ५ अर्ब ३६ करोड र सबैभन्दा कम सेन्टर फाइनान्सको १ करोड रुपैयाँ ब्याज बक्यौता छ।